बारा र पर्साका आँधीबेहरी पीडितलाई सहायताको घोषणा गर्न सरकार र पार्टीहरूबीच होड चलेको छ । प्रधानमन्त्री र विपक्षी दलका नेतामात्र हैन सत्तारुढ दलका अध्यक्षसमेत हेलीकप्टर लिएर घटनास्थलको निरीक्षणमा पुगेका छन् । यसरी राज्यका विभिन्न निकायबाट देखाइएको चासोप्रति पीडितहरू कृतज्ञ हुनुपर्ने हो । तर, स्थलगत विवरण हेर्दा पीडितहरू आक्रोशित हुँदैगएको देखिन्छ । हेलीकप्टरमा आएर सहायताका ठूला कुरा गर्नेहरूले पीडितको तत्कालको आवश्यकता पूरा गर्नेतर्फ खासै ध्यान नदिएको र प्रचारवाजी धेरै गरेको भन्दै उनीहरू आक्रोशित भएका हुन् । आँधीबेहरी गएको ४ दिन बितिसक्ता पनि भरपर्दो बस्ने, खाने बन्दोबस्त भने हुनसकेको छैन । पीडितहरूलाई आक्रोशित बनाउने सबैभन्दा मुख्य कारण यही हुनुपर्छ ।
प्राकृतिक वा मानवीय प्रकोपमा उद्धार, आकस्मिक सहायता र पुनस्र्थापना तथा पुनर्निमाणका विभिन्न चरणमा गर्नुपर्ने काम पनि विविध प्रकृतिको हुन्छ । त्यस्ता काममा संलग्न हुने पात्र र तिनको कार्यशैली बेग्लाबेग्लै हुन्छ । पुनस्र्थापनाको कुनै चरणमा राज्यका विशिष्ट व्यक्तिहरूको चासो र संलग्नता प्रभावकारी हुनसक्छ । तर, उद्धार र आकस्मिक सहयोगको चरणमा भने तिनीहरूको उपस्थितिले सरकारी संयन्त्रको ध्यानसमेत अन्यत्रै लैजाने गर्छ । यसैले अहिले पाल टाँग्ने सिपाही वा टहरा उभ्याउने स्वयंसेवकहरूको बढी खाँचो हुन्छ घटनास्थलमा । यस्तै, अहिले ‘प्री फ्याब’ भवन बनाउने सामग्रीको नभएर तत्काल खान र ओत लाग्ने बन्दोबस्तका लागि उपयोगी सामग्री आवश्यक हुन्छ । हेलीकोप्टरमा नेताहरू ओसार्नुको साटो खाद्यान्न, खानेपानी र औषधी तथा पालहरू लैजान सकिएको भए पीडितहरू पक्कै पनि आक्रोशित हुनेथिएनन् ।
राजनीतिक नेताहरूको ‘मजुरे’ प्रवृत्तिले आकस्मिक सहायता वितरणमा सहयोग पुग्दैन । यस्तै, केन्द्र र प्रदेश सरकारहरूले उपलब्ध गराउने सहयोग पनि स्थानीय तहमार्फत उपलब्ध नगराउने हो भने टाठाबाठाले धेरै पाउने र निमुखा सोझाहरूले केही नपाउने अवस्था उत्पन्न हुनसक्छ । विगतमा आकस्मिक सहायता कारिन्दा र कार्यकर्ता मिलेर बाँडचुँड गरेका अनेकौं उदाहरण हाम्रा सामु छन् । शीर्ष तहका राजनीतिक नेतृत्वलाई उनीहरूको चरित्र र प्रवृत्ति हेर्दा आत्मप्रदर्शन छाडेर पीडितहरूको सहयोगमा ध्यान दिन आग्रह गर्नु सायद हास्यास्पद देखिन सक्छ । तैपनि, हामी उनीहरूलाई पीडितको दीर्घकालीन हितका लागि योजना र कार्यक्रम बनाउन लगाउन आग्रह गर्छौँ । शीर्ष नेतृत्वका लागि सुहाउने र उनीहरूले चासो राखे उपयोगी हुने काम यही हुन्छ । अहिले, उद्धारको चरण सकिएर आकस्मिक सहायताको चरण सुरु भएको छ । यस चरणमा स्थानीय तहका जनप्रतिनिधि, रेडक्रस, उपलब्ध हुनसक्ने सुरक्षाकर्मीलाई अगाडि सार्नु उचित हुनेछ । अनुहार देखाउने लोभले राजनीतिक नेताहरू घटनास्थलमा धेरै झुल्किनु प्रत्युत्पादक हुनसक्छ । पीडितहरूलाई नेताको अनुहार देख्दा पनि दिक्क र क्रुद्ध हुने अवस्थामा किन पुर्याउनू ?