कम्युनिस्ट नेताहरू ‘दलाल पुँजीवाद’को विरोध बढी नै गर्छन् । उनीहरूका भनाइ पत्याउने हो भने देशको अर्थतन्त्र, समाज, संस्कृति, राजनीति सबैतिर देखिएको समस्याको जड नै ‘दलाल पुँजीवाद’ हो । परन्तु, ‘दलाल पुँजीवाद’ भनेको यथार्थमा के हो भन्ने स्पष्ट भने पार्दैनन् । ‘दलाल पुँजीवाद’ र कम्युनिस्ट पार्टीहरूको सम्बन्ध कस्तो हुन्छ भन्ने पनि जनताले थाहा पाउन सकेका छैनन् । यद्यपि, दलाल शब्दको अर्थ किन्ने र बेच्नेका बीचमा कुरा मिलाएर नाफा खाने व्यक्ति हुन्छ । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एक जना नेता र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले भने नेताहरू पुँजीपतिको दलाली कसरी गर्दा रहेछन् भन्ने छर्लंग बनाइदिएका छन् । सिमेन्ट उद्यमीहरूको एउटा कार्यक्रममा बोल्दै मन्त्रीले उद्योगपतिहरूबाट चन्दा दिएकाले छड, सिमेन्टको भाउँ बढाउँदा विरोध गर्न नसकेको सकारेका छन् ।
बाहिर जति नै चर्का नारा लगाए पनि अहिले राजनीति गर्नेहरू व्यवसायीहरूकै चन्दाबाट पालिएका छन् । महँगो चुनावको खर्च पनि तिनै व्यवसायीको चन्दाबाट धान्नपर्छ । विलासी जीवन बिताउन लाग्ने खर्च पनि तिनै व्यापारी, ठेकेदार, उद्यमीलगायतले बेहोर्ने हुन् । यसैले ठेकेदारले सञ्चालन खर्च लिएपछि निर्माणको अरू काममा ध्यान दिँदैन । ‘कामचोर’ ठेकेदारलाई कारबाही गर्ने कानुन त छ तर कानुन कार्यान्वयन गर्नेहरूले सत्तारुढ दलका कृपापात्र ठेकेदारतिर कर्के आँखाले हेर्ने आँट पनि गर्दैनन् । नेताको चुनावमा लगानी गरेका उद्योगी व्यापारीले मूल्य बढाउन् कि गुणस्तर घटाउन् कानुनले छुन पनि सक्तैन । चुनावमा नेतालाई बुझाएको थैली उठाउने त आखिर राज्यकै सम्पत्तिबाट न हो । इन्भर्टर व्यापारीले लोडसेडिङ बढाएजस्तै ट्यांकर व्यवसायीले मेलम्ची नै अलमल्याइदिन्छन् । लाग्छ, सरकार यिनैको कठपुतली हो ।
चन्दा दिने रड सिमेन्ट व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरी वस्तुको मूल्य बढाउँदा मन्त्री बोल्न सकेनछन् । भाउ बढेकोमा बोल्न नसक्ने उनीमात्र हैनन् । बरु, के कारणले बोेल्न नसकेको हो भनेर साबिती वयान दिने भने सायद उनीमात्रै हुन् । यो साबिती वयान दिएर मन्त्री धन्यवादका पात्र भएका छन् । चुनावमा व्यवसायीको चन्दाको भूमिका र राजनीतिक नेताहरूमाथि त्यही चन्दाका कारण पर्ने गरेको व्यवसायीको प्रभावप्रति गम्भीर विमर्श नगर्ने हो भने लोकतन्त्र पुँजीपतिका दलालको ढोके बन्न पुग्छ । नेताको निष्ठा किन्नेहरू इमानदार व्यवसायी त पक्कै हैनन् । राजनीतिकर्मीहरूले विलासी जीवन शैली नबदल्ने हो भने व्यवसायीको ‘पापको कमाइ’मा पालिनु पर्नेछ । यसैले ‘दलाल पुँजीवाद’लाई सराप्ने हो भने पुँजीपतिको ‘दलाल’ बन्न तत्काल छाड्नुपर्छ । जनताको ढाड सेक्ने पुँजीपतिको दलाल हुनुभन्दा त बरु दलाल पुँजीवाद’ले जनताको अहित नगर्ला ।