site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले एक लाख नागरिक सडकमा उतार्ने, माओवादीदेखि ‘दरबारिया शक्ति’लाई लगायो यस्तो आरोप 

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले मंसिर ७ गते सडकमा पनि शक्ति प्रदर्शन गर्न लागेको छ ।  एक लाख मानिस सडकमा उतारेर ‘जागरण सभा’ गर्न लागेको एमालेले जनाएको छ ।

ठाउँ सानो हुने आकलन गर्दै एमालेले कार्यक्रम स्थलसमेत परिवर्तन गरेको जनाएको छ ।  

भृकुटीमण्डमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा हुने कार्यक्रमका संयोजकसमेत रहेका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईले बताए । जनसहभागिता बढ्ने भएकाले फराकिलो ठाउँ रोजेको भनाइ उनको छ ।  

Dabur Nepal
NIC Asia

“पहिले भृकुटीमण्डपमा गर्ने भनेका थियौं । सहभागिताको साइज हेर्दा त्यो ठाउँ सानो हुने भयो । त्यसैले दरबारमार्ग गर्ने निर्णय गरेका छौं,” भट्टराईले बुधबार सम्पादकहरुको छलफलमा भने । 

भट्टराईका अनुसार जागरण सभाका प्रमुख वक्ता पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हुनेछन् ।  “एमालेले नै गरिसकेपछि ठूलो जनसंख्या उतानुपर्‍यो । तीन जिल्ला र सम्पर्क कमिटीको पनि उपस्थिति हुने भएकाले एक लाख उतार्ने आकलन गरेको हो,” उनले भने, “त्यहाँभन्दा कम होला तर उल्लेख्य सहभागितासहितको सभा हुनेछ ।”

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।  साढे ११ बजे जुलुुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने भट्टराईले बताए । 

सत्तारूढ दल नै सडकमा किन ? 

सत्ताको नेतृत्व गरिरहेको दल नै सडकमा उत्रने भएपछि किन भन्ने प्रश्न उब्जिएको छ ।  एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्नका लागि जागरण सभा गर्न लागिएको बताए । 

“अराजकता, राजनीतिक विद्वेष, निराशाका विरूद्ध हो,” ज्ञवालीले सम्पादकहरूसँगको छलफलमा भने, “सामाजिक सद्भाव, लोकतन्त्र र सुशासन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो । कुनै राजनीतिक दल, शक्ति विशेष भन्दा पनि यसरी अघि बढ्न खोजेका हौं भन्ने सन्देश दिन लागेका हौं ।” 

उपमहासचिव ज्ञवालीले अराजकता र लोकतन्त्रसँगै जान नसक्ने बताए । 

“अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैनन् । यदि अराजकतालाई प्रसय दिइरह्यो र अराजकतालाई निर्वाध चल्न दिइरहने हो भने त्यसको मूल्य लोकतन्त्रले चुकाउनुपर्छ । त्यसले लोकतन्त्रप्रति वितृष्णा जगाउँछ,” ज्ञवालीले कार्यक्रममा भने ।  

त्यसो भएमा अलोकतान्त्रिक शक्तिले लाभ उठाउँदै शक्ति सञ्चय गर्न सक्ने जोखिम रहेको उनले सुनाए । देशमा केही हुँदैन भन्ने प्रवृत्तिका विरूद्ध आफ््ना कुरा राख्न जरूरी रहेको ज्ञवालीको भनाइ छ । 

एमाले वाग्मती प्रदेश इन्चार्ज भट्टराईले सडकमा जाने भन्नेबित्तिकै मुठभेडका रूपमा नबुझ्न आग्रह गरे । 

“सडकमा जाने भन्नेबित्तिकै मुठभेड भन्ने हुँदैन । दलहरूलाई सडकमा जान दिनुपर्छ,” भट्टराईले भने । 

एमालेले उपनिर्वाचन लक्षित गरेर मंसिर ७ को कार्यक्रम आयोजना गरिएको बताए । मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४२ पदमा उपनिर्वाचन हुँदैछ । 

एमालेको आशंका : माओवादीदेखि दरबारियासम्म एक हुन लागे 

कार्यक्रममा ज्ञवालीले प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि दरबारिया शक्तिहरू एक हुन खोजेको आरोप लगाए ।  ज्ञवालीले प्रचण्डका पछिल्ला अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्दोलनलगायतका विषयमा पार्टीको बुझाइ प्रस्तुत गरे । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्ने फेक सामग्री सेयर गर्नेहरूको प्रकृति एकै खालको रहेको टिप्पणी समेत गरे । 

“अराजकता र अस्थिरताका सबै पात्र एक ठाउँमा आउन खोज्नुभएको हो कि ? एकाध सोलिडारिटी हो कि ? प्रधानमन्त्रीका विरूद्ध आएको फेक डकुमेन्ट सेयर गर्नेहरूमा गजबको शैली देखिन्छ,” उनले भने । 

गल्ती नगरेको भए डराउनुपर्दैन 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि  लामिछाने पक्राउ राजनीतिक प्रतिशोध नभएको बताए ।  सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा उनी छानबिनका लागि हिरासत पुगेको बताए ।  “यो प्रतिशोध हो, नयाँ पार्टीलाई बदला लिन खोजिएको हो । आफ्नालाई जोगाइएको छ भन्ने भाष्य गलत छ,” उनले भने । 

विधिको शासनमा हिजो कुनै ओहदामा पुगेको भनेर कसैले पनि उन्मुक्ति नपाउने दाबी ज्ञवालीको छ ।  उनले रास्वपा सभापति लामिछानेले गल्ती नगरेको भए डराउन आवश्यक नरहेको बताए ।  “यदि उहाँ निर्दोष हुनुहुन्छ भने कानुनी कारबाही फेस गर्नका निम्ति संसय, अफ्ठ्यारो मान्नुपर्दैन,” उनले भने । 

रास्वपाले अरूलाई कानुन लागे पनि आफूहरूलाई लाग्नुहुँदैन भन्ने भाष्य बनाउन खोजेको उनले आरोप लगाए ।  भविष्यमा मुख्य प्रतिष्पर्धी रास्वपासँग नभएको र कांग्रेस–एमाले नै भएको उनको ज्ञवालीले दोहोर्‍याए । 

ज्ञवालीले सरकारले विस्तारै मुलुकको अस्थिरतालाई स्थिरतातिर ल्याउने, बेथितिलाई थितितिर ल्याउने, अर्थतन्त्रको शिथिलतालाई अर्थतन्त्रको गतिशिलतमा ल्याउन सरकार लागिरहेको दाबी गरे ।  उनले सामाजिक अराजकताकाबारेमा दलहरू बोल्नुपर्ने आवश्यकता औंल्याए । 

प्रचण्डमा विचलन देखिएको आरोप 

प्रचण्डबारे ज्ञवालीको टिप्पणी यस्तो छ 
प्रचण्डले रवीन्द्र मिश्रसँग लामो कुराकानी गर्नुभयो । भेटको कुरा रवीन्द्र मिश्रले भन्न मिल्नेमात्रै सल्लाह बमोजिम भनेको भनेर सेयर गर्नुभयो । प्रचण्डको सचिवालयले खण्डन गर्नुभयो । 
अब तीनवर्ष सरकार जाने भो । त्यसपछि पनि एक्लाएक्लै प्रतिष्पर्धा गर्ने भए । यो स्थायित्वको सन्देशले सदावहार अस्थिरतातिर मुलुकलाई लैजान खोज्ने र त्यसबाट लाभ लिन खोज्ने तत्वलाई बेचैनी भएको हो कि ? बेचनी भएका पात्र एक ठाउँमा आउन खोजेको हो कि ? प्रचण्डको पनि अभिव्यक्ति अशोभनीय छ । 
सरकारबाट हटेको केही दिनमै मुलुक बंगलादेश बन्छ भन्ने अभिव्यक्ति दिनुभयो । आफ्नै १३ सांसदले कोसी प्रदेश मान्छौं भनेर भोट हाल्नुभएको छ । 
अहिले पहिचानवादीसँग बसेर कोसी प्रदेश मान्दैनौं भनेर सडकमा जान खोज्नुभएको छ । कुनै बेला भारतविरूद्ध खनिएका खाल्डा देखेकै हौं । अहिले प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्धानमा ‘द हिन्दु’मा दिनुभएको अन्तर्वार्ता खेदजनक छ । 
सरकारविरूद्ध जे–जे हतियार पाइन्छ त्यो प्रयोग गरेर जानुपर्छ भन्ने मनोविज्ञानमा पुग्नुभएको हो कि । अलिकति विचलन जस्तो देखिएको छ । त्यो विचलनभित्र रास्वपा, दरबारका शक्ति सलबलाउन लागिरहेको, समाजमा नकारात्मकता बढ्न थालेको स्थिति छ । देश बन्छ भन्ने सन्देश राजनीतिक दलले दिनुपर्छ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro