आफूलाई सर्वज्ञ र सर्वशक्तिशाली ठान्नेहरू धेरैसँग इतिहासले निर्मम व्यवहार गरेको छ । तैपनि, संसारका धेरै शासकहरू अहकंकारको अन्धकारभित्र शक्तिको उन्मादभित्रै रमाउँछन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि अहिले यस्तै प्रवृत्ति प्रदर्शन गर्दैछन् । नेपाल सरकारले कोरोनाभाइरसको सामना गर्न आवश्यक विधि र उपाय बेलैमा अपनाउन सकेन । लामो समयसम्म सम्बन्धित मन्त्रीहरू सार्वजनिकरूपमै नेपालमा कोरोनाभाइरस आउँदैन भनेर बसे । इन्कार गर्न नसक्ने अवस्थामा पुगेपछि पनि सरकारले केही नगरी थप समय बितायो । अनि जब केही गरेजस्तो देखाउन थाल्यो एकपछि अर्को बदनियत र अनियमितताका कथा सार्वजनिक भए । सत्तारुढ दलका नेताका कृपापात्रको आर्थिक स्वार्थमा जनदबाबका कारण धक्का लागेपछि योजनाकारहरू छटपटाउन थाले । अनि उनीहरू सञ्चारकर्मीविरुद्ध जाइलागे ।
यतिन्जेलसम्म पनि प्रधानमन्त्री केपी ओलीलाई सञ्चारकर्मी र जनमानसले शंकाको सुविधा दिएकै देखिएको थियो । उनी बिरामी भएकोले केही सहानुभूति पाएका थिए । साथै चिकित्सा सामग्री खरिद प्रकरणमा भएको अनियमितता र अव्यवस्थामा उनको प्रत्यक्ष संलग्नता नदेखिएकाले पनि प्रधानमन्त्री ओलीलाई सोझै दोष दिइएको थिएन । कतिपयले त मिर्गौला प्रत्यारोपणपछि छिटै तंग्रिएका प्रधानमन्त्री ओलीको सक्रियताले अनियमितता र अव्यवस्था कम हुने अपेक्षा पनि सार्वजनिकरूपमै प्रकट गरेका थिए । दुर्भाग्य, उनले त अनियमितता गर्नेहरूकै ओड ढाके । यसबाट जनता निराश भए । त्यसपछि सञ्चारकर्मी र जनतालाई दुत्कार्न थाले । तैपनि, जनताले प्रधानमन्त्री ओलीको नियतमै शंका गरेका थिएनन् । तर, बन्दाबन्दीपछि गरिब आन्तरिक आप्रवासीहरूले पाएको कष्ट उजागर गर्दा पत्रकारको नियतमा शंका गर्न थालेपछि भने सबै विसंगतिका लागि प्रधानमन्त्री ओली नै जिम्मेवार रहेछन् कि भन्ने सन्देह हुन थालेको छ ।
विगत तीन महिनामा सञ्चार माध्यममा प्रकाशित समाचार र विचारहरूको विश्लेषण गर्ने हो भने प्रधानमन्त्री ओलीले अनियमितता, अव्यवस्था र अकर्मयण्ताको आलोचना गर्दा आफ्नै विरोध भएको ठानेर प्रतिकारमा उत्रिएपछि नै सञ्चार माध्यम पनि बढी मुखर भएको स्पष्ट देखिन्छ । सरकारका नीतिहरू र विशेषगरी प्रधानमन्त्री ओलीका निर्देशन कति अव्यवहारिक भए भने उनकै मन्त्रिपरिषद्का सदस्यले समेत त्यसको उल्लंघन गरे । बन्दाबन्दीका कारण काम रोकिएपछि आप्रवासी श्रमिकहरूको सहरमा बस्नेखाने व्यवस्था पनि गुम्यो । त्यसपछि उनीहरूसँग गाउँ फर्कनुको विकल्प थिएन । धन्न, यो पुस्तासम्म सामान्यतः पूरै बेघरवार भइसकेको छैन । यसैले भारतमा जसरी सडकमै मर्ने डर धेरैले मान्नुपर्दैन । जीवनमा सायद कहिल्यै नभोगेको कष्ट सहेर पैदलै सयौं किलोमिटरको यात्रामा हिँडेका नागरिकलाई सान्त्वना र सहायता दिनुको साटो तिनको समाचार दिने पत्रकारलाई समेत प्रधानमन्त्री स्वयंले दुत्कार्न थाले ।
परन्तु, सञ्चार माध्यममा दिइएका समाचारकै कारण थुप्रै स्थानीय तह, सामाजिक संघसंस्था र व्यक्तिहरूले तिनको यात्रा सहज बनाउने मानवीय प्रयास गरेका छन् । सरकारप्रति निराश पैदल यात्रुहरू पनि बाटामा पाएको मायाप्रति कृतज्ञ भएका छन् । दुर्भाग्य, प्रधानमन्त्री ओलीले भने यो मानवीय कृत्यमा षड्यन्त्र देखे । गरिब जनताका कष्टको बेवास्ता गरेकोमा सञ्चार माध्यम, सामाजिक सञ्जाल र बौद्धिक विमर्शमा भएको आलोचनाप्रति चरम असहिष्णुता प्रकट गरेर प्रधानमन्त्री ओलीले आफ्नो अल्पज्ञान र अहंकार प्रदर्शन गरेका छन् । सञ्चारकर्मी र बौद्धिक आलोचकको निन्दामा लगाएको समय उनले चिकित्सा सामग्रीको खरिदमा बुनिएको अनियमितताको तानाबानाको रहस्योद्घाटनमा लगाएका भए जनताले स्याबासी दिने थिए । अहिले किन्नै नपर्ने सामान किन्ने र नकिनी नहुने सामान नकिन्ने रहस्य खोतलेका भए सम्भवतः आफू वरपरका विषालु धमिराबाट जोगिने थिए । परन्तु, दुर्योधन प्रवृत्तिले उनलाई सायद कर्तव्यप्रति प्रवृत्त र अकर्तव्यबाट निवृत्त हुनै दिएन । तैपनि, आफूले आँखा चिम्लँदैमा संसार अँध्यारो हुँदैन भन्ने हेक्का राख्नुपर्ने हो नि !