काठमाडौं । एमालेले सरकारले संविधान संशोधन विधेयक अघि बढाउन नसक्ने जिकिर गरेको छ । एमालेले अदालतको फैसला र विपक्षी दलहरूको अडानका कारण सरकारले संविधान संशोधन विधेयक अघि बढाउन नसक्ने तर्क गरेको हो ।
“एमालेले कुनै हालतमा विधेयक अघि बढाउन दिँदैनौँ भनिरहेको छ, राप्रपाले पनि साथ दिँदैनौँ भनेर स्पष्ट पारिसकेको छ,” एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बाह्रखरीसँग भने, “यो थाहा पाउँदापाउँदै सरकारले कसरी विधेयक अघि बढाउँछ ।”
पूर्वसंविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले एमालेको चार महिने देशव्यापी अभियानबाट सरकार आत्तिएको बताए ।
“नत्र संविधान कार्यान्वयनको दायित्व बोकेको सरकार निर्वाचनबाट पन्छिनुपर्ने कारण छैन,” उनको तर्क थियो, “एमालेको देशव्यापी जागरण अभियानबाट सरकार आत्तिइरहेको छ ।” उनले एमालेले निर्वाचन जित्ने भयले सरकारले चुनाव घोषणा गर्न हिच्किचाएको समेत बताए ।
“०७४ माघभित्रमा तीन तहको निर्वाचन गरिसक्ने गरी संविधानमा सबै नेताहरूले हस्ताक्षर गरेका छन् । कोही निर्वाचनबाट भाग्न पाउँदैन,” उनको तर्क थियो ।
उनले एमालेको दबाब र जागरणबाट बाध्य भएर सरकारले निर्वाचन घोषणा गर्नेसमेत बताए ।
फागुन ४ र ५ गते पोलिटव्यूरो बैठक
समसामयिक तथा २१ फागुनदेखि सुरु गर्न लागेको मेची–महाकाली अभियानका विषयमा छलफल गर्न एमालेले फागुन ४ र ५ गते पार्टी मुख्यालय धुम्बाराहीमा पोलिटव्यूरो बैठकको आह्वान गरेको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक मुख्यतया पार्टीले सञ्चालन गर्न लागेको तराई केन्द्रित अभियान र स्थानीय निर्वाचनका विषयमा छलफल हुनेछ ।
“देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचनका विषयमा दलहरूबीच भएको छलफल, निर्वाचनका विषयमा पार्टीका धारणा आदि विषयमा पार्टी अध्यक्षले कुरा राख्नुहुनेछ, त्यसमा पोलिटव्युरो सदस्यहरूको विचार लिएर निचोड निकालिनेछ,” उनले भने । त्यस्तै २१ फागुनदेखि पार्टीले सुरु गर्न लागेको तराई केन्द्रित मेची–महाकाली जागरण अभियानका विषयमा पार्टीका तयारीका विषयमा पनि छलफल हुने उनको भनाइ थियो ।
एमालेमा पूर्ण र बैकल्पिक गरी कुल ६५ पोलिटव्यूरो सदस्य छन् ।