अर्थ व्यवसाय
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले दुई साताभित्र चौथो पुस्ता (फोर जी) सेवा सञ्चालनको अनुमति पाउने भएको छ । केही दिन अघि नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको सेवाप्रदायक एनसेलसँग विस्तृत कार्ययोजना माग गरेको थियो ।
एनसेलले पेस गरेको विस्तृत कार्ययोजना एक हप्ताभित्र प्राधिरकणले अध्ययन गर्ने र त्यसो एक हप्ताभित्र फोरजी अनुमति दिने गरी काम भइरहेको प्राधिकरण स्रोतले बताएको छ ।
फोर जी सेवा सञ्चालनको लागि फ्रक्वेन्सी, मूल्य, समयतालिका जस्ता विविध विषयमा कार्ययोजना पेस गर्नको लागि प्राधिकरणबाट पत्र आएको एनसेलका कर्पोरेट संवादविज्ञ मिलनमणी शर्माले जानकारी दिए ।
सेवा सञ्चालनको लागि एक प्रकारको अनुमतिजस्तै मानियो यो कार्ययोजना माग गरेसँगै एनसेलले पनि फोर जी सेवा सञ्चालनको अनुमति पाउने करिब करिब पक्का भएको छ ।
केही समय अगाडि संसोधन गरिएको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धाराण नीतिले १८०० ब्यान्डमा प्रबिधि तटस्थ गरेर फोर जी सेवा सञ्चालन गर्न दिइने व्यवस्था गरेको छ ।
उक्त नीतिले गरेको व्यवस्था अनुसार हरेक सेवाप्रदायकलाई उक्त ब्यान्डमा २० मेगाहर्ज फ्रिक्वेन्सी दिन सकिने नीति लिएको छ । सोही नीतिको व्यवस्था अनुसार एनसेलले थप फ्रिक्वेन्सी र प्रविधि तटस्थको लागि प्राधिकरणसमक्ष निवदेन दिएको थियो ।
यसअघि नेपाल टेलिकम र एनसेललेसँगै आवेदन दिएको भए पनि टेलिकमले यसअघि नै अनुमति पाइसकेको छ । उसलाई पुस १७ गतेदेखि व्यावसायिकरुपमा फोरजी सेवा सञ्चालनको अनुमति प्राधिकरणले दिइसकेको छ ।
एनसेलले भने अनुमति पाउने बित्तिकै सेवा सञ्चालनको लागि द्रुतगतिमा काम अगाडि बढाउने र अपेक्षा गरिएभन्दा छिटो सेवा सञ्चालन गरिसक्ने योजना बनाएको शर्माले जानकारी दिए ।
आधारभूत संरचनाहरुले अहिले नै मौजुदा भएकोले केही सफ्टवेयर इन्स्टल गर्नुपर्ने र केही विशेष उपकरणमात्र आयात गर्नुपर्ने भएकोले धेरै समय नलाग्ने शर्मालेका दाबी छ ।
सेवा सञ्चालनको अनुमति नपाउन्जेल फोरजीकै लागि भनेर उपकरण खरिद गर्न पाइदैन । अनुमति पाए पछिमात्र उपकरण खरिद गर्न पाउने व्यवस्था रहेको छ ।
यस अघि नै नेपाल टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनको लागि प्राधिकरणबाट अनुमति पाइसकेको छ । टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डमार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्ने छ ।
यो सँगै टेलिकमले अब १० मेगाहर्जबाट ‘टुजी’ र ‘थ्री जी’ सेवालाई निरन्तर गर्नेछ भने ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्नेछ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाका अनुसार दसैभन्दा अघि नै टेलिकमलाई ‘फोर जी’ सेवा सञ्चालकनको लागि आवश्यक कार्ययोजना माग गरेको थियो । उक्त कार्ययोजनाको आधारमा प्राधिकरणले टेलिकमलाई ‘फोर जी’ सेवाको लागि अनुमति प्रदान गरेको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १६:१५
प्रतिक्रिया दिनुहोस्