site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हत्याको ‘सुपारी’ लिएर व्यवसायी लामामाथि आक्रमण गरिएको निष्कर्ष : पारिवारिक समस्या कारण ?

काठमाडौं । लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आपराधिक समूहले ‘सुपारी’ लिएर आक्रमण गरेको प्रहरीले निष्कर्ष निकालेको छ । घटनाको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा गएको कात्तिक ११ गते विक्रममाथि चारजनाको समूहले अन्धाधुन्ध रड प्रहार गरेको थियो । घटनामा संलग्न चारमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनालगत्तै परिसरको विशेष टोलीले नुवाकोटका शैलेन्द्र भनिने मार्सल तामाङलाई पक्राउ गरेको थियो । गएको कात्तिक २९ गते उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाबाट गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई पक्राउ गरेको छ ।

रड प्रहारका मुख्य योजनाकार भनिएका नुवाकोटकै अजय तामाङ र गोरखाका दीपक बरामु अझै फरार छन् । उनीहरू पनि झापा पुगेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । उनीहरूले झापामा फ्ल्याट नै भाडामा लिएर बसेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरूले फ्ल्याट ‘सेटअप’का निम्ति समेत लाखौँ रुपैयाँ खर्च गरेको देखिएको छ । आरोपित विक्रम र पीडक अजय दुवै नुवाकोटका हुन् । अजयले तीन साथीलाई प्रलोभनमा पारेर विक्रममाथि आक्रमण गर्न लगाएका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

‘सुपारी’ पाएर आक्रमण गरेको आंशका
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित र पीडित विक्रमबीच कुनै पूर्वरिसइबी देखिएको छैन । अनुसन्धानका खटिएका प्रहरीका अनुसार, विक्रममाथि आक्रमण गर्न अजयले नै ठूलो ‘सुपारी’ पाएको आशंका छ ।

हाल प्रहरीको थुनामा रहेका निश्चल र शैलेन्द्र दुवैले आफूहरूलाई घटनाबारे धेरै जानकारी नरहेको बयान दिएका छन् । अजयले आक्रमण गर्ने योजना बनाएपछि आफूहरू सहभागी भएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।

उनीहरू दुवैजनाले प्रहरीलाई भनेका छन्, ‘‘किन आक्रमण भयो भन्नेबारे हामीलाई केही जानकारी छैन । अजयले नै एउटा टार्गेट दिएपछि आक्रमण गरेका हौँ । उनी विक्रम हो भन्ने पनि थाहा थिएन ।’’

झापामा उनीहरू बस्न खरिद गरिएका फर्निचर हेर्दा ठूलो रकम हात परेपछि आक्रमण गरिएको प्रहरीले आशंका गरेको छ । विक्रमका आफन्तले उक्त आक्रमण हुनुका पछाडि परिवारकै आन्तरिक समस्या रहेको दाबी गरेका छन् ।

विक्रमका दाइ दिपेशले आफ्नी पूर्वश्रीमतीको भूमिका शंकास्पद रहेको बताएका छन् । उनको भूमिकाबारे अनुसन्धान गर्न दिपेशले प्रहरीलाई आग्रह नै गरेका छन् ।

हाल उनी लन्डनमा छन् । विक्रममाथि आक्रमणको केही दिनपछि उनी लन्डन उडेको खुलेको छ । अजय तामाङ पक्राउ नपर्दासम्म घटनाको तथ्य नखुल्ने काठमाडौं प्रहरीको भनाइ छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले भने आफूहरूले पक्राउ गरेका आरोपितलाई परिसर काठमाडौंमा बुझाएको र थप अनुसन्धान त्यहीँबाट भएको बताए ।

उनले बाह्रखरीसित भने, “हामीले घटनामा संलग्न एकजनालाई पक्राउ गरेका थियौँ, थप अनुसन्धानका लागि काठमाडौं प्रहरीलाई बुझाएका हौँ । बाँकी अनुसन्धान काठमाडौं प्रहरीले गरिरहेको छ ।”

हाल फरार रहेका अजय केही समयअघि मात्र जेल सजाय भुक्तान गरेर आएका खुलेको छ । उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएका प्रहरीले जनाएको छ ।

विक्रममाथि आक्रमण गर्न उनीहरूले नयाँ चार सिमकार्ड र मोबाइल प्रयोग गरेका पाइएको छ । आक्रमपछि चारै सिमकार्ड र मोबाइल समेत अजयले नै लिएका पक्राउ परेका आरोपितले बयान दिएका छन् ।

उनको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरिएको प्रहरीको जिकिर छ । पीडित विक्रम टाउकोको अपरेसनपछि अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro