काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रदेश ५ संसदीय दलका उपनेतासमेत रहेका चिनी मिल सञ्चालक विरेन्द्र कनौडियलाई उखु किसानको बाँकी रकम भुक्तानी गर्न उर्दी जारी गरेको छ ।
कांग्रेसले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेता कनौडियालाई पुस २५ गतेभित्र उखु किसानको वक्यौता रकम भुक्तानी गर्न उर्दी जारी गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ट्विट गर्दै उनलाई रकम भुक्तानी गरिएको बारे केन्द्रीय कार्यालयलाई जानकारी गराउनसमेत भनेको जानकारी दिएका छन् ।
कांग्रेसले अन्य चिनी मिल सञ्चालकहरुबाट किसानको वक्यौता रकम भुक्तानी गराउन सरकारसँग आग्रह पनि गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पनि उखु किसानको वक्यौता रकम तत्काल भुक्तानी गर्न नेता कनौडियालाई निर्देशन दिएको थियो ।
उखु किसानहरु विगत १५ दिनदेखि वक्यौता रकम पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्नामा छन् ।