मंसिर २ गतेको साँझ वरिष्ठ अधिवक्ता श्यामकृष्ण खरेलजीले मलाई फोन गर्नुभयो । भन्नुभयो - म यहाँलाई आजको एउटा अत्यन्त दुःखद समाचार सुनाउँदैछु । दुःखद समाचार भन्ने बित्तिकै छाती ढुकढुक हुनु स्वाभाविक नै हो । तैपनि जसोतसो आँट गरेर सुन्न बल गरेँ ।
तत्क्षण कुनै परिचित कानुन व्यवसायीमाथि परेको कुनै दुर्घटना हुनुपर्छ भन्ने आशंका मेरो मनमा आयो । किनभने एक वरिष्ठ कानुन व्यवसायीले त्यसो भनिरहँदा कानुन व्यवसायीको सन्दर्भमा नै होला भन्ने ठान्नु स्वाभाविक थियो ।
श्यामजीले भन्नुभयो - ‘दमन दाइ आज बित्नुभयो ।’
त्यो समाचार सुनेर म केही बेरसम्म स्तब्ध भएँ । केही समयपछि मैले उहाँसँग प्रश्न राखे - ‘बितेको स्थान, समय र दमन दाइलाई के भएको थियो ?’ उहाँले पनि जानेसम्मका, थाहा पाएसम्मका जानकारी गराउनुभयो ।
त्यो दुःखद समाचार सुनेपछि म एकाएक स्तब्ध भएँ । मेरो मनमस्तिष्कले कतै तत्काल अनुमानसम्म पनि गर्न नसकेको त्यो अत्यन्त दुःखद समाचालाई मैले एकाएक अनुभूत गर्नुपरेको थियो । जुन मेरो निम्ति सहज थिएन ।
नेपाल बारको आकाशमा केही चम्किला ताराहरू मैले वकालत गर्दाका सन्दर्भमा देखेकी थिएँ । ती क्रमशः एकपछि अर्को गरी, टुटेर हराउँदै गएको मैले अनुभूति गरेँ ।
मैले २०३५ सालमा वकालत सुरु गर्दा वरिष्ठ अधिवक्ता स्वर्गीय कृष्णप्रसाद पन्त, स्व. वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली, स्व. वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी, स्व. वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, स्व. वरिष्ठ अधिवक्ता सिलु सिंह, स्व. वरिष्ठ अधिवक्ता मोतीकाजी स्थापित, स्व. वरिष्ठ अधिवक्ता वासुदेव शर्मा, स्व. वरिष्ठ अधिवक्ता गणेशराज शर्मा, स्व. वरिष्ठ अधिवक्ता सुवास नेवाङ्गलगायत केही वकालतका चर्चित हस्तीहरू हुनुहुन्थ्यो ।
चर्चित हस्तीमध्येका एक दमन दाइले पनि संसार छाडेर जानुभएको छ । ईश्वरको कृपाले पुराना वरिष्ठमध्येका चर्चित हस्ती कृष्णप्रसाद भण्डारीज्यूले शताब्दी पुरुषको स्थान पाउनु हुनेछ भन्नेमा विश्वस्त छौँ । वरिष्ठमध्येका अनुपराज शर्मा जो न्याय क्षेत्रमा उचाईँ लिँदै प्रधानन्यायाधीशसम्म हुनुभयो उहाँ पनि स्वाथ्यलाभ गरी नै रहनुभएको छ ।
दमन दाइसँग बराबर कर्यक्रमहरुमा भेट भइरहन्थ्यो । मेरो स्मरणमा रहेसम्म यो वर्ष २०८१ सालमा पनि विविध कार्यक्रमका सन्दर्भमा एक दुईपटक भेट गरेजस्तो लाग्छ । उहाँसँग भेट हुनासाथ मसँग उहाँको पहिलो प्रश्न हुन्थ्यो - ‘दुर्गाजीलाई कस्तो छ ?’
मैले वकालत सुरु गर्दा दमन दाइहरु चर्चित, प्रखर अनि प्रख्यात कानुन व्यवसायीका रूपमा स्थापित भई सक्नुभएको थियो । हामी उहाँहरू जस्तो सक्षम, जुझारु व्यक्तित्वको अनुकरण गर्ने प्रयासमा रहन्थ्यौँ ।
मेरो स्मरणमा दाइसँगका केही क्षणहरू छन् । जब २०४६ सालमा त्यतिबेला प्रतिबन्धित नेपाली कांग्रेसका नेता गणेशमान सिंह, महामन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (मार्क्सवादी)का नेता मनमोहन अधिकारीसहितका शीर्ष नेताहरूलाई विराटनगरमा एकै मञ्चबाट पक्राऊ गरिएको थियो । उहाँहरुलाई ‘श्री ५ प्रति घृणा द्वेष फैलाउँदै राज्यविरुद्ध अपराध’ गरेको गम्भीर अभियोग लगाएर मुद्दा चलाइएको थियो । विसं २०४६ मंसिर ३० गते पक्राउ गरी नजरबन्दमा राखी धरानको अञ्चल अदालतमा बयान गराइएको थियो ।
त्यसबखत धरान, विराटनगरका प्रजातन्त्रप्रति आस्था राख्ने हामी अधिकांश कानुन व्यवसायीले उहाँ नेताहरूको धरपकड र थुनामा राखी गरेको कारबाहीविरुद्ध बहस गरेका थियौँ । उक्त मुद्दाको बहसका लागि त्यही दिन काठमाडौंबाट विराटनगर हवाई अड्डामा उत्रेर धरान अञ्चल अदालतमा आउनुपर्ने थियो - दमन दाइ ।
उहाँ करिब पाँच बजेतिर मात्र धरान आइपुग्नुभयो । मुद्दाको वहस राति दस बजेसम्म निरन्तर चल्यो । त्यही रात उमेर र मुद्दाको प्रकृति हेरी सिंह र कोइरालालाई १५ सय र अधिकारीलाई ३ हजार रुपैयाँ धरौटीमा राति ११ बजेतिर छाड्ने आदेश भएको थियो ।
दमन दाइ कानुन व्यवसायीमात्र होइन नेपाली कांग्रेसको प्रखर र चर्चित नेता पनि हुनुहुन्थ्यो । उहाँ २०४८ सालमा प्रतिनिधि सभाको सभामुख हुनु भएको थियो । उहाँले सभामुख रहँदा निष्पक्ष भूमिका प्रदर्शन गरी पदीय आचरण र मर्यादाको साथ भूमिका अतुलनीयरूपमा निर्वाह गर्नुभएकामा दुईमत छैन ।
उहाँ मानव अधिकारवादी नेता हुनुहुन्थ्यो अनि सामाजिक अभियन्ता पनि । उहाँ लोकतन्त्रको प्रखर व्याख्याता पनि हुनुहुन्थ्यो । दमन दाइ बहुआयामिक व्यक्तित्वको धनी मात्र होइन निष्ठावान, इमानदार, मनमा छलकपट नभएका प्रष्ट वक्ता सरल जीवन रूचाउने नेता पनि हुनुहुन्थ्यो । उहाँले नेपालका दलहरू, दलका नेता, तिनका कर्यकर्तालाई सदैव आफ्ना उच्च विचारहरू सम्प्रेषण गर्नुभएकै हो । साथै नेपालको न्याय व्यवस्थामा सुधारका निम्ति उहाँले प्रशस्त सुझाव बारम्बार दिँदै आउनुभएको पनि हो ।
विसं २०७५ सालमा डाक्टर गोविन्द केसीको आमरण अनशनका बखत उहाँको अनशन तोड्ने बेलामा केही बुद्धिजीवीहरूसहित हामी एकपटक टिचिङ्ग अस्पतालमा भेला भएका थियौँ । त्यहाँ दमन दाइ पनि आउनुभयो । त्यहीबेला मेरा श्रीमान्का बारेमा मसँग सधैँ झैँ हालखबर सोध्नुभएको थियो ।
मैले उहाँसँग भने - ‘यहाँबाट नजिकै मेरो घर छ, दाइ हिँड्नुस्, जाऊँ तपाई पनि । तपाईँको अन्यन्य मित्र दुर्गा सुवेदीजीसँग पनि भेट गर्नुस् ।’
उहाँले सजिलैसँग मान्नुभयो र मेरो घर जानुभयो । दुई घन्टासम्म हाम्रो घरमा दुर्गा सुवेदीजीसँगै बसेर तत्कालीन राजनीतिबारे कुराकानी गरी फर्किनुभएको थियो ।
दमन दाइ र दुर्गाजीको सायद त्यो नै अन्तिम भेट हुनुपर्छ । दमन दाइसँग २०७५ सालको पुस महिनामा डा. गोविन्द केसीको १६ औं आमरण अनशनको सिलसिलामा इलाम गएको थिए । साथमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, डा. अविनाश, केदारभक्त माथेमा हुनुहुन्थ्यो ।
काठमाडौं विमानस्थलबाट झापामा उत्रेर इलाम जाने क्रममा बिहान आठ बजेदेखि भोलिपल्ट चार बजेसम्म करिव २१ घन्टा हामी सँगसँगै यात्रा गरेका थियौँ । त्यो दिन हाम्रो खाने र निदाउने सबै बिथोलिएको थियो ।
काठमाडौंबाट इलाम पुग्दासम्म दमन दाइले लोकतन्त्र, आधुनिक युगमा राजनीतिक दलहरूले शासन गर्दा के के सिद्धान्त र नीति अपनाउनुपर्ने हो ? हाम्रो मुलुकमा वर्तमान अवस्थामा के हुनुपर्थ्यो ? हाल के भइरहेको छ ? यसबारे धाराप्रवाह बोलेको एकोहोरो सुनिरहेँ ।
बीचबीचमा माथेमाले पनि केही थप्ने बोल्ने गरिरहनु भएको थियो । बडो रमाइलो लागेको थियो, ती गहन विषयमा दमन दाइको विचार दृष्टिकोण सुन्दा ।
त्यसै दिन इलाम पुगी डा. केसीको अनशन सबै मिलेर तोडाउने काम गरियो । अनशनका कारण सुस्त हुनु भएका डाक्टर केसीलाई राति दुईतीन बजे इलामबाट झापा ल्याइयो । झापा विमानस्थलबाट सेनाको हेलिकप्टरमा काठमाडौं ल्याउँदा बिहानी चार बजिसकेको थियो । हामी टिचिङ्ग अस्पतालमा उत्रियौँ । दमन दाइ, डा. केसीलाई लिएर अस्पतालको बेडमा राख्न भवनभित्र जानुभयो ।
दमन दाइले डा. केसीलाई कैयौं विषयमा सुझावसल्लाह पनि दिइरहनु भएको थियो । मैले बिदा हुने बेलामा दमन दाइसँग सोधेको थिएँ - ‘दाइ तपाईको विद्वत भाषण फेरि अब कहिले सुन्न पाइएला ।’
एउटा प्रखर विद्वान र विज्ञहरूले भाषण गर्ने अनि जिज्ञासुहरूले भाषण श्रवण गर्ने संस्था, माध्यमका रूपमा चाहिने रहेछ । जसले मुलुकको राजनीति, अर्थनीति, सामाजिक नीतिको जानकारी आमजनताबीच गराउन सकोस् । त्यसको आवश्यकता महसुस हामी इलाम जाने सबैले तत्काल गरेका थियौँ ।
दमन दाइ, अब कहिले नफर्किने गरी जानु भयो । बाटो त सबैको त्यही हो मात्र समयको कुरा हो । तसर्थ यो लेखमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै श्रध्दान्जलि अर्पण गर्छु । साथै उहाँको परिवारलाई यो दुःखको घडीमा धैर्यधारण होस् भन्ने ईश्वरसँग कामना गर्छु ।
(कार्की पूर्व प्रधानन्यायाधीश हुन् )