काठमाडौं । भारतले पिक टाइम बाहेकको समयमा नेपालमा विद्युत् निर्यातको अनुमति दिएको छ । भारतले यो अनुमति दिएसँगै नेपाललाई बिजुली ल्याउने बाटो खुलेको छ ।
बेलुका ५ देखि ९ बजेसम्म कटौती गर्दै २० घण्टा बिजुली नेपालले किन्न पाउने अनुमति दिएको हो । सुख्खायामसँगै नदी प्रवाही (रनअफ रिभर) आयोजना रहेको नेपालमा भारतीय बिजुलीले माग धान्न पर्ने हुन्छ ।
भारतले नोभेम्बर १९ देखि मार्च १५ सम्म दिनको २० घण्टा लागि ६५४ मेगावाट विद्युत् नेपाल निर्यातको स्वीकृति दिएको हो । बेलुका ५ देखि ९ बजेसम्मको लागि भने निर्यातको अनुमति दिएको छैन ।
“नोभेम्बर १९ देखि मार्च १५ सम्मको लागि दैनिक २० घण्टा आयात गर्न पाउने स्वीकृति पाएका छौं,” नेपाल विद्युत् प्राधिकरण अन्र्तगत व्यापार विभागका निर्देशक राजन ढकालले भने, “मार्च १५ पछि सोलार आवर (घाम लाग्ने समय) का लागि मात्रै अनुमति प्राप्त भएको छ ।”
नेपालमा उच्च बिजुली खपत हुने समय बेलुका ५ देखि ९ बजेसम्म हो । तर, मुख्य समयमै अनुमति नपाएपछि माग व्यवस्थापन कसरी गर्ने भन्नेमा प्राधिकरण नेतृत्व चिन्तामा छ । “यसवर्ष तामाकोसी नभएको कारण कसरी व्यवस्थापन गर्ने केही समस्या हुन सक्छ,” ढकालले भने ।
नदी प्रवाही आयोजनाहरुका कारण विद्युत् उत्पादनमा कमी, माथिल्लो तामाकोसी आयोजनामा क्षति हुँदा तथा उच्च माग हुने समयमा भारतले विद्युत् निर्यात कटौती गर्दा प्राधिकरणलाई समस्या हुने देखिन्छ ।
गतवर्ष जडित क्षमता तीन हजार पुग्दा उत्पादन एक हजार मेगावाटको हाराहारीमा झरेको थियो ।
जलाशययुक्त आयोजना नहुँदा हिँउदयाममा नेपालको ऊर्जा क्षेत्र भारतमा निर्भर हुने गर्छ ।
प्राधिकरणले अघिल्ला वर्षहरुमा ब्याकअपका रुपमा राख्ने गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना समेत यसवर्षको बाढीले समस्या बनाएको छ ।
असोज ११ देखि माथिल्लो तामाकोसी बन्द छ । आयोजनाको क्षति करिब २ अर्ब रुपैयाँ पुगेको र बन्न नै ७–८ महिनाको समय लाग्ने भएसँगै आयोजना आंशिक सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।
तामाकोसी आयोजना तत्काल नबन्ने भएपछि यसवर्षको हिउँदयाममा भारतबाट गतवर्षको भन्दा बढी बिजुली आयात गर्नुपर्ने अवस्था हुन्छ ।
बाढीले क्षति पुर्याएको माथिल्लो तामाकासी आयोजनाकोे प्रारम्भिक अध्ययनअनुसार करिब २ अर्ब बराबरको क्षति पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतम बताउँछन् ।
प्राधिकरणले यसअघिको हिउँदमा दिउँसो पानी जम्मा गर्ने र उच्चमाग हुने समयमा सञ्चालन गरेर माग पूर्ति गर्दे आएको थियो । माथिल्लो तामाकोसी ४ देखि ६ घण्टालाई पुग्ने पिकिङ जलाशय आयोजना समेत हो ।
पानी जम्मा गरेर उच्च मागको समयमा ४५६ मेगावाट नै उत्पादन गर्ने गरेको छ । यस्तै १११ मेगावाटको रसुवागढी तथा १०२ मेगावाटको मध्य भोटेकोसी आयोजना पनि प्रणालीमा आउने तयारीमा छन् । यी दुवै नदी प्रवाही आयोजना हुन् ।
यस्तै मार्च १५ देखि सोलार आवरमा मात्रै बिजुली दिँदा पनि नेपालमा माग व्यवस्थापन कसरी गर्ने भन्नेमा प्राधिकरणलाई समस्या हुने देखिन्छ । नेपालले वर्षायाममा भारत निर्यात गर्ने र हिउँदमा आयात गरेर बिजुली व्यवस्थापन गरिरहेको छ ।
भारतले नेपाललाई आफ्नो बजारमा ९५१ मेगावाट बिक्री अनुमति दिएको छ । भारतले भदौ तीन गते प्राधिकरणलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने अनुमति दिएको थियो । सो अघि ६९० मेगावाट बिजुली बिक्रीको अनुमति दिएको थियो ।
भारतले दिएको अनुमतिमा थप १० प्रतिशत बिजुली निर्यात गर्न मिल्छ ।
जसअनुसार प्राधिकरणले भारतीय बजारमा १०३५ मेगावाटसम्म बिजुली भारतीय बजारमा बिक्री गर्न सक्नेछ । तर, यसवर्ष बाढीले आयोजनाहरुमा क्षति पुर्याएपछि अनुमति पाएको क्षमतामा पनि निर्यात हुन नसकेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले ३६० मेगावाट मध्यकालिन सम्झौता भारतीय बजारमा बिक्रीको अनुमति पाएको छ भने ५८१ मेगावाट भारतीय ऊर्जा खरिद बिक्री बजार (आईईएक्स) मा बिक्रीको अनुमति पाएको छ ।
प्राधिकरणले पहिलोपटक २०७८ कात्तिकमा ३९ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको थियो । उक्त अनुमतिपछि वर्षायाममा निरन्तर बिजुली बिक्री गर्दै आएको छ । गत आर्थिक वर्षमा बिजुली नै बेचेर खुद निर्यातकर्ता बनिसकेको छ । गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।