site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्ड ठेकेदारको लापरबाहीको साथै राज्यको निरीहता र गैरजिम्मेवारीको पनि उदाहरण बनेको छ । चिनियाँ कम्पनीले ठेक्का लिएको ६ वर्ष हुँदासम्म पनि आयोजना कहिले सम्पन्न हुने हो भन्ने कुनै टुङगो छैन । केही महिना यता र ठेकेदारले कामै रोकेको छ । 

पूरैजसो सडक एकैपटक भत्काइएका कारण यात्रुहरूमात्र होइन छेउछाउका बासिन्दाले पनि सास्ती भोग्नुपरेको छ । त्यस खण्डको यात्रा अनिश्चित, असुरक्षित र असुविधाजनक भएको छ भने स्थानीयहरू पनि धुलो र हिलोबाट आजित भएका छन् । उनीहरूको स्वास्थ्यमा समेत असर परेको छ । तैपनि, सडक बन्ने टुंगो छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले विसं २०७५ मा ११३ किलोमिटर सडक २०७९ सम्ममा सम्पन्न गर्ने गरी विस्तारको ठेक्का लिएको थियो ।  सडक विभागका अनुसार हालसम्म ५२ प्रतिशत काम भएको छ भने ४४ प्रतिशत भुक्तानी भइसकेको छ । ठेक्का अवधिमा काम सम्पन्न नभएपछि सरकारले पटकपटक म्याद थप गरेको थियो ।

धमाधम काम गरेर योजना सम्पन्न गर्नुपर्ने बेलामा ठेकेदार कम्पनीले कामै बन्द गरेपछि सरकारले ठेक्का तोड्ने तयारी गरेको जानकारी दिइएको छ । प्रधानमन्त्रीकै तहसम्म यस विषयमा छलफल हुनुले सरकार साँच्चै नै गम्भीर भएको छनक मिल्छ । यद्यपि, कुनै दबाब वा प्रभावमा सरकारले फेरि ठेकेदारको म्याद थप गरेको समाचार आयो भने पनि आश्चर्य भने मान्नु पर्दैन ।

बुटवल-नारायणगढ सडक खण्ड अलपत्र हुँदा राज्यलाई भएको क्षतिको सायद हिसाब पनि गर्न सकिँदैन । यस्तै, ठेकेदार कम्पनीको रवैया हेर्दा मंसिरसम्म पर्खे पनि काममा फर्कनेमा ढुक्क हुनसक्ने देखिँदैन । यसैले सरकारले चेतावनी दिनेमात्र होइन ठेक्का तोड्ने र त्यसपछि निर्माणका लागि प्रक्रिया पनि बेलैमा सुरु गर्नु आवश्यक देखिन्छ । 

सरकारले ठेक्का तोड्ने र लगाउने क्रममा केही सावधानी पनि अपनाउनुपर्छ । सम्भव भए चिनियाँ कम्पनीलाई नै काम पूरा गर्न दबाब दिनु उपयुक्त हुन्छ । चीन सरकारले चाहेमा ठेकेदार कम्पनीले पक्कै पनि पुनः काम सुरु गर्नेछ । कूटनीतिक माध्यमबाट सकारात्मक प्रतिक्रिया प्राप्त नभएमा भने ठेक्काका सर्तअनुसार ठेक्का तोड्न अपनाउनुपर्ने सबै प्रक्रियाको पूर्ण पालना गर्नुपर्छ ।

ठेक्का तोडेपछि अर्को ठेक्का यही प्रक्रियाबाट लगाउन ढिलो हुन्छ भने काम फेरि पनि बेलामा पूरा नहुनसक्छ । यसैले सरकारले दातृ संस्था तथा परामर्शदातासँग बेलैमा ठेक्का तोडेपछि अपनाउने प्रक्रियाका विषयमा आफ्नो धारणा राख्नु उचित हुन्छ । ससाना खण्डमा विभाजन गरेर नेपाली निर्माण व्यवसायीलाई नै काममा लगाउने हो भने बेलैमा सडक निर्माण हुनसक्छ । 

ठेकेदार कम्पनीले सरकारलाई ठेक्का तोड्न बाध्य बनाएर हर्जाना असुल्ने रणनीति बनाएको पनि हुनसक्छ भन्ने हेक्का यस प्रक्रियामा संलग्न अधिकारीहरूले राख्नु जरुरी देखिन्छ । यस विषयमा सरकारले बेलैमा विज्ञहरूसँग परामर्श लिनुपर्छ । सरकार ठेक्का तोड्न त हिचकिचाउनु हुँदैन तर पछि क्षतिपूर्ति दिनुपर्ने अवस्था उत्पन्न नहोस् भनेर सावधान भने हुनैपर्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro