मेलम्ची । मैले ढाका टोपी । तिलचाम्ले कपाल । खिरिलो जिउज्यान । आकाश धुम्मिएजस्तो अनुहार । यतिले मात्रै उनको परिचय पूरा हुँदैन ।
सिन्धुपाल्चोक, मेलम्ची बजारका यी वृद्ध लयमा उकालो लाग्दै गरेका गोपाल दुलालको अर्को परिचय पनि थपिएको छ, बाढीपीडित ।
२०७२ सालको विस्मयकारी भूकम्पले उनको घर–गोठ खण्डहर तुल्यायो । धूलो टक्टक्याएर उठ्न उनलाई झण्डै चार वर्ष पर्खनुपर्यो । यसबीचमा उनले बगाएको पसिना बेहिसाब छन् ।
तर, दुई वर्ष नबित्दै उनलाई अर्को बज्रपात परेको छ । उनी अहिले आँखै अगाडि बग्दै गरेको घर, पसिना बगाएर उब्जायोग्य तुल्याएको खेत बगर बनेको हेर्न अभिशप्त छन् ।
“हिजो राति सबैजना झिटी–गुन्टा गुठाएर हिँडे । लालाबाला च्यापेर सुरक्षित स्थानतिर लागे । मचाहिँ बगाए पनि बगाओस् भनेर निच मारेर यहीँ बसेँ । जानु पो कहाँ थ्यो र ?,” उनको बोलीमा अनिर्वचनीय पीडा झल्कन्छ ।
झण्डै ७० लाख खर्च गरेर उनले तीन तला घर उभ्याएका हुन् । अझै निर्माण कार्य पूरा हुन बाँकी छ । रङरोगन नसक्दै बाढीले उठेर जा.. भन्न आएपछि आफू निरुपाय भएको र प्रकृतिसँग हात जोडेर याचना गर्नुबाहेक अरू विकल्प नभएको उनी बताउँछन् ।
“घर नजिकै पीपल रोपेको छु । मेलम्ची बजारको दुर्दान्त हेर्दा मेरो घर कसरी बचिरहेको होला लाग्छ । यसो सोच्छु आज रातिसम्म त पक्कै लगिहाल्छ,” उनी भावुक हुँदै सुनाउँछन्, “केही गर्न सकिँदो रहेनछ त !”
उनी वृद्धतिर उकालो चढ्दैछन् । झण्डै १२ जनाको परिवार छ । छोरा–नातीकै लागि भनेर केही जायजेथा बेचे । केही ऋण गरेर घर उभ्याए । अहिले घरछेउबाट खोलो हिँड्दा मन त्यसैत्यसै भक्कानिएर आएको छ । डाँको छाडेर रुन मन लागेको छ ।
घर मात्रै लगे त फेरि उभ्याउन हुन्थ्यो । भूकम्पले ढलाएको घर पनि उनले मिहिनेतले उभ्याएकै हुन् । घर वरिपरिको साढे दुई रोपनी खेत पनि बगर बन्न लागेपछि उनलाई प्रकृतिदेखि उदेक लागेर आएको छ । छातीमा आक्रोशको ज्वाला दन्कँदो छ ।
निर्धोलाई नै ङ्याक्ने प्रकृतिको प्रवृत्ति देखेर एक मन त उनलाई विरक्त पनि लाग्छ । तर, अहिले आफ्नो मात्र होइन भनेर आफैँलाई थामथुम पारेका छन् ।
“मेरो घरबाट खोलामा पुग्न झण्डै दसमिनेट लाग्थ्यो । अहिले करेसामा खोलो सुसाइरहेको छ । कतिबेला लाने हो पत्तो छैन । त्यत्रो बजार बगर बनाइसकेको छ,” उनी भन्छन्, “अरूको हेरेर पनि चित्त बुझाएको छु ।”
पहिराको डरले भूकम्प गएको थलोमा घर नबनाएका उनले खोलाको मुखमा परिएला भनेर कहिल्यै सोचेनन् । सोचुन् पनि कसरी ! इन्द्रावतीको त्यो रूपसँगको उनको साक्षात्कार कहिल्यै भएको थिएन ।
“सबैथोक गुमाएपछि सरकारको बाटो हेर्न मन लाग्दो रहेछ । सक्ने हुँदा सरकारको बाटो हेरिएको पनि थिएन,” उनी हारमान्नु हुँदै सुनाउँछन्, “सरकार ! हामी बोल्न जान्दैनौँ । घर व्यवहारले थिचेको छ । ऋण छ । तिर्ने आधार खोलाले खाइदिइहाल्यो । हामी बोल्न पनि जान्दैनौँ । हामीलाई हेर है ।”
भिडियाे :