नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने जनाउ दिएको छ । अर्थ मन्त्रालयले केही दिन पहिले नै राजस्व संकलन र खर्चको लक्ष्य संशोधन गरेर घटाइसकेको छ । यसरी आर्थिक लक्ष्य पूरा नहुनुका कतिपय कारण होलान् । तर, पछिल्ला दिनमा चीनबाट सुरु भएर अहिले संसारभरजस्तो फैलेको कोरोनाभाइरस (कोविड —९) का कारण नेपालको आर्थिक वृद्धि प्रभावित भएको राष्ट्रबैंकले बताएको छ । कोरोनाभाइरस संक्रमणको प्रत्यक्ष प्रभाव भने पर्यटनमा परेको छ । सरकारले नेपाल भ्रमण वर्ष, २०२० स्थगित गरेको छ । पर्यटकको घुइँचो लाग्ने याम भए पनि होटलहरूमा पर्यटकको संख्या एकदमै न्यून छ । अर्थात्, नेपालको पर्यटन उद्योग थला पर्ने जोखिममा परेको छ । व्यवसाय नै डुब्ने जोखिम भए व्यवसायीहरू कामदार कटौती वा प्रतिष्ठानै बन्द गर्नेजस्ता उपाय अपनाउन अग्रसर हुनसक्छन् ।
सरकार भ्रमण वर्ष स्थगित गरेपछि काम सकियो भनेर पन्छने र अहिलेको अवस्था केही महिना लम्मिने हो भने धेरै होटल र रिसोर्टहरू विशेषगरी विदेशी पर्यटकलाई लक्षित गरेर बनाइएका संरचना सञ्चालन गर्न मुस्किल हुनेछ । यस्ता प्रतिष्ठान बन्द भए भने त्यसको नकारात्मक असर व्यवसायी र कामदारमाथि मात्र हैन बैंकिङ क्षेत्र र अर्थतन्त्रमा समेत पर्छ । अर्थात्, यसले अर्थतन्त्रमा संकट निम्त्याउने र थप्दै लैजाने प्रवृत्ति बढाउनेछ । देशको अर्थतन्त्र एकपटक ओरालो चक्रमा फसेपछि रोक्न र उकालो लगाउन निकै कठिन हुनेछ । अर्थतन्त्रको अर्को आधार विप्रेषण पनि जोखिममा पर्दैगएको छ । मलेसिया, खाडी, कोरियाजस्ता नेपाली कामदार धेरै जाने मुलुकहरू पनि कोविद—९को उच्च जोखिममा छन् । यसैले नेपाली अर्थतन्त्रका हल्लिएका आधारहरूको सबलीकरण (रेट्रोफिटिङ) गर्न बेलैमा सम्बन्धित सबैको ध्यान जानुपर्ने देखिन्छ ।
वैदेशिक रोजगारी जोगाउन नेपाल सरकारले गर्नसक्ने काम खासै धेरै हुँदैन । ती मुलुकहरूमा पुगेका नेपालीको हितका लागि विशेषगरी कोरोनाबाट संक्रमित भए उपचारका लागि विशेष ध्यान दिनुबाहेक तत्काल केही गर्न सकिने देखिन्न । तर, भ्रमण वर्षलाई उत्साहपूर्वक पर्खेर बसेका पर्यटन व्यवसायीलाई भने राज्यले व्यवसाय जोगाउन सहयोग गर्नसक्छ । व्यवसायीले पनि पर्यटकको भिड नहुने मौका छोपेर मर्मत सम्भार र नयाँ निर्माण गर्ने योजना बनाउनु उचित हुनेछ । सरकारले यही मौकामा भौतिक पूर्वाधारमा ध्यान दिनुपर्छ । विशेषगरी सडक निर्माण र सञ्चार सुविधाको विस्तारको काम यति बेला गर्न सके भ्रमण वर्ष, २०२२ को तयारी गर्न सहज हुनेछ । पर्यटन व्यवसायीसँग सुविधा प्रबलीकरण र स्तरोन्नतिका लागि खर्च गर्ने पैसा नभए सरकारले बैंकहरूलाई लगानी गर्न प्रेरित गर्नुपर्छ । यस्तो ऋणको ब्याज सरकारले अनुदानस्वरूप उपलब्ध गराउनु न्यायोचित हुनेछ । त्यति गर्न सके पर्यटन क्षेत्र जीवन्त रहिरहनेछ भने अर्थतन्त्रमा पनि थप लगानीको सकारात्मक प्रभाव पर्नेछ ।
पर्यटन मन्त्रालयलगायतका सम्बन्धित निकाय र होटल व्यवसायीहरूले मिलेर पर्यटक नआए पनि यस क्षेत्रले दिने सेवा एवं रोजगारी जोगाउन तत्काल विशेष कार्ययोजना बनाऊन् ! यस्तै, आन्तरिक पर्यटन प्रवर्धनका लागि पनि विशेष कार्यक्रम तयार गरियोस् । आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नसके मध्यम स्तरमा होटल सञ्चालनमा कठिनाइ हुनेछैन । गर्मी सुरु भएपछि कोरोनाको कहर कमजोर हुने विश्वास गरिएको छ । त्यस अवस्थामा भारत र बंगलादेशका पर्यटकलाई आकर्षित गर्ने प्याकेज तयार गरे नेपाल वायुसेवाको पनि उद्धार हुनसक्छ । राज्यलाई नोक्सान नपरी निजी क्षेत्रलाई फाइदा हुन्छ भने त्यस्तो काममा सार्वजनिक साधनस्रोतको प्रयोग र खर्च गर्न सरकारले कन्जुसी गर्नु हुँदैन । कोरोनाभाइरसको कहरपछि पनि चीनलगायतका मुलुकले निजी क्षेत्रलाई गतिवान् बनाउन राज्यबाट आर्थिक र अन्य आवश्यक सहयोग दिन सुरु गरिसकेका छन् । नेपालले पनि त्यसबाट सिक्नु जरुरी छ ।