site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो चरणमा अनुबन्ध नभएका शक्ति पीपीएलका महंगा खेलाडी

काठमाडौं । भेट्रान स्पिनर शक्ति गौचनलाई अन्ततः जरिबानासहित चितवन टाइगर्सले सबैभन्दा धेरै मुल्यमा किन्दै आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सन सकिएको छ । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका ३४ वर्षे शक्ति गौचनलाई अक्सनमा कुनै पनि टोलीले बोली लगाएका थिएनन् ।

तर अक्सन सकिसकेपछि टोलीमा अपुग खेलाडी लिनेक्रममा शक्तिलाई पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजले जरिबानासहित २ लाख ६२ हजार ५ सय रुपैयाँ खर्चँदै टोलीमा समावेश गरेको थियो । 
यससँगै पहिलो चरणको अक्सनमा अनुबन्ध नभएका शक्ति सबैभन्दा महंगा खेलाडी बन्दै चितवन राइनोजमा अनुबन्ध भएका हुन् ।

चितवनले आधार मूल्य २ लाख १० हजार रुपैयाँमा अनुबन्ध गरे पनि जरिबानासमेत तिर्नुपर्दा शक्तिका लागि सबैभन्दा बढी रकम खर्चिनुपरेको हो । अक्सनमा एक टोलीले बढीमा १३ लाख खर्च गरेर कम्तिमा दश खेलाडी अनुबन्ध गर्नैपर्ने र बढीमा १३ खेलाडी किन्न पाउने प्रावधान थियो । जसमा चितवनले ९ खेलाडी किन्दा टोलीसँग २० हजार रुपैयाँमात्र बाँकी थियो र एक खेलाडी अनुबन्ध गर्नैपर्ने अवस्था थियो । खेलाडीको न्युनतम आधार मूल्य ३० हजार रहेकाले चितवनलाई जरिबानासहित एक खेलाडी लिनै पर्ने बाध्यता थियो । त्यस्तो अवस्थामा चितवनले शक्तिलाई आधार मूल्य २ लाख १० हजारको २५ प्रतिशत जरिबानासहित २ लाख ६२ हजार ५ सय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

शक्तिबाहेक चितवनले अरु तीन खेलाडीलाई अधिकतम मूल्य हालेर खेलाडी भित्र्याएको छ । चितवनले अनिलकुमार शाह, करण केसी र मोहम्मद आरिफ शेखलाई २ लाख ५० हजार रुपैयाँ रकममा अनुबन्ध गरेको हो ।

अनिलकुमारलाई प्रतियोगितामा सहभागी सबै टोलीले भाउ लगाएका थिए । जसमा चितवन भाग्यमानी बनेको थियो । करण केसी र आरिफ शेखलाई विराटनगरबाहेक सबै टोलीले बोली लगाएका थिए । यससँगै चितवन अक्सनमा सबैभन्दा धेरै रकम खर्च गर्ने टोली बनेको छ । 

सबैभन्दा कम रकम खर्च गर्ने दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर रहेको धनगढी ब्लुज छ । १२ लाख रुपैयाँ खर्च गरेको धनगढीले १ लाख रुपैयाँ रकम बचाएको छ । धनगढीले सबैभन्दा धेरै रकम विकेटकिपर ब्याट्सम्यान दिलिप नाथलाई २ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । सागर ढकाललाई १ लाख ३० हजार खर्च गरेको धनगढीले कमलसिंह ऐरीलाई १ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । ५० हजार आधर मुल्य रहेको  कमलसिंहलाई धनगढी र काठमाडौं रोयल्सले अधिकतम मुल्यमा बोली लगाएका थिए । अन्तत गोला प्रथामा धनगढी भाग्यमानी बनेको थियो ।

चितवनपछि सबैभन्दा धेरै रकम खर्च गर्नेमा विराटनगर टाइटन्स रह्यो । युवा स्पिनर सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले १३ लाखै रकम खर्चिएको हो । आक्रमक ब्याट्सम्यान प्रदीप ऐरीलाई सबैभन्दा धेरै २ लाख ४० हजार रकम खर्च गरेको विराटनगरले ओपनिङ ब्याट्सम्यान सुनिल धमलालाई २ लाख २० हजार रुपैयाँ रकम खर्च गरेको थियो । विराटनगरले शाहव आलम र राजेश पुलामीमगरलाई समान १ लाख ५० हजार रुपैयाँ खर्च गर्‍यो । ५० हजार रुपैयाँ आधार मूल्य रहेको शाहबका लागि विराटनगर, काठमाडौं, धनगढी र चितवनले अधिकतम मुल्यमा बोली लगाएका थिए । त्यसमा विराटनगर भाग्यमानी बनेको थियो ।

शरद भेषावकरको पोखरा पल्टनले १२ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । पोखराले रोहितकुमार पौडेल र विनोद भन्डारीलाई अधिकतम मूल्यमा बोली लगाएको थियो । रोहितकुमारलाई सबै ६ टोलीले अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँको बोली लगाएका थिए भने विनोदका लागि काठमाडौं, विराटनगर, धनगढी र पोखराले अधिकतम मूल्यमा बोली लगाएको थियो । भेट्रान अलराउन्डर मेहबुब आलमलाई १ लाख ६० हजार खर्च गरेको पोखराले कुशल भुर्तेललाई १ लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । ७५ हजार आधार मुल्य रहेको कुशलका लागि पोखरा र धनगढीले अधिकतम मूल्य लगाएका थिए । चितवनले ललितनारायण राजबंशी र कृष्ण कार्कीलाई समान १ लाखमा अनुबन्ध गरेको थियो ।

अनुभवी लेग स्पिनर बसन्त रेग्मीलाई अधिकतम मूल्य खर्चमा बोली लगाएको काठमाडौं रोयल्सले अक्सनमा १२ लाख ८० हजार रुपैयाँ खर्च गर्‍यो । १ लाख ६५ हजार आधार मुल्यका बासन्तका लागि पोखरा र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथामा काठमाडौंले बाजी मार्‍यो । दश खेलाडीमात्र किनेको काठमाडौंले ओपनिङ ब्याट्सम्यान नरेश बुढायरलाई २ लाख ३० हजार रुपैयाँ खर्च गर्‍यो । १ लाख आधर मुल्यका पवन सर्राफ र ५० हजार आधार मुल्यका अमित श्रेष्ठलाई काठमाडौंले अधिकतम १ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो । अतिमका लागि धनगढी, बुटबल र काठमाडौंले अधिकतम रकममा बोली लगाएका थिए । अनक्याप्ड समूहका अमरसिंह राउटेलालाई अधिकतम १ लाख रुपैयाँमा खर्च गरेको थियो । अमरसिंहको आधारमूल्य ३० हजार थियो । काठमाडौंले पृथु बास्कोटालाई १ लाख २० हजारमा अनुबन्ध गर्‍यो । 

अलराउन्डर सागर पूनलाई सबैभन्दा धेरै २ लाख ५० हजार रुपैयाँ खर्च गरेको बुटबल ब्लास्टर्सले १२ लाख ९० हजार खर्च गर्‍यो । २ लाख आधर मुल्यका सागरलाई बुटबल र विराटनगरले अधिकतम मुल्य लगाएका थिए । ५० हजार आधार मुल्यका भिम सार्कीलाई धनगढी, पोखरा र विराटनगरसँग अधिकतम मुल्य १ लाख ५० हजार रुपैयाँमा प्रतिस्पर्धा गर्दै टोलीमा भित्राउन सफल बुटबलले अनक्याप्ड समूहका हरीबहादुर चौहान र  अभिनाष बोहरालाई सबैभन्दा धेरै १ लाख रुपैयाँ खर्च गरेको थियो । बुटबल र धनगढीले सबै १३ खेलाडी किनेर १० हजार रुपैयाँ बचाएको छ ।

सिनियर क्याप्ड समूहमा अधिकतम मूल्य

१. अनिलकुमार शाह
२. मोहम्मद आरिफ शेख
३. रोहितकुमार पौडेल
४. सागर पून
५. विनोद भन्डारी
६. बसन्त रेग्मी

क्याप्ड एज समूहमा अधिकतम मूल्य

१. शाहब आलम
२. भिम सार्की
३. कमलसिंह ऐरी
४. पवन सर्राफ
५. अमित श्रेष्ठ
६. कुशल भुर्तेल

अनक्याप्ड समूहमा अधिकतम मूल्य

१. अमरसिंह राउटेला
२. हरीबहादुर चौहान
३. अविनाष बोहरा 
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro