site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन : कांग्रेस र माओवादीलाई ०७९ को परिणाम जोगाउने चुनौती 

काठमाडौं । उपनिर्वाचनमा ०७९ को जित जोगाउन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लाई चुनौती छ । मंसिर १६ गते स्थानीय तहमा ४२ पदका लागि उपनिर्वाचन हुँदैछ । 

उपनिर्वाचन हुन लागेको अधिकांश स्थानमा कांग्रेस र माओवादीले जितेका थिए । उपनिर्वाचनमा परिणाम जोगाउन दलहरुलाई सजिलो छैन ।  ०७९ को निर्वाचनमा कतिपय स्थानमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यतिखेर कांग्रेस सत्तारुढ छ भने माओवादी प्रतिपक्षमा छ । सत्तारुढ एमाले ०७९ मा जोगाउन नसकेका ठाउँमा जित हासिल गर्ने प्रयत्नमा छ । 

Dabur Nepal
NIC Asia

कांग्रेसले भत्काएको किल्ला फर्काउन खोज्दै एमाले 

मेयर पदमा निर्वाचन हुन लागेको एक मात्रै नगरपालिको हो, काठमाडौंको कीर्तिपुर । कीर्तिपुरको मेयर बन्न २० जनाले आकांक्षा राखेका छन् । जसमध्ये ९ जना दलीय र ११ जना स्वतन्त्र उमेदवार मैदानमा उत्रिएका छन् । 

कांग्रेसबाट नगरप्रमुख जितेका राजकुमार नकर्मीको निधनपछि पदमा उपनिर्वाचन हुन लागेको हो । ०८१ साउन १० गते उनको निधन भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित नकर्मीको उपचारका कममा निधन भएको थियो । 

उपनिर्वाचनमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट इन्जिनीयर ध्रुव महर्जन उमेदवार छन् । जनता समाजवादी पार्टी नेपालका दीपक मर्जन (हनी), नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण श्रेष्ठ र जनमत पार्टीका केशव श्रेष्ठ, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन मेयरका उमेदवार छन् ।

स्वतन्त्र उमेदवारी दिनेमा आनन्द महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी, धर्मरत्न मानन्धर, नरेश श्रेष्ठ छन् ।

त्यस्तै, नरेशराज पाण्डे, नवरथकुमार बाँनिया, प्रेमबहादुर महर्जन, मिम महर्जन, राजमान महर्जन, रामकृष्ण महर्जन छन् । उपनिर्वाचनमा परिणाम जोगाउने दबाबमा कांग्रेस छ भने विरासत फर्काउने पक्षमा एमाले छ । ०५८ र ०७४ को निर्वाचन यहाँ एमालेले जितेको थियो ।

माओवादी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन गरेर चुनावमा होमिएको छ । स्वतन्त्र उमेदवारहरु पनि जित्ने दाउमा छन् । कांग्रेसलाई परिणाम जोगाउन सहज छैन । 

यस्तो छ ०७९ को परिणाम

०७९ को स्थानीय तह निर्वाचनमा जितेका नकर्मीले नौ हजार ४३ मत प्राप्त गरेका थिए ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका थिए । उनीहरूबीचको मतान्तर तीन हजार ५३६ थियो ।

त्यहाँ माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ९०, नेकपा (एकीकृत समाजवादी)का बटुकृष्ण थापाले एक हजार १५३ मत ल्याएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जितबहादुर बिष्टले ५७२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उमेदवार मनोज बुढाथोकीले ३६५, नेपाली कांग्रेस (बीपी)का प्रविद् खनालले ८१ मत प्राप्त गरेका थिए ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टीका श्यामकाजी महर्जनले २१, स्वतन्त्र उमेदवार भीमकुमार महर्जनले १३ मत ल्याएका थिए ।

ग्रामथान गाउँपालिकामा के होला ? 

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षका निम्ति पनि उपनिर्वाचन हुँदै छ । पालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधनपश्चात् उक्त पद रिक्त छ । ०८१ असार ३ गते उनको निधन भएको थियो ।

उपनिर्वाचनमा अध्यक्षका लागि १६ जनाको उमेदवारी परेको छ ।  कांग्रेसबाट बलराम सरदार थारु, एमालेबाट तुलसीराम विश्वास, माओवादीबाट नमोनारायण माझी, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, राप्रपाबाट दिनेश कुमार थन्दार उमेदवार छन् । 

नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमतबाट विनोदकुमार माझी, नेमकिपाबाट प्रशुराम विश्वास थारु, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वापा) बाट नवीनकुमार थारु खवास छन् ।

जनता समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका नवीनकुमार खवास, जनता समाजवादी पार्टी, नेपालका सुरेशकुमार राजवंशी, समावेशी पार्टी, नेपालका वोध नारायणमाझी उमेदवार बनेका छन् । नमनारायण चौधरीले स्वतन्त्र उमेदवारी दिएका छन् । 

कसले कति मत पाएका थिए ? 

स्थानीय तह निर्वाचनमा कांग्रेसका गच्छदार निर्वाचित भएका थिए । उनले सात हजार ६०५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याएका थिए । उनीहरूबीचको मतान्तर एक हजार ५१२ थियो ।

त्यहाँ माओवादी केन्द्रका विजयकुमार सरदारले दुई हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९ मत पाएका थिए । यस्तै, जनमत पार्टीका उमेदवार पञ्चनारायण चौधरी थारुले ९८, नेपाल नेमकिपाका मनोजकुमार चौधरीले चार मत प्राप्त गरेका थिए ।

महाबु गाउँपालिकामा नजिता उल्टाउने एमाले दाउ

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको पनि उपचारका क्रममा निधन भएको थियो । कांग्रेसबाट निर्वाचित भएका गुरुङको ०७९ माघ २७ गते  निधन भएको भयो ।

उनको निधनपछि रिक्त स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।  उपनिर्वाचनमा अध्यक्ष बन्न ७ जनाले उमेदवारी दिएका छन् । यहाँ कांग्रेसले झलकबहादुर भण्डारी, एमालेले जंगबहादुर शाही, माओवादीले जङ्गबहादुर मगरलाई उमेदवार बनाएको छ । 

एकीकृत समाजवादीबाट जगतबहादुर हमाल, रास्वपाबाट प्रकाशबहादुर बुढा, राप्रपाबाट सूर्जे रावत, नेमकिपाबाट दुर्गबहादुर महत उमेदवार बनेका छन् ।  मालेले यसअघि एकीकृत समाजवादीबाट उमेदवार बनेका शाहीलाई उमेदवार बनाएको छ । एकीकृत समाजवादी छाड्दा उनले उमेदवार बन्न पाएका छन् ।

०७४ को निर्वाचनमा शाहीले एमालेबाट पालिका अध्यक्ष जितेका थिए । एमालेले ०७४ को नतिजा खोजेको छ । यो क्षेत्रमा अघिल्लो पटक उमेदवारी नदिएको माओवादीले उमेदवारी दिएको छ । 

यस्तो छ ०७९ को नतिजा 

एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्ष बनेका थिए । गुरुङ ४६० मतान्तरले निर्वाचित भएका थिए । उनले दुई हजार ९७९ र उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए ।

यस्तै, एकीकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार २६८, नेमकिपाका बमबहादुर सिंहले ५८, स्वतन्त्र उमेदवार विष्णुकुमार बुढाले २२ मत ल्याएका थिए । राप्रपाका राजबहादुर सिंहले १५ र अर्का स्वतन्त्र दिनेशबहादुर सिंहले एक मत ल्याएका थिए । 

नलगाड नगरपालिका उप्रमुखमा ६ उमेदवार  

जाजरकोटको नलगाड नगरपालिकमा उपमेयर पदमा उपनिर्वाचन हुँदैछ । भूकम्पमा परी नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भयो । ०८० कात्तिक १७ गतेको भूकम्पमा उनको निधन भएपछि पद रिक्त भएको थियो । 

उपनिर्वाचनका लागि यहाँ ६ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट इन्दिरा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछाने उमेदवार छन् । राप्रपाबाट पार्वती पुन, राप्रपा, नेपालबाट सुनिता पुन रावल, नेसपाबाट पवित्रा जैसीले उमेदवारी दिएका छन् । 

एमालेकी उमेदवार बोहोरा यसअघि पराजित भएकी थिइन् । एमालेले उनैलाई उमेदवार बनाएको छ । 

कसले कति मत ल्याए ? 

०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित सिंहले पाँच हजार ४०६ मत ल्याएकी थिइन् । निकटम प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले तीन हजार ३९३ मत पाएकी थिइन् ।

त्यहाँ स्वतन्त्र उमेदवार सुशीलाकुमारी शाहीले ९४, राप्रपाकी डम्बरकुमार बानियाँले ४८ मत ल्याएकी थिइन् ।

गौरीशंकर गाउँपालिकामा स्वतन्त्र उमेदवारको लर्को 

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका निम्ति पनि उपनिर्वाचन हुँदै छ । कांग्रेसबाट पालिका उपाध्यक्षमा निर्वाचित श्यामसुन्दर तामाङको निधनपश्चात् पद रिक्त छ । ०८० असार ३१ गते हृदयाघातका कारण उनको निधन भएको थियो । उपनिर्वाचनका लागि १६ जनाको उमेदवारी परेको छ । जसमा ८ दल र ९ स्वतन्त्र उमेदवार छन् । 

कांग्रेसबाट पासदिकी तामाङ, एमालेबाट उमा लुङ्गेली मगर शेर्पा, माओवादीबाट निम लेकी शेर्पा उमेदवार छन् ।  एकीकृत समाजवादीबाट रविना खड्का, राप्रपाबाट मनकुमारी श्रेष्ठ, जसपाबाट सविना कार्की खड्का, रास्वपाबाट गोमा श्रेष्ठ उमेदवार छन् । 

यहाँ स्वतन्त्र उमेदवारको लर्को लागेको छ । अम्बिका श्रेष्ठ, मधुरा कार्की, दिलबहादुर बस्नेत, शिव शम्भु तामाङ, दीपक तामाङ, अप्सरा विश्वकर्मा, द्वारिका बुढाथोकी, पुष्प कार्की र सक्किमा शेर्पाले स्वतन्त्र उमेदवारी दिएका छन् । 

०७९ को निर्वाचनमा यहाँ कांग्रेस–माओवादी गठबन्धन भएको थियो । उपनिर्वाचनमा दलहरु एक्ला एक्लै चुनावमा होमिएका छन् । 

कसले कति मत पाएका थिए ? 

निर्वाचित तामाङले चार हजार ७४१ मत ल्याएका थिए । निकटतम प्रतिस्पर्धी एमालेकी मुना शिवाकोटीले तीन हजार २८१ मत ल्याएकी थिइन् । राप्रपाकी यशोदा पाठकले २४ मत पाएकी थिइन् ।

सर्केगाडको उपाध्यक्षमा एक्लाएक्लै भिड्दैछन् दल 

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपपनिर्वाचन हुँदैछ । माओवादीबाट उपाध्यक्षमा निर्वाचित चन्द्रसिंह कार्कीको निधनपश्चात् पद रिक्त भएको थियो ।

०८१ भदौ ४ गते सवारी दुर्घटनामा परी उनको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । यहाँ ७ जनाको उमेदवारी परेको छ । जसमा पाँच राजनीतिक दल र दुई स्वतन्त्र उमेदवार छन् । 

कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादीबाट देवकी तिमल्सिना उमेदवार छन् । राप्रपाले संगीता शाही, रास्वपाले बाँचा बुढालाई उमेदवार बनाएको छ । रामशरा खड्का र नरेश शाहीले स्वतन्त्र उमेदवारी दिएका छन् । 

०७९ को निर्वाचनमा उक्त पालिकामा कांग्रेस–माओवादी गठबन्धन थियो । तर, यसपालि यहाँ दलहरु एक्ला एक्लै प्रतिष्पर्धामा देखिएका छन् । 

यहाँ निर्वाचित कार्कीले तीन हजार २६९ मत ल्याएका थिए । एमालेकी जुनकुमारी फडेरा एक हजार ६४ मत ल्याएर पराजित भएकी थिइन् ।

स्वामीकार्तिक खापर गाउँपालिकामा यस्तो थियो परिणाम 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । कांग्रेसबाट निर्वाचित मैना जोशीको निधनपश्चात् पद रिक्त भएको थियो । ०८० माघ ४ गते उनको निधन भएको थियो । उपनिर्वाचनका निम्ति पाँच दलले उमेदवारी दिएका छन् ।

यहाँ कांग्रेसबाट पुल्चीसरा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी, माओवादीबाट राजुकुमारी विक उमेदवार छन् । एकीकृत समाजवादीले जवा शाही र राप्रपाले सुनादेवी थापा भोटेलाई उमेदवार बनाएको छ । 
यहाँ एमालेले उमेदवारी बनाएको भण्डारी ०७९ को निर्वाचनमा पराजित भएकी थिइन् ।

कसले कति मत पाएका थिए ? 

पालिका उपाध्यक्ष जितेकी मैनाले एमालेकी सुलोचनाकुमारी भण्डारीलाई पराजित गरेकी थिइन् ।

जोशीले एक हजार ८१० मत प्राप्त गरेकी थिइन् । भण्डारीले एक हजार ६३७ मत ल्याएकी थिइन् । उनीहरूबीचको मतान्तर १७३ थियो । त्यहाँ माओवादीका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उमेदवार वीरसिंगे विकले ४१ मत पाएका थिए ।

पुथाउत्तरगंगा गाउँपालिकामा रोचक तालमेल 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका निम्ति पनि उपनिर्वाचन हुँदै छ । स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढामगरको निधनपश्चात रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका निम्ति यहाँ रोचक तालमेल भएको छ । सत्ताको नेतृत्व गरिरहेका दुई ठूला दल कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ । यहाँ एमालेकी नेतृ कांग्रेसको चुनाव चिह्नबाट उमेदवार बनेकी छन् । 

एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन कांग्रेसको तर्फबाट उमेदवार बनेकी छन् । माओवादी केन्द्रले नरपुरा बुढा, एकीकृत समाजवादीले यहाँ सुनिता बुढा मगरलाई उमेदवार बनाएको छ । 

त्यस्तै, कोपिला पुन बुढा, मोहनभक्त बुढा, भिमकुमारी पुन र श्रीदेवी सुनार (वि.क.)ले स्वतन्त्र उमेदवारी दिएका छन् । 

०७४ र ०७९ को निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो । माओवादीको चुनौती दिन कांग्रेस एमालेले गठनबन्धन गरेका हुन् । दुई दलबीच तालमेल हुँदा माओवादीलाई नजिता जोगाउन सकस पर्ने विश्लेषण दुई दलको छ । 

गएको भदौ २८ गते सवारी दुर्घटनामा परी भुपेन्द्राको निधन भएको थियो । ०७९ को निर्वाचन जितेर उपाध्यक्ष बनेकी बुढाले चार हजार ५९ मत ल्याएकी थिइन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमलाकुमारी मल्लले दुई हजार १०, एमालेकी धर्मघर्ती बुढाले एक हजार ८१२ मत पाएकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro