site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगी प्रकरण– रविजस्तै कति छन् थुनामा ?

काठमाडौं । एक महिनादेखि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीसमेत प्रहरीको हिरासतमा छन् ।

उनीहरुमाथि ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले सञ्चालनमा ल्याएका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र पर्साको सानोपाइला सहकारीको रकम अपचलन गरेको आरोप छ ।

उनीहरुले सहकारीको रकम गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत अपचलन गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । रवि ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक तथा सेयर होल्डर तथा जोशी सञ्चालक हुन् । 

तर, राष्ट्रिय स्वतन्त्र पार्टीले भने रविको पक्राउलाई सरकारको प्रतिशोध भनेर व्याख्या गरिरकेको छ ।  कात्तिक २ गते पक्राउ परेका रविको पक्षमा रास्वपा आन्दोलित छ । रास्वपाले पोखरादेखि रविलाई जुन–जुन ठाउँ अनुसन्धान गर्न प्रहरीले पु¥याएको छ त्यही ठाउँमा प्रदर्शन गर्दै आएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणबाट अनुसन्धान थालिएका लामिछाने र जोशीलाई बुटलबको सुप्रिम सहकारीको रकम अपचनबारेसमेत अनुसन्धान भएको थियो । उनीहरु दुबै जनालाई पोखराबाट रुपन्देही पठाएर बयान गराइएको थियो । 

मंगलबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगीबारे अनुसन्धान गर्न जोशीलाई पोखराबाट काठमाडौं ल्याइएको छ । उनी असोज ६ गते नै पक्राउ परेका हुन् । जोशीको बयान सकिएसँगै रविलाईसमेत काठमाडौं ल्याउने तयारी प्रहरीको छ ।

उनीहरु दुवैविरुद्ध पक्राउ पुर्जी नै जारी गरिएको छ । सहकारी ठगी प्रकरणमा रवि र छविमात्रै पक्राउ परेका भने होइनन्, तर उनीहरुको चर्चा भने अन्य पक्राउ परेकाको भन्दा बढी देखिन्छ ।

तीन वर्षअघि नै सिभिल सहकारी ठगी प्रकरणमा प्रहरीले सिभिल बैंकका पूर्वअध्यक्ष तथा एमालेबाट सविधानसभा सदस्य भएका इच्छाराज तामाङलाई पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७८ असोजमा तामाङलाई पक्राउ गरेको हो ।

हालसमेत उनी पुर्पक्षका निम्ति थुनामै छन् । सिभिल सहकारीका बचतकर्ताको पाँच अर्ब ८४ करोड ४१ लाख २१ हजार ७१२ रुपैयाँ अपचलन गरेको खुलेको थियो ।  इच्छाराजबाहेक सीआईबीले २०७८ मै भरोसा सहकारी र प्रज्ञान सहकारीका सञ्चालकहरुलाई समेत पक्राउ गरेको थियो ।

दुवै सहकारीका पाँचजना सञ्चालकसमेत हाल पुर्पक्षका लागि थुनामै छन् । 

उनीहरुबाहेक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–२०७९ मै उपत्यकाका १६ सहकारीका ३३ जनालाई पक्राउ गरेको थियो ।

उपत्यकाबाहेक कोसीका चार सहकारीको चारजना सञ्चालक, मधेसमा चार सहकारीका दुईजना सञ्चालक, वाग्मतीका दुई सहकारीका तीनजना सञ्चालक र गण्डकी प्रदेशको गोर्खास्थित आरम्भ सहकारीको रकम अपचल गरेको भन्दै प्रहरीले सञ्चालकलाई पक्राउ गरेको थियो ।

अहिलेसम्म कति परे पक्राउ ?

२०८० असारमा शिव शिखर सहकारीका सञ्चालक केदार शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।  शर्मालाई समेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतको मुम्बैबाट पक्राउ गरेको थियो ।  शिवशिखर सहकारीले ललितपुर र भक्तपुरमा कार्यालय राखेर बचतकर्ताको ६ अर्ब रुपैयाँ ठगी गरेको आरोप छ ।

हाल उनी पनि पुर्पक्षका निम्ति थुनामै छन् । आर्थिक वर्ष २०७९–२०८०मा सीआईबीले मात्रै पाँचवटा सहकारीका १६ जना सञ्चालकलाई पक्राउ गरेको थियो ।  त्यसबाहेक यस आर्थिक वर्षमा उपत्यकाबाट मात्रै प्रहरीले ३३ सहकारी ठगी प्रकरणमा ४७ जनालाई पक्राउ गरेको थियो ।

यसरी नै विभिन्न प्रदेशबाट थप १६६ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१ मा सीआईबीले विभिन्न सहकारीका २२ जना उपत्यकाबाट ७० जना र विभिन्न प्रदेशबाट थप २०७ जनालाई पक्राउ गरेको थियो ।

चालु आर्थिक वर्षसम्म सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने क्रम जारी नै छ ।  यो आर्थिक वर्ष देशभर २१ जना पक्राउ परको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ । पछिल्लो तीन आर्थिक वर्षमा ३२० मा जना पक्राउ परेका थिए ।

अदालती प्रक्रियापछि केही भने धरौटीमा रिहा भएका छन् । 

सहकारी सम्बन्धि संसदीय छानबिन विशेष समितिले तयार पारेको ‘विशेष छानबिन प्रतिवेदन, २०८१’ ले भने दशवर्षमा २५८ सहकारीको रकम दुरुपयोग भएको र ६६९ जना पक्राउ परेको उल्लेख छ । प्रतिवेदनमा एक हजार ५ सय ४० जना फरार रहेको तथ्यांक उल्लेख छ ।

प्रतिवेदनमा लाखौं बचतकर्ताको सहकारीमा रहेको ८७ अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयोग तथा हिनामिना भएको उल्लेख गरेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro