ईसाको एक्काइसौं शताब्दी सुरु हुुने बेलातिरको आशा र उमंग बीस वर्षपछि सम्भवतः दुनियाँको कुनै मुलुक वा भूगोलमा पनि बाँकी छैन । नेपालमा त बीसौं शताब्दीको अन्तिम दशकमै निराशाको खेती सुरु भइसकेको थियो । यस्तै अनेकौं कारणले सत्तरियौं लोकतन्त्र दिवस मनाउँदा पनि नेपाली जनतामा अपेक्षाकृत निराशा व्याप्त हुन पुगेको हो । बितेका ७० वर्षमा नेपाली जनताको सधैँ निराश थिएनन् । तर, जनताको आशामा सधैँ नै ग्रहण लाग्यो । राणा शासनको अन्त्यका लागि जनताले सशस्त्र जनक्रान्ति त गरे तर लगत्तै शाह राजाहरूको हुकुमी शासन सुरु भयो । जनताले निर्वाचित गरेका प्रधानमन्त्रीमात्र हैन संसद्समेत बन्दुकका बलमा भंग गरेर राजाले ३० वर्ष शासन गरे ।
जनता आफ्ना मौलिक हकहरू खोसिएकोमा खुसी थिएनन् । राणा शासनविरुद्ध जनक्रान्तिको नेतृत्व गर्नेहरूले पनि लोकतन्त्र स्थापना गर्ने हिम्मत हारेका थिएनन् । संसारमा अधिनायकवादी शासनको अन्त्य हुँदै गएको थियो । नेपालमा पनि उदार लोकतन्त्रको स्थापनाका लागि जनआन्दोलन भयो । जनताले जिते । निर्वाचनबाट आन्दोलनकारीहरू राजनीतिको केन्द्रमा स्थापित भए । देशले विकास र वृद्धिको अपूर्व फड्को मार्न थाल्यो । तर, जनताका नेताहरूलाई नै आशाको उज्यालो सह्य भएन । पहिले विपक्षी दलले अत्यन्त गैरजिम्मेवार चरित्र देखायो । अनि, सत्तारुढ दलभित्रको आत्मघाती कलहले देशलाई अन्धकारको सुरुङतर्फ धकेल्यो । संसदीय राजनीतिमा देखिएको विकृति र विदेशको सहमा थालिएको हिंसात्मक विद्रोहले नेपाली जनतालाई निराशमात्र हैन भयातुर पनि बनायो ।
जनतामा निराशा बढेको देखेपछि राजाले मौका छोपे । राजनीतिक दलका नेताहरूले हिंसामा संलग्न माओवादीसँग हात मिलाए । दोस्रो जनआन्दोलनपछि संविधान सभाको निर्वाचन भयो र निर्वाचित प्रतिनिधिले संविधान पारित गरे । हिंसा र राजनीतिक अस्थिरता समाप्त भएपछि चुनाव भयो । जनताले नेपाल कम्युनिस्ट पार्टीका दुई घटक एमाले र माओवादीलाई अपूर्व मत दिए । एकपटक फेरि जनताले देशको विकास, स्वतन्त्रताको रक्षा र अशल शासनको अपेक्षा बलियो सरकारसँग गरे । दुर्भाग्य, सरकार गठन नहुँदैदेखि कम्युनिस्ट नेताहरूले देखाएको चरित्र र प्रवृत्तिले जनतालाई निराश बनाउन थाल्यो । अहिले दुई वर्षपछि अर्थतन्त्र पानीको फोकाजस्तो छ । भ्रष्टाचारका काण्डको त दिनहुँ खुलासा भइरहेको छ । यसैले जनता निराश भएका हुन् । आशाको ज्योति जगाउन पर्नेहरूले नै निराशाको बीउ रोपेपछि अरू के पो अपेक्षा गर्न सकिन्छ र ? जनता निराश र निस्पृह रहेका बेला लोकतन्त्र विरोधीहरूले मौका छोप्ने गरेका छन् । चिन्ता यसैको हो ।