सत्तारुढ दलका शीर्ष नेताद्वारा मञ्चित ‘प्रहसन’को पटाक्षेप भएको छ । नेपाली जनता कोरोनाको नाममा लगाइएको बन्दाबन्दीबाट आक्रान्त भएकै बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको ‘दन्त बझान’ सुरु भएको थियो । बन्दाबन्दीका बेला खान नपाएर मरिने डरले एकातिर हजारौं जना दसौं दिन पैदल हिँडेर घर फर्कँदै थिए । अर्कातिर, नेकपाका ‘प्रथम’ अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पार्टीका शीर्ष नेताहरूलाई फकाउन र तर्साउन व्यस्त देखिन्थे । यसबीच प्रमुख विपक्षलगायत चासो राख्ने सबैले अर्थतन्त्र जोगाउन विशेष कार्यक्रमको घोषणा गर्न सरकारलाई आग्रह गरिरहे । संसारका अरू सबै मुलुकले त्यस्तो कार्यक्रम घोषणा पनि गरे । विडम्बना, नेपालको सत्तारुढ दलका शीर्ष नेता भने जनताको कष्ट र अर्थतन्त्रको संकटलाई बेवास्ता गर्दै एकअर्कालाई सिध्याउने खेलमा पो लागेको देखियो ।
नेपाली जनताले सहनु परेको कष्टको उपेक्षाबाट क्षुब्ध र दिक्क नागरिकहरूले नेताहरूबीच ‘एकता सुदृढ’ भएको सुनेपछि विवादको नौटंकी केही समयलाई स्थगित भएको अर्थमा बुझेका छन् । उनीहरूको दन्त बझान केका लागि सुरु भयो र कसरी अन्त्य भयो जनताले थाहै पाएनन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद कोरोना महामारीको सम्बोधन गर्ने विधि सम्बन्धमा भएको थिएन । गरिब श्रमिकहरूले पाएको सास्ती कम गर्ने उपायका बारेमा पनि उनीहरूको कुरा नमिलेको होइन । महामारीका बेला पनि चिकित्सा सामग्री किन्दा स्वास्थ्य मन्त्रालयबाट भएको अनियमितता, भ्रष्टाचार, लापरबाही र ढिलासुस्तीका लागि दोषीमाथि कारबाही हुनुपर्छ भनेर पनि कम्युनिस्ट नेताहरूबीच विवाद उत्पन्न भएको हैन । अहिलेसम्मका यावत् अव्यवस्था, अनियमितता, भ्रष्टाचार र लापरबाहीविरुद्ध उनीहरू कसैले चुँसम्म पनि गरेका छैनन् । स्पष्ट छ, नेकपाका नेताहरू नेपाली नागरिकले अहिले भोगेका कष्ट र आगामी दिनमा अर्थतन्त्र संकटमा पर्दा वा ¥यापिड डायग्नोस्टिक टेस्टका नाममा गरिएको भरपर्न नहुने परीक्षणको नतिजा गलत भएमा उत्पन्न हुनसक्ने जोखिमप्रति उनीहरू चिन्तित थिएनन् । संसारले नै औँल्याएको नेपालमा प्रेस स्वतन्त्रताप्रति सरकारको वक्रदृष्टिमा पनि नेकपाका नेताले केही बोलेका छैनन् । यसबीच भएका अनियमितता र हेलचेक्य्राइँमा पनि सत्तारुढ दलका शीर्ष नेताहरू मतियार नै थिए ।
यस्तो अवस्थामा महामारी कालको महिना दिनभन्दा बढी समय सत्तारुढ दलका शीर्ष नेताले नेपाली जनतालाई विवादको सस्तो प्रहसन देखाइरहे । यसैले उनीहरूको विवाद कोरोनाको कहरबाट आक्रान्त जनतालाई भुलाउने प्रहसनमात्र थियो कि भन्ने सन्देह भएको हो । नेपथ्यमा सूत्रधारको सक्रियता र प्रहसनको नाटकीय अन्त्यले पनि यसलाई नाटक नै सिद्ध गरेको छ । पूर्वीय नाट्य परम्परामा नायक नायिकाको दुःखमा चिन्तित दर्शकको मन बहलाउन विदूषक प्रकट गरिन्छ । ग्रिक दुःखान्तमा नाटक चरमोत्कर्षमा पुग्नै लागेका बेला दर्शकहरूमा हुने छटपटी मत्थर पार्न ‘हास्य विश्रान्ति’ (कमिक रिलिफ)को प्रयोग गरिन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले अहिले देखाएको प्रहसन ग्रिक दुःखान्तको ‘हास्य विश्रान्ति’सँग मिल्दोजुल्दो देखिन्छ । अर्थात्, नाटकको चरमोत्कर्षमा पुग्नुभन्दा पहिले दर्शकलाई हँसाएर दुःखान्तका लागि तयार गर्न प्रयोग हुने विश्रान्तिजस्तो देखिएको छ । तैपनि, यही विश्रान्तिको अवसरमा समेत जनताले भोग्नु परेको कष्ट, अर्थतन्त्रमा आएको संकट र अनियमितताको अन्त्यका लागि केही गर्ने सद्बुद्धि सत्ताधारीमा पलाए हुन्थ्यो । बाँकी ‘भस्मासुर’लाई वर दिने नेपाली जनताले भोग्नु त छँदैछ !