site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
ट्रम्पले जितेमा विश्व व्यवस्था खलबलिने खतरा

अमेरिकी निर्वाचन परिणाम अनुमान गर्ने संस्थाहरूले गरेको सर्वेक्षणहरूले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचित हुने सम्भावना बढेको देखाउँछ । बेलायतबाट प्रकाशित हुने ‘दि इकोनमिस्ट साप्ताहिक’को ‘इकोनमिक इन्टेलीजेन्स युनिट’ले निर्वाचन परिणाम अनुमान गर्ने विश्वासिलो मोडल निर्माण गरेको छ ।

उक्त मोडलले (अक्टुबर २६, २०२४ का दिन प्रकाशित दी इकोनोमिस्ट अंक) ले नोभेम्बेर ५, २०२४ का दिन हुने निर्वाचनमा प्रतिस्पर्धी उपराष्ट्रपति कमला ह्यारिसलाई ट्रम्पले झिनो मतले पछ्याउने अनुमान गरेको छ । बेलायतबाटै प्रकाशित दैनिक ‘दी गर्जिएन’ले ‘फाइभ थर्टी एट’ पोलिङ एजेन्सीले गरेको राष्ट्रव्यापी सर्वेक्षणअनुसार ट्रम्प निर्वाचित हुने सम्भावना २ प्रतिशत बढी रहेको पूर्वानुमान गरेको छ ।

बीबीसी लन्डनअनुसार ह्यारिस निर्वाचित हुने सम्भावना १ प्रतिशत बढी छ । निर्वाचनको दिन नजिँकिदै गर्दा कतै ट्रम्प झिनो मतले भए पनि विजयी हुने पो हुन् कि ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

इतिहासमा अमेरिकी राष्ट्रपति

हुर्कदै गर्दा सन् १९६० मा राष्ट्रपति ड्वाइट डेविड आइजनहावरले नवनिर्वाचित राष्ट्रपति जोन एफ केनेडीलाई सत्ता हतान्तरण गरेका थिए । दुवैको महिमा अझै सुनिन्छ, पढिन्छ । वयस्क जीवन प्रवेशसँगै केनेडीको हत्या भयो । उपराष्ट्रपति लिन्डन बी जोहन्सनले (सन् १९६३) राष्ट्रपतिको कार्यभार समाले । त्यसको एक वर्षपछि तिनी निर्वाचित भए । जोहन्सनको कार्यकालमा अमेरिका भियतनाम युद्धमा संलग्न हुन पुग्यो ।

Royal Enfield Island Ad

विस्तारित भियतनाम युद्धको चपेटामा छिमेकी राष्ट्रहरू लाओस तथा कम्बोडिया पनि परे । भीमकाय एक्सबी–५१ एयरकाफ्टले खसालेको बमले उत्तरी भियतनामको सहर, बन्दरगाह तथा गाउँबस्तीहरू ध्वस्त परेको दृश्य देख्दा मन अमिलिने गर्थ्यो ।

अमेरिकी आक्रमणको क्रममा भएका ज्यादतीका अत्यासलाग्दा तस्बिरहरू अझै देखापर्छन् ।

सन् १९९२ मा कम्बोडियामा (संयुक्त राष्ट्रसंघीय मिसन सदस्य) का रूपमा जाँदा कम्बोडिया भियतनाम सीमा क्षेत्रमा गरिएको अमेरिकी बम प्रहारका प्रभावले त्यहाँका जमिनमा माटो डडेर ठूला आकारका पाको इट्टाहरूमा परिणत देखियो । भियतनाम भ्रमण (सन् २०११) मा जाँदा त्यहाँका ग्रामीण क्षेत्रमा निर्मित ‘टाउन हलहरू’मा युद्ध कालखण्डको विभत्स तस्बिरहरू देखेँ ।

म अमेरिकामा अध्ययन गर्न जाँदा राष्ट्रपति थिए जिमी कार्टर । विश्व शान्तिका पक्षधर तिनको सरल जीवनशैली तथा सज्जन स्वभावले मोहित तुल्याएको थियो । कार्टरले मानव अधिकारलाई अमेरिकी परराष्ट्र नीतिको मुख्य एजेन्डा बनाएका थिए । मानव अधिकार उल्लंघनकर्ता राष्ट्र प्रमुखलाई अमेरिकाले साथ दिन छाडेको थियो ।

अमेरिकाकै सौजन्यमा निरंकुश राष्ट्राध्यक्षहरू जस्तै अनास्टासियो सोमोजा (निकारुगुवा), फर्निनान्ड मार्कोस (फिलिपिन्स) लगायत इरानको बादशाह महम्मद राजा पहेल्बी अपदस्त भए । तिनको कार्यकालमा पञ्चायतकालीन नेपालमा समेत सरकार मानव अधिकार उल्लंघन गर्न हच्किएको थियो ।

कार्टरकै प्रयासमा सन् १९७८ सेप्टेम्बर १७ का दिन ‘क्याम्पडेबिड इकार्ड’मा इजिप्ट तथा इजरायलबीच शान्ति सम्झौता भयो । टेलिभिजन पर्दामा त्यसदिन कार्टरको दायाँ खडा भएका इजिप्टका राष्ट्रपति अनवर सादत तथा बायाँ इजरायलका प्रधानमन्त्री मेनाकम बेगिनले हातेमालो गरेको देखेँ । इजरायल राष्ट्रको घोषणा सन् १९४८ मई १४ मा भएको थियो ।

त्यस दिनदेखि यहुदीको वर्चस्व भएको त्यस राष्ट्रको अस्तित्व मेट्न अग्रसर थियो इजिप्ट । इजरायललाई इजिप्टको नेतृत्वमा अरब राष्ट्रहरूले ४ पटक (१९४८/४९, १९५६, १९६७ तथा १९७३मा गरी) आक्रमण गरेका थिए । क्याप डेभिडमा त्यस दिन दुई शत्रु राष्ट्रका नेताहरूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको देख्दा खुसीले विभोर भएको थिए । त्यस दिनपछि सदियौँदेखिको अरब तथा यहुदीबीचको दुस्मनी अन्त्य भएको थियो । झन्डै आधा शताब्दी बितिसक्दा पनि उक्त सम्झौताको उल्लंघन भएको छैन । 

कार्टरलाई रिपब्लिकन पार्टीका उमेद्वार क्यालिफोर्निया राज्यका गभर्नर रोनाल्ड रेगनले पराजित गरेका थिए । पूर्व हलिउड अभिनेता रोनाल्ड रेगन त्यसकाल खण्डको ‘लोकरिझाइ’ राजनीतिका प्रतीक थिए ।

राष्ट्रपति पदमा पराजय भोगेका कार्टर विश्व शान्ति तथा मानव अधिकारका निमित्त अहोरात्र खटिए । कार्टर त्यस कामका लागि सन् २००२ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित भए । राष्ट्रपति कार्टरका विषयमा घानाको सैनिक शासक जेरी रोवालिङ (१९७९ मा सैनिक विद्रोह गरेर छोटो अवधि शासक भएपछि सन् १९८१–२००१ निर्वाचित राष्ट्रपति) ले गरेको टिप्पणी सान्दर्भिक लाग्छ - “अमेरिकी मतदाताले पराजित गरे पनि लोकतान्त्रिक विश्वको मन जित्न सफल अमेरिकी राष्ट्रपति ।”

राष्ट्रपति रेगनले दोस्रो कार्यकालका लागि पनि निर्वाचित भए । सन् १९८९ को निर्वाचनमा रेगनका उपराष्ट्रपति जर्ज बुस (पिता) निर्वाचित भए । अगस्ट २, १९९० का दिन इराकले छिमेकी राष्ट्र कुवेतलाई हमला गरेर कब्जामा लियो । उक्त आक्रमणको प्रतिकार गर्न अन्तर्राष्ट्रिय सहमति जुटाएर कुवेतबाट इराकलाई लखेट्ने श्रेय राष्ट्रपति बुसलाई जान्छ ।

दोस्रो कार्यकालका निमित्त उमेदवार भएका जर्ज बुसलाई (१९९८) आर्कन्ससका गर्भनर बिल क्लिन्टनले पराजित गरे । अमेरिकी इतिहासमा बुस पदासीन हुँदाहुँदै निर्वाचनमा पराजित हुने नवौँ  राष्ट्रपति थिए ।

बिल क्लिन्टन (१९९३–२००१) पछि जर्ज बुस (पुत्र) (२००१–२००९) तथा बाराक ओबामा (२००९–२०१७) निर्वाचित भए । उनीहरूको निर्वाचन तथा दुई अवधि राष्ट्रपति भएको देख्दा रोनाल्ड रेगन जस्ता ‘लोकरिझाइ’को राजनीति गर्ने व्यक्ति अब उप्रान्त अमेरिकामा निर्वाचित हुँदैनन् भन्ने विश्वास थियो । हिलारी क्लिन्टनलाई डोनाल्ड ट्रम्पले पराजित गर्दा भने उक्त विश्वास खण्डित भयो। कार्यकालभर नै राष्ट्रपति ट्रम्प अहंकारी तथा विशुद्ध 'धुन्धुकारी' साबित भए ।

दोस्रो विश्व युद्धपछि अमेरिका विश्व शक्तिको रूपमा उदायो । अमेरिकाले नेतृत्व गरेको उदार विश्व प्रणाली (संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत खाद्यान्न तथा कृषिसम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानहरू) ले निरन्तरता पाउँदै आएको छ । उक्त व्यवस्थालाई चुनौती दिने अर्को शक्ति राष्ट्र सोभियत युनियन थियो । सन् १९९१ डिसेम्बर २६ देखि सोभियत साम्राज्यको विघटन भएपश्चात् अमेरिका अविच्छिन्न रूपमा एकल विश्व शक्ति राष्ट्र रहँदै आएको छ ।

दुई दशकयता चीन पनि शक्ति राष्ट्रको रूपमा स्थापित हुँदैछ । अमेरिकाको अगुवाइ तथा सहयोगमा स्थापना भएको विश्व प्रणाली तथा व्यवस्थालाई चीनले चुनौती दिँदैछ । शीतयुद्धको समापनपछिको झन्डै पाँच दशक लामो अवधिसम्म कायम भएको एकल विश्व शक्ति राष्ट्रले कायम गरेको सन्तुलनमा धाँजाहरू देखा पर्न थालेका छन् ।

तीन वर्ष पूर्व रुसले युक्रेनमाथि आक्रमण गर्‍यो । युक्रेनी जनताले प्रतिकार गर्दा युद्ध चल्दै छ । एक वर्षअघि (अक्टोबर ७, २०२३) इजरायली भूमिमा प्रवेश गरेर हमासले आक्रमण गर्‍यो । प्रतिशोधमा इजरायलले गाजा क्षेत्रलाई ध्वस्त तुल्याइदियो ।

लेबनान प्रवेश गरेर इरान समर्थित प्यालेस्टिनी गुरिल्ला समूह हमासलाई निस्तेज गर्न इजरायली सुरक्षा फौजका जवानहरू लागिपरेका छन् । इजरायल तथा इरानबीच दशकौंदेखि चल्दै आएको ‘छद्म युद्ध’ एक आपसबीच क्षेप्यास्त्र प्रहारमा पुगेको छ । मध्यपूर्व पुनः युद्धभूमिमा परिणत भएको छ । अर्कोतर्फ चीन  ताइवानलाई सैनिक हस्तक्षेप गरेर नियन्त्रणमा लिने तर्खरमा जुटेको देखिएको छ । छोटकरीमा भन्नुपर्दा तेस्रो विश्व युद्धको खतरा बढेको छ ।

अमेरिकाले स्थापना गरेको विश्व प्रणाली तथा ब्यवस्थाले निरन्तरता पाउनुमा अमेरिकी राष्ट्रपतिहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए । तेस्रो विश्व युद्धको जोखिम बढ्दै गएको अवस्थामा आगामी नोभेम्बर ५ तारिखका दिन अमेरिकी मतदाताले दुई प्रतिस्पर्धी उमेद्वार (पूर्व) राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उपराष्ट्रपति कमला ह्यारिसमध्ये एकलाई निर्वाचित गर्नेछन् । तिनले गरेको मतदानको प्रभाव अमेरिकी नागरिक तथा राष्ट्रलाई मात्र नभएर समस्त विश्वलाई नै पर्ने निश्चित छ ।

हिलारी क्लिन्टनलाई डोनाल्ड ट्रम्पले सन् २०१६ को (निर्वाचनमा) पराजित गर्दा तीनछक परेका थिएँ । कमला ह्यारिससँग प्रतिस्पर्धा गर्ने ट्रम्प आपराधिक मुद्दाको भारी (निर्वाचन प्रणालीमा हस्तक्षेप, निर्वाचनका निमित्त प्राप्त गरेको रकमको चरम दुरुपयोग तथा कर छली प्रकरण) बोकीराखेका छन् ।

उमेर (७८ वर्ष) को कारणले गर्दा ट्रम्पले स्मरण शक्ति गुमाएको धेरैले आशंका गर्छन् । निर्वाचनको क्रममा स्वस्थ परीक्षा गर्न तिनले मान्दै मानेनन् । ट्रम्पका प्रमुख पूर्व सहयोगी तथा विश्वास पात्रहरूले तिनलाई यस निर्वाचनमा समर्थन नगर्ने घोषणा गरेका छन् ।

उनीहरूमध्ये केही विगतमा मौन रहेका पात्रहरूले निर्वाचनको संघारमा ट्रम्प राष्ट्रपति पद सम्हाल्न लायक छैनन् भनी वक्तव्य नै जारी गरेका छन् । तिनी फासिष्ट, सन्काहा तथा स्वार्थी भएको हुनाले अमेरिकी लोकतन्त्रका निमित्त खतरनाक भएको तथा विश्व शान्तिका निमित्त घातक छन् भन्ने मनसाय ब्यक्त गरिँदैछ ।

समकालीन अमेरिकी राष्ट्रपतिमध्ये अधिकांशको कार्यकाल प्रसंशायोग्य रह्यो । डोनाल्ड ट्रम्प भने धेरै हदसम्म अपवाद भए । तिनी निर्वाचित भइहाले भने तिनका अन्ध (अमेरिकी) समर्थक तथा रुसी नेता भ्लादिमिर पुटिन, हंगेरीका भेक्टर एरवान तथा उत्तर कोरियाको किम जोङ उनजस्ता खुसी होलान् । विश्वका निमित्त भने यो दुःखद समाचार हुनेछ ।

आशा गरौं, ट्रम्प जस्तो घामड व्यक्ति राष्ट्रपतिमा निर्वाचित भइ नै हाले भने पनि अमेरिकामा बलियो गरेर जग बसेको ‘चेक एण्ड ब्यालेन्स’ पद्धतिले तिनलाई लगाम लगाउनेछ । तिनी जस्ता व्यक्तिले कुनै दिन राष्ट्रपति जस्तो गरिमामय पद हत्याउन सफल हुने जोखिम देखेर नै अमेरिकी संविधान निर्माताहरूले शक्ति पृथकीकरणको सिद्धान्तलाई अख्तियार गरेका हुनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro