काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डे र सांसद राजेन्द्र बजगाईंबीच वार्ता भएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार भएको दुई नेताबीचको छलफलमा मन्त्री पाण्डेले सांसद बजगाईंले लगाएको आरोपले आफूलाई अप्ठेरोमा पारेको बताएपछि बजगाईंले ‘सरि’ भनेका थिए ।
“मन्त्री पाण्डे र सांसद बजगाईंबीच पार्टी कार्यालयमा छलफल भएको हो,” कार्यालयका एक कर्मचारीले भने, “मन्त्री पाण्डेले आफूलाई बजगाईंले लगाएको आरोपका कारण काम गर्न कठिनाई भएको बताएपछि बजगाईंले सरी भन्नुभयो ।”
यसअघि सामाजिक सञ्जालबाट पनि सांसद बजगाईंले क्षमा मागेका थिए ।
“सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ, त्यसकारण उक्त लांक्षित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।”