ललितपुरमा एक जना प्रहरी अधिकृतले काखमा बच्चा बोकेकी महिलालाई लाठीले हान्दै लखेटेको दृश्य सामाजिक सञ्चालमा व्यापक भयो । त्यसपछि सञ्चार माध्यमहरूमा त्यस घटनाको समाचार आयो । सम्बन्धित प्रहरी कार्यालयले विज्ञप्ति जारी गरेर घटनालाई सामान्य देखाउने प्रयत्न पनि गरिसक्यो । प्रहरी अधिकृत दोषी भए कारबाही गरिने पनि बताइएको छ । यति भएपछि समस्या समाप्त हुनुपर्ने हो । तर, सामाजिक सञ्जाल र सञ्चारमा माध्यममा घटनाको निन्दा र चर्चा भइरहेको छ । घटनामा संलग्न प्रहरी अधिकृतको ज्यादती यथार्थमा निन्दनीय नै देखिन्छ । यसरी अनावश्यक बल प्रयोग गर्ने नेपाल प्रहरीको पुरानै प्रवृत्ति हो । विशेषगरी कमजोरहरूमाथि प्रहरी निकै कठोर र निर्ममरूपमा प्रस्तुत हुने गरेको छ । हिरासतमा समेत प्रहरीले यातना दिने गरेको पीडितहरूले बताउँदै आएका छन् । ललितपुर घटनाले एकपटक फेरि नेपाल प्रहरीको कटु आलोचना भइरहेको छ ।
नेपालमा प्रहरीले कानुनको निर्देशको साटो माथिको आदेश बढी पालना गर्छ । सायद, यही आदेश पालनाका क्रममा ललितपुरको घटनामा पनि प्रहरी अधिकृतले भाग्दै गरेकी महिलालाई घरबाहिर बाटामा लाठीले हानेको हुनुपर्छ । कसैको आदेश पालना गर्ने क्रममा ‘बहादुरी’ देखाएको हैन भने ती प्रहरी अधिकृतको मानसिक अवस्था तन्दुरुस्त नहुनसक्छ । किनभने मानसिकरूपमा स्वस्थ प्रहरी अधिकृत त्यति बर्बर त नहुनुपर्ने हो । उनीहरूले अनधिकृतरूपमा कसैको घरमा पसेर तोडफोड गरेका थिए भने प्रहरीले पक्राउ गरी मुद्दा चलाउनु पर्थ्यो । प्रहरीले लखेटेका महिलाहरू त्यहाँ अनधिकृतरूपमा प्रवेश गरेको भन्ने दाबी पत्याउने हो भने पनि त्यसरी भाग्दै गरेकी र त्यसमा पनि काखमा बच्चा लिएकी महिलालाई पटकपटक लाठीले हान्न कुनै पनि सभ्य व्यक्तिले सक्तैन । प्रहरीले पनि हान्नु हुँदैन ।
प्रहरी पनि व्यक्ति नै हो । यसैले एकाध प्रहरीको बर्बर अमानवीय व्यवहारलाई सामान्यीकरण गरेर समुच्चा नेपाल प्रहरीलाई नै दोषी भन्नु न्यायोचित हुँदैन । तर, अधिकृतको यस्तो व्यवहारलाई उन्मुक्ति दिइयो वा ढाकछोप गर्ने प्रयास गरियो भने चाहिँ सिंगो प्रहरी संगठनकै छवि धमिलिनेछ । यसैले सामाजिक सञ्जालमा व्याप्त भएको श्रव्यदृश्य सामग्रीमा देखिएका प्रहरी अधिकृतलाई नेपाल प्रहरीले कारबाही गर्नुपर्छ । साथै, तनावपूर्ण दिनचर्या भएका प्रहरीहरूलाई नियमितरूपमा मनोसामाजिक विमर्शको व्यवस्था पनि मिलाउनु उचित हुन्छ । जति नै कडा कारबाही गरे पनि अर्को प्रहरीले फेरि उस्तै व्यवहार देखाउने गरेको जो पाइन्छ । प्रहरीलाई आधुनिक बनाउन भौतिक पूर्वाधारमात्र हैन मानसिकता र व्यवहारमा पनि मानवीय हुनु आवश्यक हुन्छ ।