site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तोडिएला नारायणगढ–बुटवल सडक खण्डको ठेक्का ?

काठमाडौं । ६ वर्षदेखि सरकारलाई गिज्याइरहेको नारायणगढ–बुटवल सडक खण्ड पूरा हुने मिति अझै अनिश्चित बनेको छ । असारबाट ठेकेदारले काम ठप्प पारेको सडक खण्डमा अझै काम सुरु भएको छैन । 

मंसिरसम्म पनि काम सुरु नभए ठेक्का तोड्ने सरकारको तयारी छ । ठेक्का तोडेपछि पुनः अर्को प्रक्रियामा जान ६/७ महिना लाग्छ । यसरी सडक खण्ड अझै लामो समय अलपत्र पर्ने देखिन्छ । 

उता ठेकेदार कम्पनी भने पैसा नभएको र हेडक्वाटरबाट पैसा ल्याएर काम सुरु गर्ने तयारीमा रहेको जनाउँछ ।

Dabur Nepal
NIC Asia

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसनले निर्माणको जिम्मा लिएको ११३ किलोमिटर सडक २०७५ देखि अलपत्र अवस्थामा छ ।

चाइनास्टेट कम्पनीसँग उक्त सडकखण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । काम नसकिएपछि सरकारले तीन पटक म्याद थप गरिसकेको छ । 

हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ । चार वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ५२ प्रतिशत काम भएको हो ।

६ वर्षमा दुई पटक म्याद थप गर्दा समेत ५२ प्रतिशत काम भएको छ । ठेकेदार कम्पनीले मंसिर लाग्दा पनि काम सुरु नगर्दा ११३ किमी सडक अलपत्र छ । ठेकोदार कम्पनीले पैसा अभावमा काम सुरु नगरेको सडक विभागका आयोजना निर्देशक चुडाराज ढकाल बताउँछन् ।

“चिनियाँ कम्पनीले पैसा नभएर काम गरेको छैन । हामीले काम गर भन्दा हाम्रो हेड अफिसबाट पैसा आउँदैछ भनेर पर्खाइरहेको छ,” उनले भने, “हामीले डिसेम्बरसम्म यति काम गर मार्चसम्म यति काम गर भनेर तोकेर दिएका छौं । हामी अब डिसेम्बरको अन्तिमबाट काम सुरु गर्छौ भनेर कम्पनीले भनेको छ । गर्दै गरेन भने ठेक्का तोडिन्छ ।”

काम निकै सुस्त भएपछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले काम सुरु नभए ठेक्का तोड्नुपर्ने बताएका थिए ।  

बालुवाटारमा बिहीबार सडकखण्डमा निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा ओलीले रोकिएको काम आउँदो मंसिरभित्र सुरू नभएमा ठेक्का तोड्नुको विकल्प नहुने बताए । 

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,” प्रधानमन्त्री ओलीले भने । 

सरकारले उक्त आयोजनाको कम्पनीको म्याद तेस्रोपटक १० साउनमा एक वर्ष थपेको थियो । तर, म्याद थपपछि पनि काम सुरु भएको छैन् । असार लागेपछि विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो । 

ठेकेदार कम्पनीले काम सुरु गर्नुभन्दा पनि सडकको खाल्टाखुल्टी मात्रैमा सीमित भएको आयोजनाका पूर्वी खण्ड प्रमुख अनुक्षा घिमिरे बताउँछिन् । “तिहारअघिको बैठकमा तिहारलगत्तै काम सुरु गर्ने भनेको थियो । तर, अझै काम सुरु भएको छैन,” उनले भनिन् । 

करिब ६ वर्षदेखि वर्षामा हिलो र हिँउदमा धुलो हुने पहिचान बनाएको यो सडक हालसम्म आधा मात्रै काम भएको छ । सडक विभागका अनुसार हालसम्म ५२ प्रतिशतको हाराहारी निर्माण सकिएको छ ।

तीन जिल्ला रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) छुने यो सडक खण्डलाई दुई खण्ड छुट्याएर निर्माण भइरहेको छ । कुल ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटर दुवैतर्फ ६–६ मिटर सर्भिस लेनसहितको निर्माण भइरहेको छ । यस्तै दाउन्नेको १४ किलोमिटर तीन लेनको सडक हुनेछ । 

निर्माण सुरु भएपछि कोभिड–१९ देखाएर काम भएको थिएन । यसै सरकारले समयमै साइट क्लियर नगरेको, वनले समयमै रुख काट्न स्वीकृति नदिएको लगायतका कारण देखाएपछि सरकारले दुई वर्ष म्याद थप गरेको थियो । दुई वर्षमा पनि नसकिएपछि गत महिना एक वर्षको लागि म्याद थप गरेको थियो ।

ठेक्का सम्झौतामा २४ प्रतिशत कम रकम कबोल गरेर ठेक्का पाएको कम्पनीले पैसा नभएको भन्दै आएको छ । कम्पनीले थप दुई अर्ब रकम दाबी गर्दै काम ठप्प पारेपछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएका थिए । ठेकेदार कम्पनीले यस सडक मार्गमा आफूलाई सात अर्ब घाटा भइसकेको र थप काम गर्न आफूसँग पैसा नभएको भन्दै काम ठप्प पारेको थियो ।

उक्त कम्पनीसँग सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)को ऋण तथा १५ प्रतिशत सरकारकै लगानीमा विस्तार भइरहेको हो । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्नेगरी ऋण उपलब्ध गराएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro