काठमाडौं । भारतले बिजुली आयात स्वीकृति नदिँदा यसपालि हिँउद याममा नेपाल विद्युत् प्राधिकरणलाई ऊर्जा सन्तुलनमा समस्या पर्ने देखिएको छ । भारतले नेपालमा बिजुली निर्यात अनुमति नदिए सुख्खायाममा लोडसेडिङको जोखिम छ ।
हिँउद लागेसँगै नेपालका नदीनाला एक तिहाइमा झर्छन् । नदी प्रवाही (रन अफ रिभर) आयोजनाका कारण वर्षा सकिएसँगै उत्पादन घट्दै जाने गर्छ । नदी प्रवाही आयोजनाहरुका कारण विद्युत् उत्पादनमा कमी, माथिल्लो तामाकोसी आयोजनामा क्षति तथा भारतले स्वीकृति नदिए लोडसेडिङको जोखिम देखिन्छ ।
गतवर्ष जडित क्षमता तीन हजार पुग्दा उत्पादन एक हजार मेगावाटको हाराहारीमा झरेको थियो । जलाशययुक्त आयोजना नहुँदा हिँउद याममा नेपालको ऊर्जा क्षेत्र भारतमा निर्भर हुने गर्छ । भारतले अनुमति नदिएको खण्डमा हिउँदमा लोडसेडिङको चिन्ता थपिएको छ ।
प्राधिकरणले अघिल्ला वर्षहरुमा ‘ब्याकअप’का रुपमा राख्ने गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना वर्षको बाढीले क्षति तुल्याएको छ । असोज ११ देखि माथिल्लो तामाकोसी बन्द छ । आयोजनाको क्षति करिब २ अर्ब रुपैयाँ पुगेको र बन्न नै ७–८ महिनाको समय लाग्ने भएसँगै आयोजना आंशिक सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।
तामाकोसी आयोजना तत्काल नबन्ने भएपछि यसपालि हिउँदयाममा भारतबाट अघिल्लो वर्षको भन्दा बढी बिजुली आयात गर्नुपर्ने अवस्था हुन्छ । बाढीले क्षति पुर्याएको माथिल्लो तामाकासी आयोजनाकोे प्रारम्भिक अध्ययनअनुसार करिब २ अर्ब बराबरको क्षति पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतम बताउँछन् ।
प्राधिकरणले यसअघिको हिउँदमा दिउँसो पानी जम्मा गर्ने र उच्च माग हुने समयमा सञ्चालन गरेर माग पूर्ति गर्दै आएको थियो । माथिल्लो तामाकोसी ४ देखि ६ घण्टालाई पुग्ने पिकिङ जलाशय आयोजना समेत हो ।
पानी जम्मा गरेर उच्च मागको समयमा ४५६ मेगावाट नै उत्पादन गर्ने गरेको छ ।
तामाकोसी आयोजनामा क्षति पुगेको र भारतले पनि स्वीकृति नदिएको खण्डमा हिँउदमा लोडसेडिङ हुने देखिन्छ ।
नेपालले करिब ४ महिनाअघि प्रस्ताव पठाए पनि आयात स्वीकृति नपाएको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले जानकारी दिए । “हामीले ३–४ महिनाअघि नै प्रस्ताव गरेका हौं । हालसम्म आएको छैन,” उनले भने, “डिसेम्बरको अन्तिमसम्म आउँछ होला ।”
भारतबाट आयात हुने बिजुलीमा प्रत्येक वर्ष स्वीकृति लिनुपर्ने हुन्छ । गतवर्ष वैशाखमा म्याद थपिएपछि भारतले तीन महिनाको लागि मात्रै सोलार आवर (घाम लाग्ने समय) को बिजुली उपलब्ध गराएको थियो । वर्षा सुरु भएसँगै प्राधिकरणले निर्यात सुरु गरेको थियो ।
करिब दुई सय मेगावाटको हाराहारीमा बिजुली निर्यात भइरहेको र नेपाललाई चाहिने बेलासम्म आयातको अनुमति दिने ढकाल आशा व्यक्त गर्छन् ।
भारतले नेपालबाट निर्यात गर्न भने दिइरहेको छ । भारतले नेपाललाई आफ्नो बजारमा ९५१ मेगावाट बिक्री अनुमति दिएको छ । भारतले भदौ ३ गते प्राधिकरणलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने अनुमति दिएको थियो । सो अघि ६९० मेगावाट बिजुली बिक्रीको अनुमति दिएको थियो ।
भारतले दिएको अनुमतिमा थप १० प्रतिशत बिजुली निर्यात गर्न मिल्छ । जसअनुसार, प्राधिकरणले भारतीय बजारमा १०३५ मेगावाटसम्म बिजुली भारतीय बजारमा बिक्री गर्न सक्नेछ । तर, यसवर्ष बाढीले आयोजनाहरुमा क्षति पुर्याएपछि अनुमति पाएको क्षमतामा पनि निर्यात हुन नसकेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले ३६० मेगावाट मध्यकालीन सम्झौता भारतीय बजारमा बिक्रीको अनुमति पाएको छ भने ५८१ मेगावाट भारतीय ऊर्जा खरिद बिक्री बजार (आईईएक्स) मा बिक्रीको अनुमति पाएको छ ।
प्राधिकरणले पहिलोपटक २०७८ कात्तिकमा ३९ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको थियो । उक्त अनुमतिपछि वर्षायाममा निरन्तर बिजुली बिक्री गर्दै आएको छ । गत आर्थिक वर्षमा बिजुली बेचेर खुद निर्यातकर्ता बनिसकेको छ । गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।