काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्वपूर्वडीआईजी छविलाल जोशीसँग आज काठमाडौंमा बयान लिइएको छ ।
मंसिर ४ गते कास्कीबाट काठमाडौं ल्याइएका जोशीसँग आज दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । जोशीसँग बयान लिने कार्य आज सकिएको उनले बताए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौंमा पनि जाहेरी परेपछि बयान लिन ल्याइएको हो । जोशीसँगै उक्त सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
अब लामिछानेलाई पनि बयानका लागि ल्याइने जनाइएको छ । सोही प्रकरणमा अर्का आरोपित कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा पठाइसकिएको छ । यसअघि रूपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रूपन्देही लगेर लामिछाने र जोशीलाई बयान लिइसकिएको छ ।
गत आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त सहकारीको रकम अपचलनमा ६०० भन्दा बढी पीडितले जाहेरी दिएका छन् । रासस