अहिलेको नेपाल वायुसेवा निगमको अवस्था नेपालको मात्र हैन संसारकै सार्वजनिक संस्थानको दुर्दशाको दृष्टान्त बनेको हुनुपर्छ । निगमको वर्तमान व्यवस्थापीय अवस्थाको राम्ररी प्रचारप्रसार हुने हो संसारका ठूला विश्वविद्यालयका विद्यार्थीहरू सार्वजनिक संस्थानको सबैभन्दा खराब अवस्थाका बारेमा अध्ययन गर्न आउँथे होलान् । देशमा थुप्रै विमान कम्पनीहरूले आन्तरिक उडानबाटै प्रशस्त कमाएका बेला नेपाल वायु निगम भने बर्सेनि करोडौंको घाटामा गयो । कहिले विमान नभएकाले घाटा भएको भनियो भने कहिले विमान उडाउने जनशक्तिको अभावले उडान हुन नसकेको बताइयो । व्यावसायिक उडानका लागि अनुपयुक्त मानिएको चिनियाँ विमानहरू निगमका लागि सेता हात्ती भए । निगमसँग भएका नौवटामा सातवटा जहाज अहिले थन्किएका छन् । आवश्यक संख्यामा विमान चालक नभएकाले जहाज नउडाइ थन्क्याइएको व्यवस्थापनले स्पष्टीकरण दिएको छ ।
एकातिर भएका जहाज नउडाई थन्क्याएर राख्ने र अर्कातिर कार्यालय सञ्चालनका लागिसमेत सरकारसँग पैसा माग्ने गरिन्छ । आफ्ना कृपापात्रलाई निगमको व्यवस्थापन बक्सिस दिने शासकहरूले पनि राज्यको ढुकुटी उदार मनले लुटाउने गरिआएकै छन् । तर, अहिलेकै संरचना, शैली र सोच कायम रहँदासम्म सरकारले जति पैसा खन्याएपनि नेपाल वायुसेवा निगम सुध्रँदैन । शासकका कृपामा व्यवस्थापनको नेतृत्वमा पुग्नेहरूले निगमको अहित गरेको अनेकौं उदाहरण भए पनि विज्ञता, दक्षता वा क्षमताका आधारमा नेतृत्व छान्न कहिल्यै प्राथमिकता दिइएन । यही कारणले कमिसन पाए ‘हात्ती’ किन्ने प्रवृत्ति नेपाल वायुसेवा निगमको चरित्र नै बन्न पुग्यो । चीनसँग लिइएका विमानहरू नेपालका लागि उपयुक्त नभएको निगम व्यवस्थापनले थाहा नपाएको थिएन । ती विमानको साटो त्यति बेला अरू विमान लिइएको भए सम्भवतः निगम अहिलेजस्ता थला पर्ने पनि थिएन ।
व्यावसायिक प्रतिस्पर्धा गर्ने वातावरणविना निगमको व्यवस्थापनमा सुधारको प्रयास पूर्ण सफल हुँदैन । दक्ष व्यवस्थापकलाई निगम व्यवस्थापन नसुम्पी सुधारको प्रयास पनि थाल्न सकिँदैन । निगमलाई सपार्ने आँट भएको व्यवस्थापक शासकको कृपाकांक्षी हुन र तिनको स्वार्थमा निगमलाई लुटाउन तयार पनि हुँदैन । यसैले सबैभन्दा पहिले नेपाल वायुसेवा निगममा सरकारी अधिकारीको सनकी र स्वार्थी हस्तक्षेप हुने बाटो रोक्नुपर्छ । त्यसपछि निगमलाई संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘वक्रदृष्टि’बाट पनि बचाउनुपर्ने विगतको अनुभवले सिकाएको छ । आवश्यक व्यवस्था मिलाएर कुशल व्यवस्थापन छान्न सके नेपाल वायुसेवा निगम बिस्तारै नाफामा जान पनि सक्ला । नत्र बर्सेनि एक अर्ब बढी घाटामा जाने निगम टाट उल्टन धेरै समय पर्खनुपर्ने छैन । निगमको खर्च घटाउन नयाँसडकको कार्यालयमा आवश्यक ठाउँमात्र प्रयोग गरेर कहालमा दिनेदेखि चलाउन नसके जहाजै पनि भाडामा लगाउने सम्भावना खोज्नुपर्छ । निगमलाई बचाउनका लागि व्यवस्थापन करारदेखि रणनीतिक साझेदार भित्र्याउनेसम्मका विकल्पमा विचार गरिनुपर्छ । शासकहरूको व्यक्तिगत र दलगत स्वार्थबाट जोगाएर निगमलाई पुनर्जीवन दिने गम्भीर प्रयास नगर्ने हो भने सकेसम्म चाँडै यसलाई भंग गरेर राज्यको बोझ हलुंगो बनाउनु देश र जनताको हितमा हुनेछ ।