सिर्जनामाथि स्रष्टाको अधिकार हुन्छ । यस्तो अधिकार रक्षा गरिदिने दायित्व भने राज्यको हो । राज्यले अधिकारको रक्षा नगर्ने हो भने स्रष्टाले सिर्जनामा भन्दा बढी समय मुद्दा मामिलामा बिताउनुपर्ने हुन्छ । त्यस्तो समाजमा स्रष्टा निराश हुन्छन् र सिर्जना शिथिल बन्छ । नेपाली समाजमा अहिले यस्तै अवस्था देखिएको छ । आफ्ना सिर्जना विनाअनुमति प्रयोग गरिएकोमा असन्तुष्ट केही नेपाली स्रष्टाहरू मुद्दा हाल्ने तयारीमा लागेका छन् । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा मुद्दाका लागि फाइल पुगिसकेको जानकारी उनीहरूले दिएका छन् । सहमतिको प्रयास गर्दा पनि अनधिकृतरूपमा सिर्जना प्रयोग गर्नेहरूले नै उल्टै उपेक्षा गरेको गुनासो स्रष्टाहरूले गरेका छन् । यथार्थमा स्रष्टाहरूले अधिकार रक्षाका लागि आफैँ अग्रसर भएर मुद्दा गर्नुपर्ने अवस्था राज्य र समाजको क्षयोन्मुख चरित्रको परिचायक हो । सत्ताधारीहरूलाई त यस्तो अवस्था लाजमर्दो हुनुपर्ने !
सिर्जनामाथिको स्रष्टाको अधिकार रक्षाका लागि संसारभर बेलाबखत मुद्दामामिला हुन्छ । तर, यसरी समुच्चारूपमै स्रष्टा व्यक्तिले मुद्दा गर्नुपर्ने अवस्था भने बिरलै देखिन्छ । राज्यको संयन्त्र कमजोर र गैरजिम्मेवार नभए सायद यस्तो अवस्था उत्पन्न हुने पनि थिएन । व्यवसायीहरूले पनि स्रष्टालाई रिझाएर नाफा कमाउन खोज्नुपर्ने हो । यसैपनि अरूको सम्पत्ति विनाअनुमति विक्रीवितरण गर्नु चोरी गरेसरहकै अपराध हो । सामान्य वस्तुको चोरीसमेत सरकारवादी हुन्छ । घटनाको जानकारीपछि प्रहरीले खोजतलास गर्छ । सिर्जनाको चोरीलाई त झन् विशेषरूपले व्यवहार गर्नुपथ्र्यो । दुर्भाग्य, सरकारी संयन्त्रकै उदासीनताका कारण स्रष्टाहरू सिर्जना छाडेर अदालत धाउनुपर्ने विडम्बना उत्पन्न भएको छ । राज्यले संरक्षण गरिदिन्छ भनेर ढुक्क हुन पाए स्रष्टाहरू सिर्जनामै तल्लीन हुन्थे होलान् ।
बौद्धिक सम्पत्तिको सम्मान गर्ने संस्कृतिको निर्माण तथा अभ्यास नहुँदासम्म कुनै पनि समाज सभ्य र समृद्ध बन्न सक्तैन । प्रतिव्यक्ति आय वा फराकिला सडकलाई मात्र सम्पन्नताको सूचक मान्ने भौतिकवादी दृष्टिमा सिर्जनाको मूल्य नदेखिए पनि अन्ततः कालजयी सम्पदा त कलात्मक सिर्जना नै हो । संसारका लाखौं अर्बपतिहरू इतिहासको धुलोमा पुरिएर जान्छन् तर स्रष्टाहरूको चमक हजारौं वर्षसम्म पनि मधुरो हुँदैन । कालीदासदेखि होमरसम्मका स्रष्टाहरूको महिमा आज पनि उत्तिकै गाइन्छ । अहिले गीत संगीतसँग सम्बद्ध गीतकार, गायक, संगीतकार जस्ता विधाका स्रष्टाहरू अधिकारको खोजीमा अगाडि आएका छन् । अरू विधाका स्रष्टाहरूको पनि अधिकार हनन भइरहेको छ । यसैले राज्यले नै उनीहरूको अधिकार रक्षा गर्ने प्रबन्ध मिलाउनुपर्छ । स्रष्टाहरू निर्धक्क भएर सिर्जना गर्ने अवस्था नभएको कुनै पनि राज्य समृद्ध बन्न सक्तैन ।