‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ । तीनवर्ष अघि नै हुनुपर्ने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको हो ।
विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेसंगै चारपटक मिति सरेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो । सातौं राष्ट्रिय खेलकुदको समापन भने एन्फा टेक्निकल सेन्टर धरानमा पुस १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघि गतवर्ष मङ्सिर र माघमा तथा यसवर्ष पनि मंसिर ८–१५ मा प्रतियोगिता गराउने निर्णय गरेको थियो । तर, भौतिक पूर्वाधार र खेल मैदानको काम नसकिँदा प्रतियोगिता एक महिनापछि सरेको हो ।
सातौं राष्ट्रिय खेलकुदको उद्घाटनका अवसरमा तेक्वान्दोका किर्तिमानी खेलाडी दिपक बिष्ट लगायत विभिन्न ओलम्पियनले धनगढी रंगशालाबाट ल्याएको मसाल पूर्वान्चलका सात ओलम्पियनलाई हस्तान्तरण गरिएको थियो । बिष्टसहित हरि रोकाया, बिमला राना मगर,जित बहादुर केसी, टिका बोगटी, बिष्णु सिह र कृष्ण बस्नेतले धनगढीबाट ल्याएको ओलम्पिक मसाल पुर्वान्चलका ओलम्पियनहरु पुस्प राज ओझा, नरेन्द्र पोमा,अर्जुन पण्डित,डमर कुवर,मेनुका राउत,चन्द्र कला थापा र टिकाराम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै उद्घाटनको अवसरमा पूर्वाञ्चलको पहिचान झल्काउने झाँकी र नाचगान प्रदर्शन गरिएको थियो । उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्रि दलजित श्रीपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिब महेस प्रसाद दाहाल, राखेप सदस्यसचिब केशब कुमार बिष्ट लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रत्येक २ वर्षमा हुने गरि २०३८ भदौमा काठमाडौंमा शुरु भएको राष्ट्रिय खेलकुद ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा सुरु हुन लागेको हो । र, सातौ राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आगामी पुस १५ गतेसम्म चल्नेछ । सातौँमा प्रदर्शनी खेलसहित ३५ खेल समावेश छ । प्रतियोगिताको केहि खेलहरु भने यसअघि नै सुरु भइरहेको छ ।
सातौँ राष्ट्रिय खेलकुदको सबैभन्दा धेरै खेल सुनसरी जिल्लामा हुनेछ । सुनसरीमा ११ खेल हुनेछ । यस्तै मोरङमा १०, झापामा पाँच, सिरहा, धनकुटा, ललितपुर, उदयपुर र कास्कीमा समान एक–एक खेल हुनेछ ।
प्रतियोगितामा पदक गणना हुने र नहुने गरि क्षेत्रीय छनौटमार्फत ४ हजार ३ सय १० र प्रत्यक्ष सहभागितातर्फ १ हजार ५ सय ३९ गरि ५ हजार ८ सय ४९ खेलाडीहरुले भाग लिएका छन् ।
प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएएफ क्लबसहित पाँच विकास क्षेत्रले सहभागिता जनाउनेछन् । सातौं राष्ट्रिय खेलकुदमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कांस्य गरि १ हजार ३५ पदकको लागि प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा स्क्वास, साक्लिङ, आर्चरी र फेन्सिङको पदक तालिकामा गणना हुने छैन । यसपटक रग्वी, डान्स स्पोर्टस, साम्वो, रक क्लाइम्विङ र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । त्यसमध्ये ट्रायथलन पोखरा तथा शारीरिक सुगठन र पौडी ललितपुरको सातदोबाटोमा सम्पन्न भइसकेको छ ।
यस्तै एथलेटिक्सको विभिन्न स्पर्धा मध्ये पुरुष/महिलाको म्याराथन विराटनगरमै सम्पन्न भइसकेको छ । गल्फ र स्नुकर परिषद्को व्यवस्थापनमा सम्बन्धित राष्ट्रिय संघले नै सञ्चालन गर्नेछ । ३० खेलको प्रतिस्पर्धा मध्ये स्क्वास ललितपुर, फेन्सिङ काठमाडौं र लनटेनिस पोखरामा खेलाइने छ ।