site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ठूला दलको दोहोरो चाल– भन्दा एक्लै, तर चुनावमा साझेदारी !

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले चुनावमा एक्लै लड्ने घोषणा गरे । पार्टीका बैठकहरूबाट पनि एक्लै चुनावमा होमिने निर्णय समेत गरे ।  तर, व्यवहारमा भने दलहरूले कतिपय ठाउँमा चुनावी गठबन्धन गरेरै छाडे । जसमा दुई प्रमुख दुई राजनीतिक दल कांग्रेस र एमाले पनि अछुतो रहन सकेनन् ।

दुई जिल्ला समन्वय समिति प्रमुख समेत गरी ४४ पदमा हुन लागेको चुनावमा दुवै दलले ४२–४२ उमेदवार खडा गरे । तथापी चुनावी तालमेल भएको छ ।  कांग्रेस र एमालेको सहकार्य रुकुम पूर्वमा भएकाे छ । 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका निम्ति पनि उपनिर्वाचन हुँदै छ । स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट निर्वाचित उपाध्यक्ष भूपेन्द्र बुढामगरको निधनपश्चात रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

Dabur Nepal
NIC Asia

उपनिर्वाचनका निम्ति यहाँ रोचक तालमेल भएको छ । सत्ताको नेतृत्व गरिरहेका दुई ठूला दल कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ ।  यहाँ एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी छन् ।

पालिकाको २ नम्बर वडाध्यक्षमा एमालेका उमेदवार दिइएको थियो । कांग्रेसले उमेदवार उठाएको थिएन । एमालेका उमेदवार जीवन रोकाले उमेदवारी फिर्ता लिँदा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । .०७४ र ०७९ को निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो ।

माओवादीको चुनौती दिन तालमेल गरिएको नेताहरूको भनाइ छ । तर, एमालेको केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्य गठबन्धन गर्ने पार्टीको नीति रहेको बताउँछन् । स्थानीय कमिटीहरूले के आधारमा त्यस्तो निर्णयमा पुगे भन्ने जानकारी माग गरिएको आचार्यले बताए । 

“तालमेल वा गठबन्धन गर्ने हाम्रो पार्टीको नीति छैन । तालमेलका लागि निर्देशन दिइएको पनि होइन । निर्णय गरेर टिकट पठाएका हौं,” उनी भन्छन्, “किन त्यस्तो निर्णय गर्नुभयो भनी जानकारी माग गरिएको छ ।”

स्थानीय कमिटीले गरेको के हो भनी जिल्ला अध्यक्ष र इन्चार्जलाई सोधिएको आचार्यले बताए । त्यस्तै, दुई ठाउँमा हुने जिल्ला समन्वय समिति (जिसस) प्रमुख पदमा पनि साझेदारी नै भएको छ । 

ओखलढुंगाको जिसस प्रमुखमा एक मात्रै उमेदवारी परेपछि कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भए । एमालेले विज्ञप्ति जारी गरेर समर्थन गर्‍यो । 

कैलालीको जिसस प्रमुखमा पनि एमालेले उमेदवार बनाएन । कांग्रेसले टिकाकुमारी चौधरी (भुल)लाई निर्विरोध निर्वाचित भएकी छन् । एमाले निर्वाचन विभाग प्रमुख आचार्यले कांग्रेसको संख्या बढी भएकाले सत्ता साझेदार दलको हिसाबले जिसस प्रमुखमा सहयोग गरेको बताए । 

माओवादी पनि गठबन्धनमै

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारबाट बाहिरिएपछि भनिरहेका छन्, हाम्रो ध्यान पार्टी बनाउने केन्द्रित छ । माओवादीले निर्वाचनमा एक्लै लड्ने अर्थात् कसैको साहरा नलिने निचोडमा पुगेको थियो । तर, माओवादी आफ्नो निर्णयमा अडिग रहन सकेन । 

काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरमा उसले प्रा.शिवशरण महर्जनलाई साझा उमेदवार बनाएको छ ।  माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको हो । मेयरमा समर्थन गरेवापत् माओवादीले एकीकृत समाजवादीलाई काठमाडौं वडा नम्बर १६ को वडाअध्यक्षमा पदमा सघाउनेछ । 

एकीकृत समाजवादीको तर्फबाट मीनबहादुर मानन्धर उमेदवार बनेका छन् ।  त्यस्तै, माओवादीले कीर्तिपुर वडा नम्बर १ को वडा अध्यक्षको जसपालाई छाडेको छ । जसपाका सरल गोपाल महर्जन माओवादीको चुनाव चिह्नबाट उमेदवार बनेका छन् ।

त्यस्तै, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीले एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको छ ।

एकीकृृत समाजवादीकी उमेदवार सुनिता बुढामगरले उमेदवारी फिर्ता लिएकी छन् । उनले माओवादीकी उमेदवार नरपुरा बुढालाई सघाउने सहमति भएको छ । 

नरपुरा दुर्घटनामा परी दिवंगत भएकी उपाध्यक्ष बुढाकी दिदी हुन् । माओवादीले अन्य केही ठाउँमा पनि तालमेल गरेको छ ।  उसले आफ्ना उमेदवार फिर्ता लिएर एकीकृत समाजवादीलाई उमेदवार बनाएको छ । सम्भव भएका ठाउँमा गठबन्धनबाहेकका दलहरूसँग स्थानीय आधारमा सहकार्य गरिएको माओवादीका सचिव दीनानाथ शर्माले जानकारी दिए ।

“केन्द्रीय निर्णयबाट गठबन्धन भएको होइन । सत्ता गठबन्धनबाहेक अरुसँग स्थानीयस्तरमा मिल्ने ठाउँमा तालमेलको नीति लिएका हौं,” शर्मा भन्छन् । 

स्वतन्त्रको खोजीमा रास्वपा

संसद्को चौथो, ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७ ठाउँमा मात्रै उमेदवारी दियो । ०७९ को स्थानीय तह निर्वाचनमा रास्वपाको जन्म नै भएको थिएन । प्रतिनिधिसभाको निर्वाचनबाट उदाएको रास्वपाले यसपटक शक्ति परिक्षणको तयारी गरेको थियो । तर, सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडकमा उत्रियो ।

स्थानीय तहको उपनिर्वाचनमा जाने कि नजाने अलमलमा देखियो । महत्वपूर्ण मानिएिको कीर्तिपुर नगरपालिकाको मेयर पदमा उसले उमेदवारी दिन सकेन । 

उमेदवारी नदिएका ठाउँमा कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगिसकेको छैन । पार्टीले उमेदवारी नदिएको ठाउँमा सम्भव भएसम्म स्वतन्त्र उमेदवारी दिएकालाई सघाउने तयारीमा देखिएको छ ।

पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको उपनिर्वाचन समितिलाई स्वतन्त्र उमेदवहरूबारे अध्ययन गर्न निर्देशन दिइएको बताए । 

“हामीले उमेदवारी नदिएको स्थानमा गैरदलीय, स्वतन्त्र राम्रा उमेदवार समर्थन गर्ने कार्यदेश छ । पार्टीको पुरानै म्यान्डेटअनुसार उपनिर्वाचन संयोजन समितिलाई छिटो अध्ययन गरेर सुझाव प्रस्तुत गर्न अनौपचारिक निर्देशन दिएका छौं,” उनले भने । 

उनले स्वतन्त्र धेरै भएका कीर्तिपुरको मेयर पदमा बुझेर राम्रो उमेदवारलाई सघाउने तयारी भएको बताए । सम्भव भएसम्म स्वतन्त्र उमेदवारलाई सघाउने पार्टीको नीति रहेको उनको भनाइ छ । 

निर्वाचन आयोगका अनुसार, उपनिर्वाचन हुने पदमा उमेदवारी दिएका ३१ जनाले उमेदवारी फिर्ता लिएका छन् । जिससप्रमुखसहित ३ पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । मंसिर १६ गते हुने ४१ पदको उपनिर्वाचनका लागि ३७६ जनाको नाम अन्तिम नामावलीमा समावेश भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro