काठमाडौं । विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजको गुणस्तरबारे सरकारी अध्ययन प्रतिवेदनमा प्रश्न उठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ती कलेजले सम्बन्धन लिएका विश्वविद्यालयको विश्व वरीयताक्रमदेखि विद्यार्थीको चाप र अध्यापनको गुणस्तर समेतमा प्रश्न उठाइएको हो ।
प्रतिवेदनानुसार, नेपालमा विदेशी विश्वविद्यालय र शिक्षण संस्थाबाट सम्बन्धन लिई सञ्चालन अनुमति पाएका कलेजको संख्या ५९ छ । तीमध्ये ५६ वटामा स्नातक र स्नातकोत्तर कार्यक्रम अध्यापन छन् ।
ती ५९ मध्ये सबैभन्दा धेरै ११ कलेज मलेसियाको लिंकन युनिभर्सिटीले सञ्चालन गरेको पाइएको छ । २५ कलेज यूकेका विभिन्न विश्वविद्यालयका सम्बन्धनमा सञ्चालित छन् । तीमध्ये पाँचवटा युनिभर्सिटी अफ सन्डरल्यान्डले सञ्चालन गरेको पाइएको छ । अरू १९ कलेज मलेसियाकै विभिन्न विश्वविद्यालयबाट सञ्चालित छन् ।
५९ मध्ये १३ कलेज सम्बद्ध विश्वविद्यालय मात्र विश्व वरीयताक्रममा टाइम्स हाइयर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्याङकिङ २०१४–२०२३ को एक हजारभित्र परेको देखिन्छ । अर्थात्, ४६ कलेज निर्देशिकाले तोकेको मापदण्डभित्र छैनन् । तीमध्ये २९ कलेज प्रशासनले विश्व वरीयताभित्र पर्न आवेदन समेत नदिएको पाइएको छ ।
यस्तै, निर्देशिकाले तोकेको दोस्रो मापदण्ड सांघाई जियाओतोङ युनिभर्सिटी र्याङकिङ २०२०–२०२४ मा समेत उक्त १८ कलेज मात्र परेको पाइएको छ ।
क्वालिटी एस्युरेन्स एन्ड एग्रिडिकेसन (क्यूएए) वर्ल्ड युनिभर्सिटी र्याङकिङको एक हजारभित्र पनि नेपालमा कलेज सञ्चालन गरिरहेका ११ वटा मात्र परेको पाइएको छ । संस्थागत र कार्यक्रमगत आधारमा क्यूएए कलेजको संख्या २५ मात्र छ । अर्थात्, विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ को मापदण्डभित्र ३० प्रतिशत कलेज मात्र छन् ।
निर्देशिका अनुसार, विदेशी विश्वविद्यालयले नेपालमा कलेज सञ्चालन गर्न आफ्नो देशको मापदण्डअनुसार इन्स्टिच्युसनल क्यूएए र प्रोग्राम क्यूएए प्राप्त गरेको हुुनुपर्छ । साथै, त्यस्ता विश्वविद्यालय टाइम्स हाइयर एजुकेसन वर्ल्ड युनिभर्सिटी ¥याङकिङको एक हजारभित्र परेको हुनुपर्छ ।
यसरी सञ्चालित कलेजमध्ये विद्यार्थी संख्याका आधारमा २५ प्रतिशत कलेजको अवस्था दयनीय रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनानुसार, ५९ कलेजले स्नातक र स्नातकोत्तरमा २१२ शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति पाएका छन् । तर, ४० कार्यक्रममा विद्यार्थी संख्या शून्य छ ।
हाल सञ्चालितमध्ये सबैभन्दा धेरै ९६ कार्यक्रम व्यवस्थापनसँग सम्बन्धित छन् । ७० वटा आईटी र अरू विषयका पाँच कार्यक्रम रहेको प्रतिवेदनमा जनाइएको छ ।
उच्च शिक्षा अध्ययन गराउने करिब २५ प्रतिशत कलेजमा १०० भन्दा कम र १४ वटामा २०० सम्म मात्र विद्यार्थी रहेका प्रतिवेदनमा उल्लेख छ । त्यस्ता कलेजको अवस्था विद्यार्थी संख्याका आधारमा दयनीय रहेको प्रतिवेदनमा औँल्याइएको छ ।
मन्त्रालयको टोलीले स्थलगत अनुगमन गर्दा केही कलेजमा खेलमैदान, फर्निचर, पुस्तकालय, शौचालय, प्राथमिक उपचार बाकसजस्ता न्यूनतम सुविधा पनि कमजोर रहेको पाएको थियो ।
एकतिहाइ कलेजमा मापदण्ड नपुगेका प्राध्यापकले अध्यापन गराइरहेको, अनुगमन गरिएका कलेजहरूले विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध नगराएको जस्ता कमजोरी पाइएको प्रतिवेदनमा उल्लेख छ ।
कलेजमा विद्यार्थीको चाप र संख्याका विषयमा पनि प्रतिवेदनमा प्रश्न उठाइएको छ । एउटै कलेजमा समान तहको उही कार्यक्रममा एक हजार ८५९ विद्यार्थी अध्ययनरत रहेका र पर्याप्त सेक्सन नछुट्ट्याइएको प्रतिवेदनमा जनाइएको छ ।
“अनुगमन गरिएका केही कलेजमा ५० प्रतिशतभन्दा बढी प्राध्यापकहरू आंशिक भएकाले पठनपाठनको गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ पाइयो,” प्रतिवेदनमा भनिएको छ ।
१० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्नेमा शुल्क छुट गरी सोबराबरको नदिइएको पनि प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा हाल विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाबाट सञ्चालित कलेजमा १७२ कार्यक्रममा २८ हजार ७३ विद्यार्थी अध्ययनरत छन् । मापदण्डविपरीतका कलेजलाई सञ्चालन अनुमति रद्द, खारेजीसम्मका कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ ।