site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई बुझाए झन्डै एक खर्ब 

काठमाडौं । पढ्न गएका नेपाली विद्यार्थीले पछिल्लो एक वर्षमा अमेरिकालाई झन्डै एक खर्ब रुपैयाँ बुझाएका छन् । ‘ओप्पन डोर रिपोर्ट २०२४’ अनुसार, नेपाली विद्यार्थीले उक्त रकम शैक्षिकसत्र २०२३/२४ मा अमेरिकाका विभिन्न विश्वविद्यालयलाई बुझाएका हुन् ।

शैक्षिक वर्ष २०२३/२४ मा १६ हजार ७४२ नेपाली विद्यार्थी अमेरिकाका विभिन्न विश्वविद्यालयमा भर्ना भएका थिए । उनीहरूले उक्त वर्ष अमेरिकी अर्थतन्त्रमा ७० करोड ६० लाख डलर (९४ अर्ब ८६ करोड रुपैयाँ) योगदान गरेको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी वाणिज्य विभागको तथ्यांकानुसार, त्यहाँ अध्ययनरत एक नेपालीले वर्षमा औसतमा ५६ लाख ६५ हजार रुपैयाँ अमेरिकी अर्थतन्त्रमा योगदान गर्दै आएका छन् ।

अघिल्लो शैक्षिक वर्ष २०२२/२३ मा अमेरिकामा अध्ययनरत १५ हजार ९० नेपाली विद्यार्थीले ४७ करोड डलर (६३ अर्ब १५ करोड रुपैयाँ) त्यहाँको अर्थतन्त्रमा योगदान गरेको विभागको तथ्यांकले देखाउँछ ।

शैक्षिक वर्ष २०२२/२३ को तुलनामा २०२३/२४ मा अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या १०.९ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । उक्त संख्यामा नेपाली विद्यार्थी बढ्दा अघिल्लोको तुलनामा गत शैक्षिक वर्ष ३१ अर्ब ७१ करोड रुपैयाँ बढी नेपालबाट अमेरिका गएको छ । 
नेपाली विद्यार्थी अध्ययन गर्न अमेरिका जाँदा ठूलो रकम विदेशिने गरेको प्रतिवेदनले देखाउँछ ।

शैक्षिक वर्ष २०२३/२४ मा १६ हजार ७४२ नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए । यो संख्या अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको अहिलेसम्मकै उच्च हो ।

नेपाली विद्यार्थी हाल अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औँ ठूलो समूह बनेको छ । संसारभरबाट ११ लाख २६ हजार ६९० विद्यार्थी शैक्षिक वर्ष २०२३/२४ मा अमेरिकाका विभिन्न विश्वविद्यालयमा भर्ना भएका थिए ।

शैक्षिक वर्ष २०२३/२४ मा अमेरिकामा अध्ययनरत सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा भारतका तीन लाख ३१ हजार ६०२, चीनका दुई लाख ७७ हजार ३९८, दक्षिण कोरियाका ४३ हजार १४९, क्यानडाका २८ हजार ९९८, ताइवानका २३ हजार १५७, भियतनामका २२ हजार ६६, नाइजेरियाका २० हजार २९, बंगलादेशका १७ हजार ९९, ब्राजिलका १६ हजार ८७७ र नेपालका १६ हजार ७४२ छन् ।

पछिल्ला वर्षहरूमा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ । रिपोर्टअनुसार, शैक्षिक वर्ष २०१५/१६ मा नौ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३०, २०२०/२१ मा ११ हजार १७२, २०२१/२२ मा ११ हजार ७९९, २०२२/२३ मा १५ हजार ९० र २०२३/२४ मा १६ हजार ७४२ नेपाली विद्यार्थी अध्ययन गर्न अमेरिका पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro