मेलम्ची । बर्सेनि विपत्ति, भवितव्यबाट ताडित बन्दै आएको सिन्धुपाल्चोक यसवर्ष वर्षात्को सुरुमै बाढीको चपेटामा परेको । गत वर्ष भदौ २७ गते पूर्वीसिन्धुपाल्चोको बाह्रबिसे नगर क्षेत्रको नागपुजेमा अकल्पनीय पहिरो गएको थियो । समथर भूभाग पनि पहिराले भोटेकोसी नदीमा मिसाइदिएपछि त्यहाँका ८० घर परिवार विस्थापित हुन पुगेका थिए । अहिले पनि त्यहाँका नागरिकले घर बनाउन सकेका छैनन् । त्रिपालको ओतमुनि रात बिताउनु परिरहेको छ ।
यस वर्ष वर्षाको सुरुआतमै सिन्धुपाल्चोकको उत्तरपश्चिम क्षेत्रले बाढीको त्रासदी खप्नु परेको छ । पश्चिमी क्षेत्रबाट बगेर आउने मेलम्ची र उत्तरी क्षेत्रबाट बगरे आउने इन्द्रावतीको सङ्गल स्थल भए पनि मेलम्चीको तटवर्ती बजार सुरक्षित नै थियो । बजार क्षेत्रबाट ५० मिटर तलबाट खोलो बग्ने हुनाले डुबानको भय नभएको स्थानीय बताउँछन् ।
तर, हेलम्बु गाउँपालिकाको भ्रातेकतेक (मेलम्ची र तार्के घ्याङको बीचको भूभाग) क्षेत्रमा खसेको पहिरोले नदी थुनिएको थियो । खोलिएको नदीले नै तल्लो तटीय क्षेत्र बगरमा परिणत गरेको हो ।
तिम्ब, किउल, ग्याल्थुम, तालामाराङ, मेलम्ची आदि बजारले अहिले पनि बाढीको धक्का बेहोरिरहेकै छ । पहिराको लेदोसहितको भँगालो बचेखुचेका संरचना खण्डहर बनाइरहेको स्थानीयबासी बताउँछन् । झरी नथामिएकाले विपत्ति टरिनसकेको पनि उनीहरूको भनाइ छ ।
बुधबार दिउँसो मेलम्ची इलाका प्रहरी कार्यालय दक्षिण, मन शान्ति वस्ती पुग्दा माओवादी केन्द्रका स्थानीय नेता श्याम खड्का नदीको भँगालाभित्र परेको आफ्नो घर हेरिरहेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेलम्ची नगरको उमेदवार बनेर पराजित (४ हजार ८२० मत ल्याएर) भए पनि गाउँ क्षेत्रमा उनको छवि समाजसेवीको रूपमा स्थापित थियो । घरजग्गाको कारोबारी पनि भएकाले उनले आफ्नो घर वरपर मनग्गे जग्गा बाँडेका थिए । उनकै जग्गामा नगरपालिकाले समेत संरचना तयार पार्दै थियो ।
लेदो र विशालकाय ढुङ्गाले इन्द्रावती नदीको बहाव परिवर्तन हुँदा अहिले खोल सीधै उनको घरतिर सोझिएको छ । अहिले उनी हरबखत बाढीको धक्काको सामना गरिरहेको घर हेर्न अभिशप्त छन् । जीवनभरको पसिना भेल निल्न लागेको टुलुटुलु हेर्न विवश छन् ।
अहिले सामाजिक सञ्जालमा नदी तटीय क्षेत्र मिचेर संरचना उभ्याउँदा बाढीको वितण्डा बेहोर्नु परेको टिप्पणी भइरहेको छ । यसले पनि उनीहरूलाई विक्षिप्त तुल्याएको छ ।
यसकारण कि, लेदो भरिँदा मेलम्ची नदी प्राकृति सतह–बहावभन्दा ४०–५० मिटरसम्म माथि आएको छ । बाजेबराजुको पालादेखि भोगचलन गर्दै आएको र आफ्नै लालपुर्जाको जग्गाभित्र घर–संरचना तयार पारेका उनीहरूले अहिले बाढीको वितण्डा बेहोरिरहेका छन् ।
“यहाँबाट झण्डै ५० मिटरको दूरीमा खोलो थियो । यति माथिसम्म आउला भनेर कहिल्यै चिताइएन,” खड्का थप्छन्, “बाढीको जोखिम नरहेकैले हामीले यहाँ आवास क्षेत्र बनाएका थियौँ र मनशान्ति टोल राखेका थियौँ । सबैभन्दा बढी अशान्त र आक्रान्त यही बस्ती छ । हेर्नुस् त बाढीले छोपिन बाँकी केही छैन ।”
दुई ठूलो खोला मिसिएको इन्द्रावतीले वर्षात्को समयमा स्वाभाविक हिसाबले विराट रूप धारण गर्छ । १६ वर्षअघि पनि इन्द्रावतीमा ठूलो बाढी आएको थियो । बगर बिराएर बनाएका खेतहरूलाई आफ्नो आहारा बनाएको थियो ।
तर, यसपटक यस शताब्दीमै नदेखिएको बाढीको सामना मेलम्ची क्षेत्रले गरेको खड्का बताउँछन् । बाढीले अहिलेसम्म नवलपुर–मेलम्ची जोड्न पक्की पुल, चारवटा झोलुङ्गे पुल बगाएको छ । हेलम्बु गाउँपालिका क्षेत्रको क्षतिको यकिन विवरण आउन बाँकी छ । बढी क्षति मेलम्ची बजार क्षेत्रमै देखिएको खड्का बताउँछन् ।
“घरखेत सबै बगाएर सुकुम्बासी नै तुल्याए पनि मैले आफूलाई राहत आवश्यक पर्ने देखेको छैन । तर, यहाँ कयौँ यस्ता परिवार छन् । उनीहरू हातमुख जोड्न सक्ने अवस्थामा पनि छैनन् । अकल्पनीय बाढी आएकाले कतिपयले आफ्ना लुगाफाटोसमेत निकाल्न पाएनन् । उनीहरूलाई तत्काल राहत र बासको आवश्यकता छ । यो कुरा कसरी व्यवस्थापन गर्ने ? उनीहरूलाई सरकार, राज्य छ भन्ने कुराको अनुभूति कसरी दिलाउने ? आजको मुख्य चुनौती यही हो,” उनी सुनाउँछन् ।
भिडियो हेर्नोस्–