site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा जानै मानेनन् अन्तर्राष्ट्रिय विमान कम्पनी ! भैरहवामा भारतीयले चासै राखेनन् 

काठमाडौं । ‘ट्याक्सी वे’ निर्माण गर्न कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले ‘ट्याक्सी वे’को निर्माण हुँदा त्यसको ३० प्रतिशत उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न विमान कम्पनीहरुलाई पत्रचार ग¥यो । 
केही कम्पनीहरु भैरहवाबाट उडान सुरु गरे । पोखरा विमानस्थलबाट उडानका लागि भने अन्तर्राष्ट्रिय विमान कम्पनीले चासो दिएका छैनन् । 

काठमाडौं आउने विमानहरु भैरहवातर्फ गएपनि पोखरा भने जान चाहेका छैनन् । 

अन्तर्राष्ट्रिय उडान भर्न सम्पूर्ण पूर्वाधार तयार रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता जशोदा सुवेदी बताउँछिन् । 

पोखरामा वाइडबडी विमान उडान र अवतरण हुन सक्दैन । 

“पूर्वाधारका सबै काम भइसकेका छन् । हामी फ्लाइट कुरेर बसेका छौं । यसअघि चार्टड फ्लाइट भइसकेको छ,” उनले भनिन्, “एयरपोर्टका पार्टबाट केही पनि समस्या छैन । फ्लाइट हुने भयो भने हामीलाई पत्र आउँछ । पत्रकै आधारमा हामी अघि बढ्ने हो ।”

गौतमबुद्ध विमानस्थलको तुलनामा पोखरा विमानस्थल सानो छ । 

पोखरा विमानस्थलमा वाइडबडी विमान उडान–अवतरण गर्न नसकिने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् । 

“पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका सबै प्रक्रिया हुन्छ । तर, हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो दिएका छैनन् । वायुसेवा कम्पनीले माग नगरेर हो । हामीले उनीहरुलाई भनिरहेको छौं,” उनले भने ।
उनका अनुसार, इन्टरन्यासल उडानका लागि क्यानले गर्नुपर्ने सबै आवश्यकता पूरा गरेको छ । 

“काठमाडौं र भैरहवामा जुन साइजको जहाज ल्यान्ड गर्न सक्छ, पोखरामा त्यो सक्दैन । न्यारोबडी मात्रै ल्याण्ड गर्न सकिन्छ । भैरहवा र पोखरामा फरक त्यति नै हो । नेपाल वायुसेवा निगमलाई पोखराबाट उडान गर्न हामीले लिखित रुपमा पत्र पठाएका छौं,” उनले भने ।

क्यानले विमान कम्पनीहरुलाई पोखरा विमानस्थलबाट पनि उडान गर्न दबाब दिए पनि कुनै पनि कम्पनी त्यहाँ जाने इच्छा जनाएका छैनन् । 

भैरहवातर्फ भने पाँच कम्पनीले उडान गरिरहेका छन् ।  भैरहवाबाट पाँच विमान कम्पनीले हप्ताको २४ वटा उडान गरिरहेको भूलले जानकारी दिए । जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुवई र नेपाल एयरलाइन्सले भैरहवाबाट चार गन्तव्यमा उडान गरिरहेका छन् ।  

पाँच कम्पनीको उडानसँगै दुई वर्षसम्म सुनसान रहेको विमानस्थलमा केही चहलपहल बढेको छ ।  यसअघि उडान गरिसकेको जजिरा एयरवेजले सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका लागि उडान गरिरहेको छ ।

यस्तै फ्लाई दुवईले दैनिक दुबई–भैरहवा–काठमाडौं एउटा उडान गरिरहेको छ ।  फ्लाई दुवईले भैरहवा अवतरण गरी त्यहाँबाट यात्रु लिएर काठमाडौंमा अवतरणसँगै यात्रु चढाएर उडान गरिरहेको छ ।  यस्तै कतार एयरवेजले पनि भैरहवाबाट उडान सुरु गरिसकेको छ । कतारले दोहा–भैरहवा–काठमाडौं दैनिक एउटा उडान सुरु गरिसकेको छ । 

हाल कतारले दोहाबाट काठमाडौं दैनिक तीनवटा उडान गरिरहेको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि भैरहवाबाट उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले दुबईबाट भैरहवामा कात्तिक २४ देखि उडान सुरु गरेको थियो । 

त्यसअघि निगमले मलेसिया क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गरिरहेको थियो ।  थाई एयर एसियाले पनि काठमाडौंपछि भैरहवामा पनि उडान सुरु गरेको छ ।  असोज १६ गतेबाट काठमाडौं उडान सुरु गरेको थाई एयर एसियाले कात्तिक १८ देखि बैंकक–भैरहवा–काठमाडौं उडान गरेको थियो । 

उक्त वायुसेवाले सोमबार र बिहीबार गरी सातामा गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  ‘विमानस्थलको ट्याक्सी वे’ निर्माण गर्न क्यानले ५ महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १० घण्टा बन्द हुने भएपछि क्यानले ३० प्रतिशत उडान भैरहवाबाट गर्नुपर्ने शर्त राखेसँगै विमान कम्पनीहरु भैरहवातर्फ लागेका हुन् । भैरहवातर्फ पाँच कम्पनी लागे पनि पोखरा भने सुनसान छ । 

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतबुद्ध र पोखरा विमानस्थल सञ्चालनका लागि प्याकेज समेत ल्याएको थियो । 

हवाइ टिकटमा भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना ल्याएपछि अन्तराष्ट्रिय हवाई सेवा कम्पनीहरुले भैहवातर्फ पनि सोझिएका हुन् । 

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

मन्त्रालयको कार्ययोजनाअन्र्तगत भ्याट छुट लगायतका कार्य हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्री पाण्डे बताउँछन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि भैरहवा विमानस्थल चलाउन निकै जोड गरेको थियो । 

१० घण्टा विमानस्थल बन्द भएपछि दैनिक एक/दुई उडान हुनेलाई सोही विमानस्थलबाट उडान गर्न दिइएको क्यानले जनाएको छ । तर, दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान गौतम बुद्धबाट गर्न क्यानले सर्कुलर समेत गरिसकेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट कटौती र भैरहवाका लागि प्याकेज आएसँगै पाँच वटा वायुसेवा कम्पनीले उडान सुरु गरेको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए । “पाँचवटा एयरलाइन्स उडान गरिररहेका छन् । हामीले पनि उहाँहरुलाई आर्थिक रुपमा सहज होस् र यात्रुले पनि सहुलियत पाउन भनी विभिन्न छुट गरेका छौं । यसले गर्दा भैरहवा अब अरु विमान कम्पनीहरु पनि उडान गर्छन्,” उनले भने ।

भैरहवामा भारतीय वायुसेवा कम्पनीहरुले भने उडान भर्न चासो दिएका छैनन् । भारतीय वायुसेवा कम्पनीलाई पनि भैरहवा उडान गर्न क्यान लागि परेको पाण्डेको भनाइ छ ।  “यो विस्तारै हुने विषय हो । इन्डियन क्यारियरसँग पनि उडानका लागि हामीले प्रयास गरिरहेका छौं,” उनी भन्छन्, “हाल सञ्चालन भइरहेका विमान कम्पनीले नाफा कमाए भन्ने बित्तिकै अन्य पनि आउँछन् ।”

दुई वर्षअघि उद्घाटन भएको गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित उडान हुन नसक्दा हालसम्म निरन्तर घाटा खाइरहेका छन् । चिनियाँ एक्जिम बैंकको ऋणमा बनेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टरबाहेक अन्तराष्ट्रिय उडान हुन सकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro