काठमाडौं । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा. आशिष दाहाल छन् । प्रहरीका अनुसार उनी एमबीबीएस डाक्टर हुन् ।
प्रहरीका अनुसार, सुरुमा उनले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई मेसेज गर्थे । मेसेजमा उनले भारतको बिहारसहित अन्य ठाँउबाट ‘कन्ट्रयाक्ट किल्लर’ भाडामा लगाएर ज्यान मार्ने बताउँथे । उनले पीडितहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग्ने गरेको प्रहरी बताउँछ ।
प्रहरीले उनलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो । पछिल्लो समय उनी ललितपुरको ग्वार्कोमा बस्दै आएका थिए ।
थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।