site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले जब गृहमन्त्रीलाई नै अपहरण शैलीमा डोटीको माओवादी क्याम्पमा पुर्‍याए...

द्वन्द्वकालीन समयमा म केही ठाउँ घुमे पार्टीका कार्यक्रमहरूमार्फत । त्यसबेला दुईवटा घटनाले हामीलाई साहै्र सताएको थियो । 

सशस्त्र द्वन्द्वमा दुईवटा पक्षबीच आपसमा मारामार हुने युद्धको कुरा भयो । त्यसबीचमा नागरिक मारिइरहेका थिए । त्यसले सबभन्दा ठूलो पीडा थियो ।  

राज्यको उपस्थिति गाउँमा शून्य थियो । खालि प्रशासनिक उपस्थिति मात्र थियो । प्रायः सबै प्रहरीहरू सबै सदरमुकाम आएर काँडेतारले घेरिएर बसेको अवस्था थियो । सेना–प्रहरी पनि बडो होसियारीपूर्वक मात्र गाउँमा पुगिरहेका थिए । 

Dabur Nepal
NIC Asia

जब युद्ध हुन्छ, मारमा जनता परिरहेका थिए । किनभने युद्ध कहाँ छ त भन्दा जनताकै बीचमा भइरहेको थियो । गोली पड्किँदा बीचमा रहेका जनता मरिरहेका थिए ।

त्यसक्रममा माओवादीले सुराकीका नाममा निहत्था मानिसहरूको हत्या गर्ने, बेपत्ता पार्ने र दुःख दिने गरिरहेको थियो । माओवादीको शंकामा सुराकीको नाममा एउटा निर्दोष घेराबन्दीमा पर्थे । 

अनि माओवादीहरू गाउँमा आए, कसैको घरमा बसेर खाना खाए कहीँ उनीहरूले सेल्टर बनाएर बसे एक–दुई रात बसे । राज्यको नजरमा यही रहेछ माओवादीको सहयोगी भन्ने पर्थ्यो । 

माओवादीले सुराकी भनी समातेर लगेका मान्छे फिर्दैनथ्योे । अझै पनि फिरेनन् । राज्यले पनि माओवादी भनी लगेको त्यो मान्छे पनि फिरेन । कहीँ कहीँ लास फेला पर्‍यो, कहीँ कहीँ फेलै परेन, बेपत्ता भयो मान्छे । 

कहीँ बेपत्ता परियो ? मारिए कहीँ लुकाइयो शव ! अथवा के हो ? दुई बन्दुकको बीचमा त्रासमा परेर, पक्राउमा परेर बेपत्ता भएका मानिसहरूको अथवा मारिएका मानिसहरूको र त्यसका परिवारहरूको आजको दिन पनि कहालीलाग्दो परिस्थिति थियो । 

त्यसलाई न्याय दिनेछौं भनी हामीले विस्तृत शान्ति सम्झौतामा प्रष्टताका साथ सात राजनीतिक दलको तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका तर्फबाट प्रचण्डजीले हस्ताक्षर गर्नुभएको छ । यो दुवै पक्षमा अत्यन्त ठूलो पीडादायिक अवस्था छ ।

दोस्रो सशस्त्र सशस्त्र द्वन्द्व, जनयुद्ध, जे भन्नुस् त्यसका पनि निश्चित ‘नर्मस’हरू हुन्छन् । युद्धमा पनि पक्राउ परिसकेपछि मारिनु हुन्न । युद्धका पनि नियम छ नि त । त्यो नियम उल्लंघन गर्नेलाई (चाहे सेनाले गरोस्, चाहे प्रहरीले गरोस्, चाहे माओवादीले गरोस्) हामी कारबाही गर्छौं है भनेका छौँ ।

माओवादीका नजरमा पक्रेर लगेकालाई सुरक्षा निकायले मारिदियो । प्रहरीले हिरासतमा राख्यो, कुटेरै मारिदियो । माओवादीको एकातिर गुनासोे थियो भने त्यसैगरी राज्यका तर्फबाट सेना पुलिसको अर्को गुनासो ।

दईवटा बन्दुकको बीचमा परेका मानिसले पाउने न्याय र स्वयम् युद्धमा कार्यरत व्यक्तिहरूबाट युद्धको नियमभन्दा पर गएर भएका घटनाहरूमा पाउने न्याय । यी दुवै पक्षहरूका न्याय दिन्छौँ भनी हामीले शान्ति सम्झौतामा भन्यौ ।

विस्तृत शान्ति सम्झौतामा भएका सहमति भनेको ती पार्टीहरूका बीचमा मात्रै भएको सहमति होइन, आमनेपाली जनतासँग हामीले गरेको प्रतिवद्धता हो । त्यो प्रतिवद्धतालाई हामीले पूरा गर्नैपर्छ । शान्ति सम्झौता भएको १८ वर्ष भयो, पूरा भएन अझैसम्म पनि ।
 
अब त्यसबेला अमानवीय तरिकाले बनाइएका घाइते, दुईवटा बन्दुकको बीचमा परेको घाइते कतिको त मृत्यु भइसक्यो होला । कस्तो न्याय पाउने होला त्यसले ? ०६० सालमा ७० वर्षको मान्छे दुईवटा बन्दुकको बीचमा घायल भएको थियो भने त्यसको त मृत्यु भइसक्यो होला । तिनको परिवारलाई मात्रै संबोधन गर्ने कुरा होला ।
 
बेपत्ता भएको मान्छे जो मारिएको भन्ने होला त्यसको पनि परिवारलाई मात्र सम्बोधन गर्नुपर्ने होला । त्यो त फिरेर त आउँदैन ।  त्यसकारण यो गम्भीर काम नेपालले पूरा गर्न बाँकी छ । जुन काम हामीले पूरा गर्न सकेका छैनाँै । यो अत्यन्त ‘सिरियस’ काम हो । यसमा जति ढिलो भयो यसका अनेक हाँगाहरू पलाउँदै आउने हुन् । जति ढिलो त्यति परस्परमा अविश्वास बढ्दै जाने कुरा हुन् ।

ठ्याक्कै आज म बोल्दै गर्दा त्यसबेला सात राजनीतिक दल र माओवादीका बीचमा जुनस्तरको विश्वासस्तर थियो, त्यो स्तरको विश्वास छैन । त्यसबेलाको परस्परको विश्वास यतिखेर संकटमा छ । यो यथार्थ चित्रण हो, आजका दिनमा । 

सात दलका तर्फबाट मूलभूत रूपमा कांग्रेस र एमाले छन् जो सत्तामा छन् । माअ‍ोवादी टुटफूटले धेरै समूहमा विभक्त छ । त्यसको मूल पार्टीको रूपमा माओवादी केन्द्र नै छ, जसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डजीले गरिरहनुभएको छ । उहाँका पार्टनरहरू छिन्नभिन्न हुँदै अन्य पार्टी गठन गरेर गइराख्नुभएको छ । उदाहरणका लागि बाबुराम भट्टराई अलग पार्टीको नेतृत्वमा हुनुहुन्छ । 

सात राजनीतिक दलको नेतृत्व यसबेला कांग्रेस–एमालेसँगै छ र माओवादीको नेतृत्व प्रचण्डजीसँगै छ । तर यी पार्टीहरूबीचको परस्परको विश्वास कुन स्तरमा छ भनेर मलाई भन्नुहुन्छ भने, विश्वासको संकट छ । एकले अर्कोलाई प्रयोग गर्ने स्तरमा छ । एकले अर्कोलाई प्रयोग गर्ने र ठोक्ने खालको अवस्था छ । यसलाई समाधान गर्न सक्नुभएन भने त्यसले शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोग गर्दैन । 

त्यसबेला सरकारी वार्ता टोलीको संयोजक म थिएँ । सदस्यहरू प्रदीप ज्ञवालीजी र रमेश लेखकजी हुनुहुन्थ्यो । जनार्दन शर्माजी यहीँ हुनुहुन्छ । त्यसबेला कस्तो संकट थियो भन्ने एउटा मात्र घटना म यहाँ भन्छु । 

प्रचण्डजी, बाबुरामजीलाई ल्याइयो सिकलेसबाट पोखरा हुँदै । प्रचण्डजीको अनुहार हेर्न पाइएन, कस्तो हो प्रचण्ड भन्ने थियो । किनभने अनेक थियो, कथा त्यसबेलाका माओवादी र प्रचण्डका ।

गृहमन्त्री पनि भएको नाताले मलाई कस्तो कठिन परिस्थिति थियो त्यसबेला भने, उहाँहरू लडेको त सेना, प्रहरीसँगै हो । सेनासँग, प्रहरीसँग, सहस्त्र प्रहरीसँग, त्यसबेलाको ‘व्युरोक्रेटिक सेटअप’सँग ।  त्यसबेला लडेको मान्छेहरूले उहाँको सुरक्षामा दखल पारिदिए भने के होला भन्ने बडो चिन्ता थियो । म आफैँ पनि ‘एग्रेसिभ’ थिएँ । गृहमन्त्री छु सुरक्षा दिन सकिन्छ कि सकिँदैन भन्ने थियो । 

मैले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग के भनेँ भने, ‘यो सेना र प्रहरीबाट सुरक्षा दिने कुरामा विश्वास गर्न गाह्रो भयो ।’ 

प्रचण्डजीलाई नै रोज्न लगाएर तपाईं केही निश्चित मान्छे आफ्नै राख्नुस् ।  उहाँहरू हेडक्वाटर भन्नुहुन्थ्यो, बाबुरामजी र उहाँ सँगै बस्नुहुन्थ्यो ।  मलाई याद छ भान्सा एउटै थियो, क्यार उहाँहरूको । उहाँहरूले भित्री सेल आफ्नै राखेर बाहिरी सेलमा हामीले सशस्त्रका प्रहरी अफिसरसहित दियौँ ।

पोखराबाट आउँदा एउटा वचन दिएको थिएँ मैले गृहमन्त्रीको हैसियतले ।

समझदारी भएन, सात राजनीतिक दलसँग सहमति हुन सकेन भने तपाईंले भनेको ठाउँमा पुर्‍याउने मेरो दायित्व हुन्छ । जहाँ भन्नुहुन्छ, त्यहीँ पुर्‍याउने यत्ति हो कुरा । किनभने समझदारी नै हुन्छ भन्ने केही ग्यारेन्टी त छैन । 

तर, कहाँ पुर्‍याउने हो ? त्यो पनि भन्नुहुन्न । त्यसबेला हालत पत्ला थियो । हेलिकोप्टरमा जाने मात्र भन्नुहुन्छ, कहाँ जाने भन्नु हुन्न । खाली पश्चिमतिर भन्नुभो । ल हुन्छ भनेँ !

उहाँहरू भन्नुहुन्छ– ‘तपाईंहरूले सुरक्षा गार्ड ल्याउनु हुन्न ।’ सिकलेस जाँदा पनि बिना गार्ड गएको छु । पोखरा जाँदा पनि बिना गार्ड गएको छुु । डोटीको बीपीनगर भन्ने ठाउँमा जंगलमा पु¥याइयो । नाम चाहिँ बीपी नगर, क्याम्प चाहिँ उहाँहरूको । 

मलाई कत्रो संकट भने त्यही दिन हाम्रा प्रधानमन्त्री गिरिजाबाबु बिरामी भएको हुँदा बैंकक जाँदै हुनुहुन्थ्यो । निक्कै बिरामी पर्नुभयो गिरिजाबाबुु । तपाईं आज बंैकक जाने म बिदा गर्न आउँछु एयरपोर्टमा भनेँ । उहाँले होइन तपाईं जानुस् भन्नुभयो । 

के सोच्नुभयो, आफ्नै सोचाई, धेरै लामो अनुभव, ००७ साल क्रान्तिदेखि अनेक भोगेको मान्छे ।

अनि म हेलिकोप्टर चढेर पु¥याउन गएँ । कहाँ जानेभन्दा प्रचण्डजीले सुर्खेत हुँदै उता जाने हो भन्नुभयो । कहाँसम्म जाने भन्छु, टाढा डोटी भन्नुहुन्छ । पाइलटले भने, ‘यही फ्युलले त पुग्दैन ।’

सुर्खेतमा रिफ्युल गर्ने कुरा चढेपछि भन्नुभयो । सुर्खेतमा रिफ्युल गरेर बीपीनगर पुगियो । त्यहाँ एउटा बाबाजीजस्तो मान्छे लामो दारी भएको पूरा कम्व्याट ड्रेसमा सलाम गर्न आयो । 

के–के साधुहरूलाई पनि राखेको रहेछ, माओवादीले भन्ने भयो मलाई त्यसबेला । उहाँ आउनुभयो, चिया खान जाउँ भन्नुभयो । चिनेको थिएन, जनार्दन शर्माजी हुनुहुँदो रहेछ ।

म अझै पनि सम्झन्छु, सारा मेरा पार्टीका साथीहरूले मलाई यस्तो गलत नजरले हेरिदिनुभयो, भनिसाध्य छैन । 

उहाँहरूको नजरमा मानिलिउँ म प्रचण्डजीकै लडाकुजस्तो भएँ । हुँदा हुँदा एमालेका सिनियर नेता रघुजी पन्तले सदनमै बोलिदिनुभयो, ‘कृष्ण सिटौला यो देशको गृहमन्त्री हो कि माओवादीको प्रचण्डको सवारी मन्त्री हो ?’ 
यो त सानो एउटा प्रसंग मात्रै सम्झिएको यस्ता धेरै प्रसंगहरू भोग्यौँ हामीहरूले त्यसबेला । प्रदीपजीले आफ्नो पार्टीभित्र कति सहनुपर्‍यो होला, शान्ति सम्झौता हुने बेलामा । 

मैले यो प्रसंग मात्रै सम्झिएको । एउटा राजनीतिक उद्देश्य थियो । अर्को स्थायी शान्तिको कुरा थियो । 

राजा वीरेन्द्रको परिवारको वंश हत्या भइसकेपछि उनका भाइ ज्ञानेन्द्र राजा भए । राजपरिवार त सर्वनास भयो, सकियो । ज्ञानेन्द्रको परिवार मात्रै छ जीवित । ज्ञानेन्द्र राजा भए ।

उनले ०५९ असोज १८ मा जब उनले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई बर्खास्त गरे ।  हाम्रो पार्टी नेपाली कांग्रेस फुटेको थियो । हामी त नेपाली कांग्रेस थियौँ –गिरिजाबाबु सभापति ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) भनेर शेरबहादुरजीले अर्को पार्टी गठन गर्नुभयो । 

०५९ असोज १८ मा शेरबहादुरजीलाई बर्खास्त गरेर राजाले मनोनीत प्रथा सुरू गरिदिनुभयो ।  हामीले त्यसलाई प्रतिगमन भन्यौँ र प्रतिगमनविरुद्ध आन्दोलन सुरु गर्‍यौँ । राजा बाबु महेन्द्रकै बाटोमा ०१७ साल पुस १ गतेतिर पुग्ने भए भन्ने हाम्रो अनुमान थियो । 

ठ्याककै ०६१ माघ १९ मा उहाँ त्यही पुग्नुभयो । हामीले प्रतिगमन  भनेको कुरा सिद्ध भयो ।

राजा वीरेन्द्र बाँचेकै भए कस्तो इतिहासको रचना हुन्थ्यो, थाहा छैन । निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गर्ने एउटा घटना र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष हुँदै ज्ञानेन्द्र प्रधानमन्त्रीको कुर्सीमा बस्ने । 

अर्को घटना ०१७ साल पुस १ गते महेन्द्रले गरे जस्तै दृश्य भए, त्यसपछि देशका तमाम राजनीतिक दलहरू जो जनताका पक्षमा, जनहितका पक्षमा लामो संघर्षबाट आएका थिए । उनीहरू एक ठाउँमा उभिने परिस्थिति बनेकै हो ।
 
कसरी एक ठाउँ उभिने त, माओवादीसँग हतियार छ । हामी संसद्वादीका हातमा त केही छैन । त्यसपछि माओवादीले हतियार छाड्ने र शान्तिपूर्ण राजनीतिमा आउने हामी संविधानसभामा पुग्ने । यही समझदारी गरेर बाह्रबुँदे सहमतिमा पुग्यौं ।

हामीलाई त सजिलो थियो, हामीले ००७ सालमै संविधानसभाबाट संविधान बनाउने भनेका थियौँ ।  क्रान्तिकै क्रममा ००७ सालमै हामीले उठाएको कुरा थियो त्यो ।  बीपीको नेतृत्वमा निकै लामो समय संघर्ष भयो, सत्याग्रह भयो । तर संविधानसभा आउन सकेन ।

२०१५ सालमा राजा महेन्द्रले जारी गरेको संविधान हामीले मान्दा पनि राजालाई चित्त बुझेन । पहिलो निर्वाचित सरकार–संसद् भंग गरी वर्षमा नेताहरूलाई जेल हालियो । बीपी कोइरालालाई विनाकारण जेल हालियो ।

लोकतान्त्रिक पार्टी कांग्रेसमा प्रतिबन्ध लाग्यो, सारा कम्युनिष्ट पार्टी प्रतिबन्धमा परे ।  सारा राजनीतिज्ञ कि जेल जानुपर्ने कि भूमिगत हुनुपर्ने परिस्थित बन्यो । निर्वासनमा जानुपर्ने बाध्यता महेन्द्रले बनाए त्यसबेला ।

त्यही बाटोमा ज्ञानेन्द्र पुगिसकेपछि हामी हामी एउटा बोटोमा पुगेका हौं । 

माओवादी राजनीतिको मूलधारमा आउने हामी संविधानसभाबाट संविधान बनाउन तयार हुने सहमति बन्यो । त्यो मूलधार पनि आ–आफ्नै ढंगले व्याख्या गर्ने भन्ने समझदारी भयो ।  हामीले प्रजातन्त्र र माओवादीले लोकतन्त्र लेख्ने भनी पनि बहस भयो । त्यसरी भएको थियो बाह्रबुँदे समझदारी ।

(त्रिभुवन विश्वविद्यालय द्वन्द्व व्यवस्थापन, शान्ति र विकास अध्ययन विभागको कार्यक्रममा मंगलबार सिटौलाले दिएको मन्तव्यमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro