site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगीतले जन्माएको अनुरागी
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
मादल ल्याइदिएपछि स्कुल गएँ
मेरो जन्म बाग्लुङको भकुण्डे गाविसमा भएको हो । दलित र सीमान्त विश्वकर्मा परिवारमा जन्म भए पनि आमाबाले बलबुताले भ्याएसम्म हामीलाई लालनपालन गर्नुभयो, कुनै कुराको कमी हुन दिनु भएन । आठ सन्तानमध्ये म साइँलो थिएँ । तर, स्कुल जान भनेपछि ज्यान जाओस् नमान्ने !
खै के भएर हो कुन्नी मैले आमाबालाई अत्तो थापेछु– मादल ल्याइदिए विद्यालय जान्छु नत्र मरिकाटे जान्नँ ।
आमाले ‘साइँलो मादल नभइ स्कुले जान्न भनेर झगडा गर्छ, लौन मादल खोज्दिनुहोस्’ भनेपछि बाबुले दश गाउँ चहारेर मादल ल्याइदिनु भएछ !  कहिले घरमै बजाउँथे, कहिले मादलै बोकेर स्कुल जान्थें म ! स्थानीय भैरव माध्यामिक विद्यालयबाटै मेरो अक्षर आरम्भ भएको हो । 
बा घरमा आरन चलाउनुहुन्थ्यो । बिहान उदयाचलदेखि अबेर रातिसम्म उहाँ आरनमै व्यस्त हुनुहुन्थ्यो, खाना खानसमेत फुर्सद नहुने । फलामको काम अति गाह्रो पनि । फेरि बुबा असाध्यै राम्रो खुकुरी बनाउनुहुन्थ्यो, दश गाउँ नाम कहलाएका । काठमाडौँको आर्मीका ब्यारेकहरूबाट समेत हजार-दुई हजार खुकुरी बनाउन ‘अर्डर आउँथ्यो । सेना प्रहरीले पोशाकसँगै बोक्ने खुकुरी बनाउन माहिर हुनुहुन्थ्यो उहाँ ।
बा आरनमा बसेर अनुहार हेर्नमिल्दो चमचमाउने खुकुरी बनाउनुहुन्थ्यो, म नजिकै बसेर उहाँले खुकुरीमा पाइन हालेको र धार लगाएको हेरिरहन्थेँ, कहिले खलाँती घुमाएर सहयोग पनि गरिरहन्थेँ ।
गाउँमा सबैले मलाई बाबुराम भनेर बोलाउँथे तर स्कुलमा पुगेपछि म बलबहादुर पो भएँ । बलबहादुर हुनुमा रोचक प्रसंग छ–
हाम्रो इन्द्रेणी गाउँमा मगर समुदायको बाहुल्यता छ । हामी केही घर विश्वकर्मा परिवार बाहेक गावैं मगरहरू को हो भन्दा फरक पर्दैन । 
अधिकांश मगर समुदायका विद्यार्थीहरू पढ्न आउने हुँदा हाजिरीकापीमा कक्षा शिक्षकले नाम र पछाडि बहादुर अनि थर लेखिदिने गर्दा रहेछन् । 
नाम लेख्ने र बहादुरको ठाउँमा ऐजन ऐजन गरिदिने हुँदा सजिलोको लागि सरहरूले मेरो नाम पनि बलबहादुर बनाइदिनु भएछ तर त्यो नामले न मलाई कसैले बोलायो न मलाई नै प्रिय लाग्यो । केवल नागरिकता र शैक्षिक प्रमाणपत्रमा मात्रै सीमित रह्यो त्यो नाम ।
आठ कक्षामा पढ्दा सारङ्गी बनाएँ
पढाइमा अब्बल नै थिइन तर कमजोर पनि कहिल्यै भइनँ । कक्षाको दोश्रो विद्यार्थी थिएँ म । वाद्यवादनमा औधी रुची थियो मेरो । सानामा अरुले बाँसुरी, मुरली बजाएको र गीत गाएको सुनेपछि मेरो मन भरंग हुन्थ्यो । मेलापात, भारोपर्ममा आमाले मनछुने गीत गाउनुहुन्थ्यो । त्यसले पनि मलाई गीतसंगीतमा लाग्न उत्साहित बनाइरहन्थ्यो । सुरुदेखि नै मादल बजाउने भएकाले पारङ्गत थिएँ । तर, बाँसुरी बजाउन मेसो नपुर्‍याउने । बाँस काटेर प्वाल पार्ने र रेडियो सुन्दै त्यहाँका भाका बाँसुरीमा उतार्न बिस्तारै सिकेँ । 
त्यस्तैमा हुटहुटी जाग्यो सारङ्गी बोक्ने !
त्यतिबेला पोखरातिरका गन्धर्वहरू कर्खा गाउँदै बाग्लुङ पुग्थे र चौतारीमा मानिस भेला पारेर आँसु चुहाउने गरी विरह गाउँथे । म नजिक बसेर उनीहरूले गीत गाएको सुन्थेँ र भित्रभित्रै सपना बुन्थेँ– त्यसैगरी मानिसहरूको मन पगाल्न सके कस्तो हुन्थ्यो ! यसरी कहिले गाउन सक्ने हुँला म ?
उनीहरूको सारङ्गी र उनीहरूको पोका बोकेर उनीहरूसँगै गाउँसमेत डुल्थेँ म । एकछिन सारङ्गी बोक्ने पाउँदा पनि मन आनन्दित हुन्थ्यो । आठ कक्षा पढ्ने बेलामा भने सारङ्गी बनाउने भूत पो सवार भया !
सुनेको थिएँ– सारङ्गी बनाउन खिर्रोको काठ चाहिन्छ । तर बाग्लुङमा खिर्रो सजिलरी कहाँ पाइन्थ्यो र ! झारझार र बनबन गरेर खिर्रोको काठ खोजेँ ।
गाउँबाट धेरै टाढा सामुदायिक बनमा खिर्रो फेला पारेको थिएँ उतिबेला । दिउँसो काट्दा बनले समात्छ भनेर मध्यरात साथीको सहयोगमा रुख काटेँ, बोकेर ल्याउँदा आधा बिहान भएको थियो ।
मध्यरात त्यत्रो जंगल कसरी छिचोल्यौँ होला, बाघ भालुको पनि उस्तै भया थियो, अहिले सम्झँदा पनि जिउमा काँडा उम्रन्छ !
ज्यान माया मारेर खिर्रो त फेला पारेँ तर तार के बाट बनाउने ? अर्को अप्ठ्यारो आइलाग्यो ! गाउँगाउँ चहारेर प्यारासुटको भित्री भाग चुँडालेर तार बनाएँ । त्यस्तै आपत पर्‍यो धनु (बो) बनाउन ।
घोडाको पुच्छरबाट धनु बनाइने रहेछ । त्यो नपाएपछि केतुके काटेर त्यसलाई पानीमा ढड्याएर र त्यसबाट निस्किएको रेसाले धनु बनाएको थिएँ मैले ।
मादल, बाँसुरी र सारंगी बजाउनमा बिस्तारै अभ्यस्त हुनथालेपछि गाउँमा मेरो चर्चा हुन थाल्यो । विद्यालयका कार्यक्रममा मात्र होइन गाउँका मेलाहरूमा पनि बोलाइन पो थालेँ म । त्यतिबेला म नाटकहरूमा आफैँ बजाउने मात्रै होइन अरुलाई सिकाउनेसमेत गर्दथेँ ।
त्यसपछि आएँ पोखरा
कखरा सिकेकै विद्यालयबाट ०४८ मा प्रवेशिका परीक्षा दिएँ । ०४९ मा नतिजा सार्वजनिक भयो । ५०–५५ जनाले परीक्षा दिएको मध्ये मुस्किलले तीन जना उत्तीर्ण हुन सफल भए । त्यसमध्ये एक म पनि थिएँ ।
आरन चलाएर जीविकोपार्जन गर्ने विश्वकर्मा परिवारबाट एसएलसी उत्तीर्ण हुनु त्यसबेला निकै गौरबको कुरा थियो । एक किसिमले भन्नुपर्दा त्यो हाम्रो परिवारको उच्च सपना थियो । त्यो पूरा भएपछि बा निकै खुसी हुनुभयो । र त्यसपछि भन्न थाल्नुभयो– तैंले मेरो सपना पूरा गरिस्, अब तैंले जति भन्छस् त्यति र जे भन्छस् त्यही पढाइदिन्छु ।
मेरो रोजाइ पोखरा पर्‍यो । पोखरा नेपालको सुन्दर नगरी मात्र होइन शैक्षिक केन्द्र पनि हो । र, हाम्रो नजिकको सहर पनि ।
पोखरासँगको भौगोलिक दूरी त्यति टाढा नभए पनि म खासै पोखरा गएको थिइनँ । बाग्लुङबाट पोखरा पुग्न उतिबेला त्यस्तै चार घण्टाको कच्चि बाटो छिचोल्नु पर्‍थ्यो । चल्न त ट्रक चल्थ्यो तर मानिस खचाखच भरिएर चढ्नै नसक्ने ! 
पोखरा आएपछि म पृथ्वीनारायण क्याम्पस पोखरामा शिक्षा शास्त्र संकायमा गणित र स्वास्थ्य शारीरिक विषयमा आइएमा भर्ना भएँ । हुन त सुरुमा गणित र विज्ञान विषयमा भर्ना भएको थिएँ तर दुवै गाह्रो विषय लिएपछि उत्तीर्ण हुन गाह्रो होला भन्ठानेर पछि विषय परिवर्तन गरेको थिएँ । त्यपछि संगीतको कक्षा लिन पछि सुरु गरेँ । 
० ० ०
विधिको बिडम्बना भनुँ या नियतिको दुष्चक्र । प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्ष सक्दा नसक्दै मेरो जीवनमा बज्रपात आइलाग्यो । पीएन क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका दाजुहरूलाई अनुरोध गरेर छात्रावासमा बस्न थालेको केही समय मात्रै भएको थियो । सधैँ घरबाट ल्याएर पनि नसकिने, आफ्नो पनि कमाई छैन । घरमा केही राहत होला भन्ने ठानेँ । 
कात्तिक–मंसिरको महिना पढ्न भनेर कक्षामा के पुगेको थिएँ, स्ववियुको एकजना दाइ  कक्षाभित्र पस्नुभयो र भन्नुभयो– यहाँ बलबहादुर विश्वकर्मा भनेको को हो, उहाँलाई तुरुन्त गण्डकी अस्पताल पठाइदिनु भनेर आकस्मिक फोन आएको छ । यति भनेर उहाँ जानुभयो ।
त्यतिबेला आजको जस्तो फोन सुविधा थिएन, स्ववियुको कार्यालयमा फोन, चिठ्ठीपत्र आउँथ्यो । मेरो मनमा भुइँचालो गयो– को ल्याएको होला अस्पतालमा, हे शिव ! 
आ... गाउँका कोही ल्याएका होलान् भनेर हतार–हतार अस्पताल पुग्छु त मेरो आँखाले पत्याउनै नसक्ने दृष्य पो देख्यो ।
बा अस्पतालको शैय्यामा हुनुहुँदो रहेछ ! सबै कुशलमंगल रहेको खबर पाएको थिएँ । तर, त्यसको दुई दिन नबित्दै बालाई अस्पतालको आकस्मिक उपचार कक्षमा देख्दा सुरुमा त मलाई विश्वासै लागेन ।
तर, विश्वास नगरी धर थिएन । दिनभरी फाँटमा परालको दाइँ हालेर साँझ मुलाको चाना काटेर सुत्न ओछ्यानमा जानु भएको बा अचानक बेहोस भएर भर्‍याङबाट लड्न पुग्नु भएछ । त्यो रात घरमै कुरेर भोलिपल्ट बोकेर बाग्लुङ अस्पताल पुर्‍याउँदा अस्पतालले ‘यहाँ हुँदैन पोखरा लानु’ भनेपछि त्यहाँ ल्याइपुर्‍याइएको रहेछ ।
म पुग्दा सबै पिल्पिलाउँदो मुख लगाएर बसिरहेका ।  बाको नजिकै गएँ, उहाँले बरर्र आँसु झार्नु भयो । साथै हातका औंला चलाएजस्तो पनि गर्नुभयो ।
त्यो देखेपछि चिकित्सकहरूले केही सुधारको संकेत गरे । होस खुल्ने आशा गरे । बाले औँला चलाएको र म पनि आइपुगिसकेको हुनाले काका र गाउँका अरु मानिसहरू भन्न थाल्नुभयो– अब हामी जान्छौँ, तिमी आमा छोरा यहीँ बस । न आत्तिनु, ठाउँमा ल्याएका छौँ, यहाँ खर्च बढाउन बसेर मात्रै के गर्नू, हामी बसेर निको हुने होइन ।
उहाँहरू गएपछि बालाई झन् गाह्रो भयो । होस खुल्नु त कता हो कता रातको नौ बजे बाको प्राण पखेरु उड्यो, बासँगको अन्ति भेट पो भयो त्यो ! चिकित्सकले मृत घोषणा गरिदिए । 
छाँगाबाट खसेँ म । भर्खर १६ वर्षमा टेकेको थिएँ, आकाशै आफू अगाडि ड्यांग बजारिएको भान भयो । बाको निधनको खबर सुन्ने बित्तिकै आमा बेहोस हुनुभयो ।
फर्किएका काकालगायत गाउँका मानिस बीच बाटोमा पुगेका हुँदा हुन्, उहाँहरूलाई कसरी बोलाउनु ? जेठा दाइ भारतीय सेनामा हुनहुन्थ्यो, उहाँ आउने कुरा भएन, दुई दिदीहरूको विवाह भइसकेको थियो, उनीहरूलाई बिरामी भएको खबर पनि पुगेको थियो कि थिएन ।
त्यो रातजस्तो दुःखद् रात मेरो जीवनमा कहिल्यै आएन । एकातिर आमा बेहोस अर्कातिर बाको शव कसरी झेला हुँला मैले त्यो दिन !
धन्न नर्शहरूले सघाए– हामी तपाईंको आमाको हेरचाह गर्छौं तपाईं पार्थिव शरीर कुर्नुहोस् ।
मध्यरात कलेजको छात्रावास गएँ र साथीहरूको ढोका ढक्ढक्याएँ– मेरो बाको असामयीक निधन भयो लौन सहयोग पाउँ । त्यो सुनेपछि उनीहरू पनि अताल्लिँदै सहयोगको लागि तम्तयार भए ।
भोलिपल्ट पोखराकै रामघाटमा बाको अत्यष्टि गरेर आमालाई लिएर बाग्लुङ पुगेँ । आमा बिक्षिप्त हुनुहुन्थ्यो । सडकबाट चार घण्टाको उकालो चढेपछि बल्ल घर पुगिन्थ्यो । शोक र व्यथाले जीर्ण भएको आमालाई कहिले बोक्थेँ, कहिले डोर्‍याएर उकालो चढाउँथेँ, साह्रै हण्डरले आमालाई घर पुर्‍याएँ ।
अचानक निधन भएकाले थाप्लोमा पहाड बज्रेको जस्तो भयो । बाको के कति लिनु थियो, कसलाई कति तिर्नु थियो क्यै थाहा थिएन । 
घर जाँदा चारजना भाइबहिनी सोध्छन्– बा खै ? भाइबहिनीले त्यसो भनेपछि आमा फेरि रुन थाल्नु भयो, मैले के जवाफ दिनु ? कसरी भन्नु– अब हाम्रो बा कहिल्यै आउनुहुन्न, बित्नुभयो उहाँ !
बा बितेको १३ दिन भित्रै बिदा मिलाएर दाइ आइपुग्नुभयो । जसोतसो काजकिरिया सकियो । 
बाको काम अलपत्र थियो । कति खुकुरी आरनमै थिए, कतिको दाप हाल्न बाँकी, कतिको बिँड बनेका रहेनछन् । ती सबै काम मैले नै गरेँ । झण्डै एकवर्ष मैले बाले गरेको काम गरेँ । बाले कति गाह्रोसँग परिवार धान्नु भएको रहेछ भन्ने कुरा त्यतिबेला मात्रै बुझेँ मैले !
० ० ०
घरायसी काममा अल्झिएको झण्डै वर्ष दिन हुन लागेको थियो । एकदिन विद्यालयका शिक्षकहरू घरमै पुग्नुभएछ र भन्नु भयो– बाबु तँ राम्रो पढ्ने मान्छे, गीत/संगीतमा पनि राम्रै गर्न सक्छस्, यसरी आरनमा मात्रै नअल्झी । जा गएर पढाइ नियमित गर ।
उहाँहरूको कुराले मनमा घोच्यो, पोखरा गएर क्याम्पसमा बुझेको त परीक्षा फारम भर्न दश दिन मात्रै बाँकी रहेछ । हतारहतार फारम भरेँ । त्यसको पाँच–सातदिनमा परीक्षा तालिका पनि सार्वजनिक भयो । गणितको ट्युसन लिएँ, स्वास्थ्य शारीरिक विषयको प्रयोगात्मक खण्डको हाजिरी स्ववियुका दाइहरूले मिलाइदिनु भयो । संयोगवस परीक्षामा पास भएँ, आइएड पूरा भयो मेरो । 
आईएड उत्तीार्ण भएपछि पढ्ने रहर अझै उचालियो । केही समय बाग्लुङको नीजि विद्यालयमा पनि पठनपाठन गरें । गणित विषय लिएर अध्ययन गरेकाले होला सरकारीबाट पनि अफर आउँथे । तर, मैले त्यसलाई दीगो ठानिनँ ।
सोच्थेँ– संयोगले पास भएको हुँ । पढाउनै त नसकुँला कि !
पोखरा नै उर्वर ठानेँ 
केही समय पढाएपछि म पोखरा नै फर्किएँ र पढाइसँगै गीत संगीतलाई निरन्तरता दिन थालेँ । ०५३ सालमा रेडियो नेपालको पोखरा क्षेत्रीय प्रशारण केन्द्रमा आफ्नै स्वर र शब्द संकलन रहेको ‘दुःखी मुहार आँसुले धुँदै,  छोडेँ गाउँ घर उज्यालो नहुँदै’ बोलको पहिलो लोकगीत रेकर्डसमेत गराएँ । 
पोखरा बसाइकैक्रममा अध्ययन पनि गर्ने, संगीत सिक्ने, बेलुका रेष्टुरेन्टमा बाद्यवादन पनि बजाउने काम गर्न थालेँ । पोखरामा आफू मात्रै होइन चारजना भाइबहिनीहरूलाई पनि धानेको थिएँ मैले । उता आमा घरमा बनिबुतो गर्दै हुनुहुन्थ्यो । दाजु भारतीय सेनामा भएकाले घरमा भरथेग हुने नै भयो । 
त्यसैबेला हो तिलकबम मल्ल दाइहरुलाई भेट्टाएको । तिलक दाइसँगको भेटपछि परिवेश ब्यान्डसँग आवद्ध भएर संगीतमा अझै खारिने मौका पाएँ । त्यतिबेला तिलक दाइ भन्नुहुन्थ्यो– बीबी तिमी ब्यान्डको खम्बा हौ । म भन्दा सिनियर दाइ हो उहाँ, उतिबेला खुब चल्नु भएको ! उहाकै प्रेरणामा म ब्यान्डमा बाद्यवादन बजाउँथेँ ।
जसले मलाई चिनायो
०५४–५५ सालको कुरा हो, त्यतिबेलामा संगीतमा निकै भिजिसकेको थिएँ ।  ‘परिवेश’का एल्बमहरू पनि भटाभट बजारमा आइरहेका थिए र ‘बेस्टसेलर’ बनिरहेका थिएँ । त्यही बखत हुनुपर्छ, मैले संगीत गरेको ‘उडेर जून छुन्छु भन्थेँ तर आज पिँजडाको चरी भा छ जीवन’ले नसोचेकै चर्चा बटुल्यो । राजकुमार बगरजी र मसँगै बस्थ्यौँ, उहाँले शब्द सिर्जना गर्ने र त्यसलाई मैले संगीतबद्ध गर्ने गर्‍यौं । गीतलाई रामभक्त जोजीजुले गाउनु भएको हो । 
मलाई संगीतकारको रूपमा स्थापित गराउने गीत नै यही हो । ०५५ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा यो गीतले उत्कृष्ट शब्द र गायनको अवार्डसमेत हात पार्‍यो । 
अनि काठमाडौं आएँ 
पोखरालाई कर्मथलो बनाए पनि बेलाबखत काठमाडौं आउजाउ गरिरहन्थेँ । काठमाडौं आउँदा नारायण रायमाझी दाइसँग बरोबर भेट भइरहन्थ्यो । उहाँको रिमा डिजिटल रेकर्डिङ स्टुडियो थियो । गीत रेर्डिङका लागि प्रख्यात स्टुडियो थियो त्यो । उहाँ सधैँ भन्नुहुन्थ्यो– बीबी काठमाडौं आउनुहोस, तपाईं पोखरामा नखुम्चनुहोस् ।
तर, मलाई काठमाडौंमा टिक्छुजस्तो लाग्दैनथ्यो । पोखरामा स्थापित भइसकेको थिएँ, पोखरासँग गहिरो नाता जोडिइसकेको थियो, त्यसलाई टुटाएर काठमाडौं कसरी आउनुजस्तो लाग्थ्यो !
तर, कोठाको प्रवन्ध मिलाउनेदेखि बसपार्कमा लिन मानिससमेत पठाउनेसम्म नारयणजीले गरेर मलाई काठमाडौं भित्र्याउनु भयो । 
कहिलेकाँही नारायण दाइलाइ भन्थेँ– दाइ म काठमाडौं आउन्न, म मोफसलमा बसेर संघर्ष गरिरहेको, काठमाडौंमा भेट्रान संगीतज्ञहरू छन्, भीडमै हराउँछु कि !
उहाँ भन्नहुन्थ्यो– तिम्रो एकदमै राम्रो छ, काठमाडौंमा आउनैपर्छ तिमी । छोटै समयमा टप एरेन्जरको रूपमा स्थापित हुन्छौ ।
उहाँको त्यो बचनले नै म वास्तवमा काठमाडौं आएको हुँ । नारायण दाइले मलाई पोखरामा कमाउनेजत्तिकै सेवा सुविधा दिनु भयो ।
नभन्दै त्यस्तै भयो । रिमा छिर्नेबित्तिकै मैले अरेन्ज गरेका लोक गीतहरू धमाधम हिट हुन थाले । नेपालभरबाट अनेक संस्कृतिका गीत संगीतहरू रेकर्ड हुन थाले, मलाई विभिन्न संस्कृति र लोकलय सिक्ने मौकासमेत भयो । 
दिनेश काफ्ले र गीतादेवीले गाएको, ‘आमा भन्नु नभाको’,  शिव परियारको ‘फेवातालमा साइली’, त्यस्तै ‘सिमसिम पानी रैछौ बेइमानी’, ‘जापान टोकियो’ लगायत मैले एरेन्ज गरेका गीतहरू त्यतिबेला खुब हिट भए । 
रिमामा गीत गराउनेको भीड बढ्दै थियो, म प्रवेश गरेको दुई वर्ष पछि नारायण दाइले रिमा मेरै जिम्मामा छोड्दै भन्न थाल्नु भयो– म पेसा परिवर्तन गर्छु, अब तिमी चलाऊ यो । 
त्यसपछि उहाँ चलचित्र निर्देशनमा लाग्नुभयो । र, उत्तिकै सफल हुनुभयो ।
०६२ सालमा मैले त्यसलाई प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो बनाएँ । 
हालसम्म मैले ६ हजार जति गीतको अरेन्ज गरेको छु, करिब एक हजार गीत कम्पोज गरेको छु । पोखरा हुँदा थुप्रै गीतमा आवाज भरेँ, समय–समयमा अहिले पनि गाउँछु ।
पोखरासँग बडो आत्मीय नाता छ मेरो त्यही भएर ०६७ मा पोखरा र बाग्लुङमा एकल साँझको आयोजना गरेँ । त्यस्तै अघिल्लो साल काठमाडौंमा मेरो म्युजिक कम्पोजमा एकल साँझको आयोजना भयो । मेरै प्रेरणाले होला बहिनी स्वरुपा रसाइली पनि गीतसंगीतमै छिन् । त्यस्तै भाइ श्यामस्वेत साउन्ड इन्जिनियरिङ गर्छन् । अरु दिदी बहिनीको पनि आफ्नै बन्दोवस्त छ । जसरी खोला, नाला, झरना, हावा पानी प्रकृतिका जति पनि आवाजलाई सुरतालमा बाँध्न सक्दा संगीत बन्छ त्यसैगरी म पनि गीत संगीतकै हिस्सा बनेको छु, र यो जीवनपर्यन्त रहिरहनेछ ।
प्रस्तुति : अक्षर काका
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro