यता अहिले पनि नेपालको भारत निर्भरता कम भएको छैन । उता भारतको नेपाल नीतिमा निर्णायक भूमिका भएको कर्मचारीतन्त्रमा अंग्रेज उपनिवेशको धङधङी बाँकी नै छ । अहिले पनि नेपाल – भारत वार्ता नेपाल पक्षमा हुने त परै रहोस् लाभहानि बराबर हुनेगरी टुंगिने अवस्था देखिँदैन । यस्तो अवस्थामा कोसीमा बनाउने भनिएको उच्च बाँधजस्तो परियोजनाका विषयमा वार्ता गर्नुको नेपालका हितमा हुनेछैन । प्रत्येक बर्खामा बाढीले विनाश गरेपिच्छे भारतीय पक्षले राजनीतिक खपतका लागि कोसी उच्च बाँधको प्रसंग अगाडि सार्ने गरेको छ । भारतीय राजनीतिक र प्रशासनिक नेतृत्व भने नेपालका कारणले भारतमा बाढी आएको भन्ने मानसिक स्तरको छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि बाढी आएपछि भारतको उत्तर प्रदेश र विहार प्रान्तका मन्त्रीहरूले भारतमा आएको बाढीका लागि नेपाललाई दोष दिइसकेका छन् ।
भारतले अहिलेसम्म बाढी नियन्त्रणका लागि अपनाएको उपायहरूका कारण नै मूलतः नेपाल र भारतमा बाढीको प्रभाव बढी गम्भीर हुँदै गएको हो । नदीहरूको प्राकृतिक बहाव नबिथोलेको भए पानी सँगालिएर एकै मुस्लो हुने थिएन । बिस्तारै पानीको सतह बढ्दै गएर बाढी धेरै ताण्डव नमच्चाई साम्य हुन्थ्यो । मूलतः भारतले सीमा क्षेत्रमा बनाएको बाँध, सडक, तटबन्धहरूका कारण नदीहरूको प्राकृतिक बहाव रोकियो । त्यसले गर्दा पानी जम्मा भयो र एकैपटक बाँध, सडक, तटबन्ध फोरेर बाहिरियो । यसरी संकलित पानी एकैपटक बग्दा सधैँजसो अकल्पनीय क्षति हुने गरेको हो । यही अनुभवका आधारमा पनि करिब २ सय ६९ मिटर अग्लो हुने प्रारम्भिक अनुमान गरिएको कोसी उच्च बाँध नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दालाई अभिशाप बन्न सकिने देखिन्छ । भारतको नयाँ दिल्लीमा भएको अन्तर्सरकारी जलस्रोत विज्ञ समूहको संयुक्त वार्तामा अहिले सप्तकोशी उच्च बाँध परियोजना अगाडि बढाउन नसकिने निष्कर्षमा पुगेको समाचार सही हो भने अब यो अध्याय थाती राख्नु नै नेपलको हितमा हुनेछ ।
नेपालका ३२ गाउँका बासिन्दा प्रभावित हुने कोसी उच्च बाँध सापेक्षतामा लाभ जति भारतलाई हुने तर त्यसको मूल्य नेपालले चुकाउनु पर्ने परियोजना हो । हजारौं परिवार यस बाँधबाट विस्थापित हुनेछन् । भारतकै पनि तटीय क्षेत्रका बासिन्दा सधैँ जोखिममा रहनेछन् । अहिले यसै पनि संसार भर उच्च बाँधको विपक्षमा जनमत बढ्दै गएको छ । अर्कातिर, अहिले भारतसँग जलस्रोत उपभोगका लागि सम्झौता गर्न नेपाल हतारिनु पनि पर्दैन । नेपालका लागि आवश्यक जलविद्युत्को उत्पादनमा आत्मनिर्भर हुन सके प्रविधिमैत्री बनाएर नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर तुल्याउन सकिन्छ । केही समय पर्खने हो भने नेपालले आगामी केही दशकभित्रै प्राकृतिक जलकै निर्यातसमेत गर्नसक्छ । यसैले पनि नेपालले कोसी उच्च बाँधमा छलफल गरेर ठगिन हतार गर्नु आत्मघाती मूर्खता ठहरिनेछ । कोसी उच्च बाँधका सम्बन्धमा निर्णय अन्तिम लिने अधिकार त्यसबाट विस्थापित हुने हजारौं परिवारलाई मात्र हुन्छ । सरोकारवाला जनतालाई पर्याप्त जानकारी दिएर उनीहरूको सहमतिमा मात्र यो बाँध बनाउन पाइन्छ । यी सबै कारणले स्थानीय तहबाटै माग नहुँदासम्म कोसी उच्च बाँधका विषयलाई वार्ताको सूचीमै नराख्नु उचित देखिन्छ । भारत वा चीनसँग प्राकृतिक स्रोतका बारेमा वार्ता गर्दा पारदर्शीरूपमा जनतालाई जानकारी दिइयोस् । यसै पनि नेपाली पक्षको तीतो अनुभवका लागि पञ्चेश्वर बहुमुखी आयोजनाको अवस्था नै पर्याप्त छ ।