विशेष
काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुस गिरानचौरमा गाडीबाट खसाल्दै गरेको ब्लक गन्दै थिए, एकजना वयोवृद्ध लट्ठी टेक्दै आएर अनुनय– विनय गर्न थाले–“बाबु हाम्रो पनि घर बनाइदिनुहोस् न, छोराहरूको कानमा बतास लागेन, सरकारले कहिले पैसा दिने हो, पालमै प्राण बित्छ कि भन्ने पीर भयो ।”
ती वृद्धको कुरा सुनेर धुर्मुस केहीबेर भावुक पनि बने र जवाफ फर्काए– “बनाउन त हुन्थ्यो बाजे तर हामी एकीकृत बस्तीमात्रै बनाउँछौँ, गाउँले सबैको सहमति भयो भने हामी आउँला नि त्यहाँ, त्यसभन्दा अघि यहाँको बस्ती पनि त बनाइसक्नु पर्यो नि !”
ती वृद्ध दिनभर बस्ती घुमे र बेलुकी पख घर फर्किए ।
धुर्मुस सुनाउँछन्, “यसरी बस्ती बनाउनुपर्यो भने आग्रह गर्नेहरू दिनमै दश पन्ध्रजना आउनुहुन्थ्यो, सबैका घर भत्किएका छन्, दुई वर्ष बित्न लाग्दा पनि नबनेपछि उहाँहरूले आशा व्यक्त गर्नु स्वभाविकै हो ।”
“गोरखा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकको दर्जन बढी ठाउँबाट प्रस्ताव आए होलान्, हामी राज्यलाई सघाउन हिँडेका योद्धा हौँ, दुई ठाउँमा नमुना बस्ती बनाएर छोटै समयमा यसरी एकीकृत बस्ती बनाउन सकिन्छ भनेर उदाहरण देखाइसकेका छौँ, यस विषयमा राज्यले सोचोस्,” धुर्मुस् अगाडि थप्छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले करिब पाँच महिनाको अथक मेहनतमा गिरानचौरको बस्ती तयार भएको हो । बस्ती बनाउन ६ करोड १३ लाख रकम संकलन भएमध्ये ५ करोड १७ लाख रुपैयाँ खर्च भएको फाउन्डेसनले जानकारी दिएको छ । हाम्रोजस्तो मुलुकमा एकीकृत बस्ती अपरिहार्य भए पनि समाजलाई एकीकृत बनाउन साह्रै गाह्रो हुने धुर्मुस सुन्तलीको अनुभव छ । धुर्मुस् भन्छन्, “समाज एकिकृत गर्न सकिए त विकासको मुल फुटिहाल्यो नि समाजमा छरिएका मानिसलाई जुटाउनै गाह्रो छ !”
अब के गर्छन् धुर्मुस– सुन्तली ?
सबैले सोध्ने एउटै प्रश्न हो– धुर्मुस– सुन्तली अब के गर्छन् ?
फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरे भन्छिन्– हाम्रो काम कलाकारिता पनि हो, केही समय कलाकारिता गर्छौं र फाउन्डेसनलाई प्राप्त सल्लाह–सुझाव मुताविक नै अघि बढ्छौँ ।
सीतारामको जवाफ पनि त्यस्तै छ– दिनरात नभनी गिरानचौर खटेर बनायौँ, त्यहाँ पर्यटन प्रवद्र्धनका लागि केही प्राविधिक कामहरू बाँकी छ । केही समय कलाकारितामा फर्किएर यसबारे निर्णय लिन्छौँ ।
बस्ती बनाउन सजिलो छैन
बस्ती हस्तान्तरण समारोहमा हरिवंश आचार्यले जिब्रो काढेका थिए– यस्तो भौगोलिक जटिलतायुक्त ठाउँमा धुर्मुस– सुन्तलीले आएर कसरी यस्तो सुन्दर बस्ती निर्माण गरे होला ! मेरो मन भक्कानीयो ।
बाटोको असुविधा मात्रै होइन, खानी पानी लगायतका पूर्वाधारको केही सुविधा थिएन गिरान्चौरमा । तथापि गरे के हुँदैन र जे पनि सम्भव हुन्छ भन्ने कुराको गतिलो उदाहरण बन्यो गिरान्चौर एकीकृत बस्ती ।
तर, सिन्धुपाल्चोक जस्तै भूकम्प अति प्रभावित अन्य जिल्लामा एकीकृत बस्ती निकै जटील छ । त्यसका लागि राज्यले नै नीति बनाएर बस्ती विकासको योजना बनाउनु पर्ने राय धुर्मुसको छ । धुर्मुस थप्छन्, “विकासको समानुपातिक वितरण र जनमानसका समानताको छनक दिन पनि एकीकृत बस्ती र त्यहाँ निर्मित संरचना काफी हुँदो रहेछ ।”
१८ महिनामा जग पनि खनिएन
धुर्मुस– सुन्तलीले एक वर्षको अन्तरालमा दुई बस्ती उभ्याइसक्दा सरकारले भत्किएका भग्नावशेष पन्छाएर जग समेत खन्न सकेको छैन । त्यसर्थ फाउन्डेसनको काम सरकारलाई चुनौती पनि हो । सिन्धुपाल्चोक जिल्लामै दश हजार बढी भूकम्प पीडितले अहिलेसम्म पहिलो किस्ता समेत पाउन सकेका छैनन् भने किस्ता पाएका पीडितहरूले भग्नावशेष पन्छाउन समेत सकेका छैनन् ।
धुर्मुसको अनुभव छ, “बस्ती निर्माणका लागि नीति मात्र भएर हुँदैन, जनशक्ति परिचालन र कामको अनुगनम पनि त्यस्तै हुनुपर्छ । गिरानचौर त्यसको पनि उदाहरण हो ।”
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ १२:१८
प्रतिक्रिया दिनुहोस्