site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

नेपालको निजी क्षेत्र स्वयंले पनि अर्थतन्त्र नियमन मुक्त हुनुपर्छ भनेका छैनन् । मात्राको अन्तरमात्रै हो संसारका कुनै पनि देशको अर्थतन्त्र नियमन मुक्त छैन । तर, नियमन र नियन्त्रण भने बेग्लाबेग्लै विषय हुन् । अनुदार र विशेषगरी निजी क्षेत्र विरोधी सैद्धान्तिक मान्यता र दीक्षा भएका व्यक्तिलाई भने नियमन र नियन्त्रणबीच भेद गर्न कठिन हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पञ्चायतकालको अनुदार कर्मचारी तन्त्रमा दीक्षित भएकाले अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि ‘नियमन’ र ‘नियन्त्रण’ को दुबिधा परेको हुनुपर्छ । आफ्नो कम्युनिस्ट विचार, अनुदार कर्मचारी पृष्ठभूमि र निजी क्षेत्रप्रतिको पूर्वाग्रह त्यागेमात्र उनी दुबिधाबाट मुक्त हुनेछन् । यद्यपि, व्यक्तिको वैचारिक र सामाजिक पृष्ठभूमि बिर्सन सहज भने हुँदैन । सम्भवतः अर्थमन्त्री डा. खतिवडाको दुबिधाको कारण यही हो ।

अर्थमन्त्री डा. खतिवडाको राष्ट्रिय सभाको पदावधि समाप्त हुँदैछ । उनी मन्त्री भएदेखि नै निजी क्षेत्रसँग उनको सम्बन्ध सहज बनेन । निजी क्षेत्रले अर्थमन्त्रीलाई सहयोगीमात्र हैन अभिभावक पनि ठान्न सक्नुपर्थ्यो । तर, डा. खतिवडाप्रति भने निजी क्षेत्र आश्वस्त हुनै सकेन । देशमा राजनीतिक स्थिरता हुँदा पनि लगानी र आर्थिक विकासको वातावरण बनेन । स्थानीय उद्योगी व्यवसायी ढुक्क हुन नसकेका बेला प्रत्यक्ष वैदेशिक लगानी आकर्षित हुँदैन । चिनियाँ शैलीको शंकास्पद लगानीले देशको दिगो आर्थिक विकास हुनसक्तैन । नेपालमा आर्थिक उदारीकरणको थालनी पञ्चायतकालमै भएको हो । तर, राजनीतिक व्यवस्था अनुदार भएकाले आर्थिक उदारीकरणले गति लिन सकेन । पहिलो जनआन्दोलनपछि ‘लाइसेन्स राज’को अन्त्य नीतिगतरूपमा सुरु भयो । परन्तु, अनुदार कर्मचारीतन्त्रले आर्थिक खुलापन पचाउन सकेन र बन्देजका विभिन्न उपकरण र बहाना तयार गरियो । 

नियमनका नाममा निजी क्षेत्रमाथि नियन्त्रण गर्ने कर्मचारीतन्त्रको चाहनामा डा. अतिवडा वैचारिक तथा सैद्धान्तिक पृष्ठभूमिका कारण अनुकूल बन्न पुगे । अर्कातिर, निजी क्षेत्र अर्थमन्त्री खतिवडासँग धेरै झस्क्यो । निजी क्षेत्रका व्यवसायप्रिति उनको वैयक्तिक व्यवहारले पनि अविश्वास नै बढायो । अर्थमन्त्री डा. खतिवडाको पदावधि सकिँदैछ भन्ने सन्देशमात्र प्रवाहित हुँदा पनि सेयर बजारमा अपूर्व तरंग देखियो । यसले पनि डा. खतिवडाप्रति निजी क्षेत्रको दृष्टिकोण प्रकट हुन्छ । नियन्त्रणको नियत नभए नियमनबाट निजी क्षेत्रको अहित हुँदैन । आफ्नो नाफा नोक्सान केबाट हुन्छ भन्ने थाहा पाउन निजी क्षेत्र समर्थ हुन्छ । खुलापन र नियमनमा ‘स्वार्थको द्वन्द्व’ पनि हुँदैन । बजार अर्थतन्त्र भएका मुलुकमा सन् २००८ को आर्थिक संकट निजी क्षेत्रको नियन्त्रणबाट हैन राज्यको सहयोगात्मक हस्तक्षेपबाट टरेको हो । सरकारले निजी क्षेत्रमाथि हस्तक्षेप गरेको नभएर संकट सामना गर्न सार्वजनिक संस्थाहरूलाई मद्दत गरेको हो । यसैले निजी क्षेत्रलाई नियन्त्रण गर्ने नियत नभए नेपालमा पनि नीतिगत वा व्यावहारिक दुबिधामा पर्नुपर्ने कुनै कारण देखिँदैन । सरोकारवालासँग संवाद गरेर राष्ट्रिय अर्थतन्त्रको हित हुने गरी नियमन र प्रबर्धनका नीति नियम बनाएर लागू गर्न निजी क्षेत्रले पक्कै छेक्तैन । अर्थमन्त्री डा. खतिवडाले आफ्नो दुबिधाको मूल कारण रहेको निजी क्षेत्रप्रतिको पूर्वाग्रह त्याग्न सके अलमलमा पर्नुपर्ने छैन ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro