पानीविना जीवनको कल्पना पनि गर्न सकिँदैन । कतिपय मुलुकमा मानव उपभोगका लागि कृत्रिमरूपमा उत्पादन गर्नु परे पनि अहिलेसम्म जीवनको मूल आधारमध्येको महत्त्वपूर्ण तत्त्व पानी सामान्यतः प्राकृतिकरूपमै उपलब्ध हुँदैआएको छ । पानीको समग्र उपलब्धताका आधारमा नेपाल भाग्यमानी मुलुकमध्येमै पर्छ । तर, राजधानी काठमाडौं उपत्यकालयात नेपालका थुप्रै सहरहरूमा खानेपानीको चर्को अभाव छ । पानीको स्रोतदेखि व्यवस्थापनका कारण नागरिकले खानेपानीको अभाव भोग्नु परेको हो । ’वल्र्ड वाटर काउन्सिल’को प्रकाशनमा दिइएको जानकारीअनुसार नेपाललगायत हिन्दुकुश क्षेत्रका केही मुलुकमा गरिएको अध्ययनमा सन् २०५० सम्ममा पानीको माग र आपूर्तिमा दुई गुना अन्तर हुने देखिएको छ । अर्थात्, त्यति बेला पानीको मागभन्दा आपूर्ति आधामात्र हुनेछ । अध्ययनअनुसार पानीको अभावको मूलकारण कमजोर सहरी योजना र जलवायु परिवर्तन हुन् ।
नेपालका काठमाडौं, भरतपुर, दमौली र तानसेनलगायत भारत, पाकिस्तान र बंगलादेशका समेतगरी १३ वटा सहरमा गरिएको अध्ययनमा खानेपानीको माग अहिले पनि पूरा हुन नसकेको देखिएको छ । पानीको अजस्रः स्रोत मानिने हिमालय क्षेत्रमै यस्तो अवस्था छ भने अपेक्षाकृत पानी कम हुने वा हिमालयबाट टाढा पर्ने स्थानहरूमा कति अभाव होला ? यसैले केही अध्येताहरूले त आगामी दशकहरूमा खानेपानीकै कारण भयानक द्वन्द््व चर्किनसक्ने अनुमानसमेत गरेका छन् । नेपालकै अवस्था पनि उति आशालाग्दो छैन । अहिले काठमाडौंलगायतका केही सहरमा पानीको आपूर्ति मागभन्दा निकै कम छ । त्यसमाथि वितरण प्रणाली व्यवस्थित र पानी स्वच्छ नहुँदा थप समस्या उत्पन्न भएको छ । मेलम्ची आयोजना पूरा भएपछि पनि अहिलेको वितरण संयन्त्र र शैलीमा न्यायोचित सुधार नभए काठमाडौंको खानेपानीको संकट समाप्त हुनेछैन ।
खानेपानीको अभावको मूल कारण जलवायु परिवर्तन तथा सहरी जनसंख्याको तीव्र वृद्धि मानिएको ट । सरकारहरूले यस्ता समस्याको तत्कालै समाधान गर्न सक्तैनन् । यद्यपि, जनताप्रति उत्तरदायी सरकारले यस्ता समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर इमानदारीसाथ कार्यान्वयन गर्छन् । यसैगरी खानेपानीको संकट केही कम गर्न भने सरकारहरूले चाहेमा अल्पकालीन उपाय पनि गर्न सक्छन् । राज्यले आफ्ना नागरिकको उपभोग व्यवहारमा धर्तीको भारवहन क्षमताअनुसार सुधार गर्न प्रेरणा मिल्ने गरी नीति र कार्यक्रम बनाउनु आवश्यक हुन्छ । नेपालीहरूले अहिले प्रयोग गरेको पानीलाई औसतरूपमा हेर्ने हो भने सायद कम गर्ने ठाउँ नहोला तर धनीहरूको जीवन शैलीमा वातावरणअनुकूल सुधार गर्ने हो पानीको उपभोगमा पनि कटौती गर्न सकिन्छ । यसैगरी, खानेपानी योजनाहरूको मर्मतसम्भारमा पर्याप्त ध्यान दिने हो भने चुहावट नियन्त्रण गरेर पानी जोगाउन र आपूर्तिमा सुधार गर्न सकिन्छ ।
काठमाडौंलगायत पहाडी नगरहरूमा पानीको वितरण न्यायोचित छैन । शक्ति र सम्पत्ति हुनेहरूको हितमा हुने वितरण प्रणालीका कारण कमजोर वर्गले सार्वजनिक आपूर्ति प्रणालीको पानी उपभोग गर्न पाएका हुँदैनन् । उपभोग गर्नै नपाएका उपभोक्तले के कटौती गर्ने ? यसैगरी उपभोग भइसकेको पानीको पुनःप्रयोगका लागि पनि बेलैमा प्रशोधनलगायतका योजना कार्यान्वयन गरिनुपर्छ । सहरीकरणका क्रममा आकाशे पानीको सदुपयोग कम्तीमा धर्तीले सोस्ने व्यवस्थामात्रै मिलाउन सके पनि पानीको भण्डार बढाउन ठूलो सहयोग पुग्नेछ । यस्तै वाग्मतिजस्ता स्थानीय नदीको जलाधार क्षेत्रको पानी सञ्चय गरेर पनि आपूर्ति स्तरमा सुधार गर्न सकिनेछ । न्यूनतम आवश्यकता पूरा हुने पानी सबैले पाउने र कसैले पनि औसतभन्दा बढी पानी निकै महँगो पर्ने व्यवस्था मिलाउन सके सम्भवतः पानीको ठूलो संकट टार्न सकिनेछ । संकट आइनपर्दासम्म हेलचेक्य्राइँ गर्ने प्रवृत्ति त्यागेर राज्यका सबै अंग पानी संकटको सामना गर्न जनतालाई समेत साथमा लिएर एकजुट हुन ढिलो गर्नु बुद्धिमानी हुनेछैन ।