एक जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको गाडीले काठमाडौंको व्यस्त सडकमा स्कुटरलाई धक्का दिएर लडाइदियो । भाग्यले स्कुटरमा सवार दम्पती बाँचे । सशस्त्र प्रहरीको मोटरले धक्का दिएको स्पष्ट देखिने भिडियो सामाजिक सञ्जालमा व्यापक भयो । त्यसबाट परेको दबाबले हुनुपर्छ नेपाल प्रहरीले सशस्त्र प्रहरीका अधिकृतहरूको समेत रोहबरमा पीडितहरूलाई बोलाएर मिलापत्र गराएछ । मिलापत्र गराएपछि सम्बन्धित प्रहरी अधिकारीले ‘‘स्कुटर चालककैै गल्ती’’ भएको र ‘‘ठूलो घटना’’ नभएको टिप्पणी गरे । सामाजिक सञ्जालमा व्याप्त भिडियो हेर्दा जनसाधारण भयभीत र आक्रोशित भएका छन् । सामाजिक सञ्जालमा सशस्त्र प्रहरीका चालकको मोटर हँकाइमात्र हैन पूर्वप्रधानमन्त्री प्रति पनि जनआक्रोश प्रकट भएको छ । सडकमा देखिएको सशस्त्र प्रहरीको यस्तो उद्दण्डताले राणाकालका ‘बिजुलीगारत’कै व्यवहारको झल्को दिन्छ ।
सडकमा त्यस्तो उद्दण्डता प्रदर्शन गर्ने चालकमाथि सशस्त्र प्रहरीले नै कारबाही गरी पीडितहरूसँग सार्वजनिकरूपमा माफी मागेर यस्तो क्रियाकलाप दोहोरिन नदिने प्रतिज्ञा गरेको भए लोकतान्त्रिक संस्कारअनुरूप हुन्थ्यो । तर, नेपाल प्रहरीले त ‘मिलापत्र’ गराउन ध्यान दियो । आफ्नो पछुवा गाडीका चालकको उद्दण्डताप्रति नभएर पूर्वप्रधानमन्त्रीको चासो चाहिँ सामाजिक सञ्जालमा आफूप्रति गरिएको टिप्पणीमा रहेछ । यसले उनमा रहेको जनसाधारणलाई मामुली ठान्ने सामन्ती प्रवृत्ति नै उजागर भएको छ । । कि त भिडियो नै नक्कली हो भन्न सक्नुपर्छ नभए सडकमा त्यसरी उद्दण्डता देखाउने चालकमाथि कानुनबमोजिम कारबाही गर्नैपर्छ । विधिको शासन सुरक्षाकर्मीको तजबिजमा हैन नेपालको कानुनअनुसार चल्नुपर्छ ।सडकमा यस्तै उद्दण्डता सार्वजनिक वा निजी सवारी चालकले देखाए भने पनि मिलापत्र गरेर मामिला टुंग्याइने त होला अब ! प्रहरी नायब उपरीक्षकको ‘स्कुटर चालकको गल्ती’ र ‘ठूलो घटना नभएको’ भनाइ झन् बढी संवेदनहीन र आपत्तिजनक छ ।
सुरक्षाकर्मीका यस्ता उद्दण्डतामा ढाकछोप गर्दा तिनमा पनि पूर्वप्रधानमन्त्रीमा जस्तै जनतालाई मामुली ठान्ने रोग लाग्छ । यसले त्यस्तो उद्दण्ड व्यक्तिको मात्र हैन सम्बन्धित संगठन र प्रकारान्तरले राज्यप्रति नै जनतामा वितृष्णा उत्पन्न गराउँछ । यसलाई बानेश्वर वृत्तका प्रहरी नायब उपरीक्षकले भनेजस्तो सानोतिनो घटना भनेर बेवास्ता गर्न मिल्दैन । जनताले थाहा पाएका घटनामा जनताले नै थाहा पाउने गरी कारबाही हुनुपर्छ । यसलाई ‘मानवीय गल्ती’ मान्दा पनि आयन्दा यस्तै प्रकृतिको घटना दोहोरिन नदिने उपाय गर्नुपर्छ । यी पूर्वप्रधानमन्त्रीको गाडीले जत्तिकै उद्दण्ड नभए पनि यस्तै प्रकृतिको ज्यादती सबैजसो पछुवा गाडी चालक सुरक्षाकर्मीले सडकमा दिनहुँ गर्छन् । तिनलाई त्यसरी सडक नियम उल्लंघन गर्ने छुट दिनुपर्ने कारण देखिँदैन । र, लोकतन्त्रमा कसैलाई पनि कानुन मिच्ने विशेषाधिकार हुँदैन । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरूलाईसुरक्षाका नाममा दिइएको रबाफ देखाउने गरी अगाडि र पछाडि सुरक्षाकर्मीको गाडी दौडाउने सुविधा तत्काल रोक्नु उचित हुनेछ । साथै, सशस्त्र प्रहरीले ती उद्दण्ड चालकलाई कारबाही गरेर त्यस्तो व्यवहार संगठनले नसहने सन्देश दिनुपर्छ । नेपाल प्रहरीका अधिकृतहरूले पनि अवचेतनमा रहेको सामन्ती सोच त्यागून् र जनतालाई मामुली ठान्न छाडून् । मापसे गर्ने चालकलाई कक्षा लिएर सुधार्ने ट्राफिक प्रहरीले यस्ता उद्दण्ड चालकलाई पनि कसुरअनुसारको शिक्षा त दिनुपर्ने हो नि !