site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली क्रिकेट टोलीमा फर्किएको आत्मविश्वास
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘‘कप्तान रोहित (पौडेल)ले आज गज्जब खेले । स्कटल्यान्डजस्तो टिमविरुद्ध उनले जुन अवस्थाबाट खेल जिताए, यो नेपाली टिमको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । अहिले नेपाली टिममा गज्जबको आत्मविश्वास देखिएको छ । ११ नम्बरमा ब्याटिङ गर्न जाने ब्याटरमा पनि म्याच विनिङ इनिङ्स खेल्न सक्छु भन्ने विश्वास हुन्छ ।’’

माथिका हरफ मंगलबार (फागुन ९) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले स्कटल्यान्डमाथि दुई विकेटको अविश्वसनीय विजय हासिल गरेपछि मैदानमा रहेका एक अम्पायरले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भनेका हुन् ।

मंगलबार स्कटल्यान्डविरुद्ध २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली एक समय ६१/५ को स्थितिमा थियो । ओपनर कुशल भुर्तेल एक, आसिफ शेख १२, ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ र सन्दीप जोरा एक रन बनाएर पवेलियन फर्किइसकेका थिए । त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछाने पनि लामो समय क्रिजमा टिक्न सकेनन् । दीपेन्द्रसिंह सात, सोमपाल दुई र सन्दीप नौ रन बनाएर फर्किए ।

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीप आउट हुँदासम्म नेपाली टिमले थप ७७ रन जोडेको थियो । नेपाललाई जितका लागि अझै ७५ रन आवश्यक थियो । त्यसका लागि १८.१ ओभर बाँकी थियो । तर, नेपालसँग दुई विकेट मात्र रहेको थियो । कप्तान रोहितलाई साथ दिन करण आए । करण र रोहितले नवौँ विकेटका लागि अविजित ७५ रनको कीर्तिमानी साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नवौँ विकेटका लागि नेपाली खेलाडीले बनाएको यो सबैभन्दा ठूलो साझेदारी हो ।

त्यही साझेदारीको बलमा नेपालले स्कटल्यान्डलाई ३५ बल बाँकी रहँदै दुई विकेटले पराजित गर्‍यो । रोहित ९५ रनमा अविजित रहे । त्यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको दोस्रो ठूलो स्कोर हो । करणले अविजित ३१ रन बनाए ।

Global Ime bank

जितसँगै नेपालले घरेलु मैदानमा भएको त्रिदेशीय शृंखला ‘क्लिन स्विप’ गर्‍यो । जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलमा सबै खेल जित्ने नेपाल पहिलो राष्ट्र बन्यो ।

“५/६ विकेट जाँदासम्म पनि सक्छु भन्ने विश्वास थियो । तर, त्यसपछि विकेट जाँदा अलि कठिन महसुस गरेको थिएँ । करण दाइसँग साझेदारी बनेपछि फेरि जित्न सकिन्छ भन्ने आशा पलायो । र, जित्यौँ पनि,” जितपछि कप्तान रोहितले भने, “अहिले एकपटकमा एक खेलको रणनीतिसहित अघि बढिरहेका छौँ ।”

यो सफलताले नेपालको शीर्ष तीनमा रहेर एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउने सम्भावना पनि बढाएको छ । तर, त्यसका लागि नेपालले आफ्ना सबै खेल जितेर मात्र पनि पुग्दैन । अरूको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्छ ।

बढेको आत्मविश्वास
मंगलबार मात्र होइन, नेपालले त्यसअघि स्कटल्यान्ड र नामिबियालाई पनि पराजित गरेको थियो । नेपालको यो त्यही टिम हो, जसले नामिबिया, स्कटल्यान्ड, अमेरिका र युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा बिर्सनलयाक प्रदर्शन गरेको थियो । चारवटा शृंखलाको १६ खेलमा नेपालले चार खेल मात्र जितेको थियो । एक खेल नतिजाविहीन बन्दा अर्को एक खेल ‘टाई’ भएको थियो । बाँकी खेलमा नेपाल पराजित भएको थियो ।

विगतको त्यो नतिजालाई हेर्दा अहिले नेपाली टिमको पुनरोदय भएको छ । टिममा पुनर्जागरण आएको छ । त्यसका केही खास कारण पनि छन् । त्यो हो, टिमभित्रको एकता । टिमभित्रको त्यो एकतामा मनोबल थप्ने काम प्रशिक्षक मोन्टी देसाईले गरेका छन् । घरेलु ‘पिच’ र घरेलु दर्शकको साथ त भइहाल्यो ।

टिम एकताको कुरा पछाडि गरौँला । यहाँनिर प्रशिक्षकको आगमनपछि टिममा आएको बदलावको कुरा गरौँ ।

“पछिल्ला १० दिनमा मोन्टी सर आएर टिममा जुन माहोल बनाउनुभएको छ, त्यसले टिमको मनोबल बढेको छ,” नेपालका कप्तान रोहितले शृंखला सुरु हुनुअघि भनेका थिए, “हामीले मोन्टी सरलाई यू–१९ देखि नै चिनेका हौँ । मोन्टी सरले जुन माहोल टिममा बनाउनुभएको छ, त्यसले धेरै सजिलो भएको छ ।”

रोहितले शृंखलाअघि भनेका कुरा फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा पनि प्रस्ट देखिएको थियो । पहिलो खेलमै नेपालले नामिबियाविरुद्ध २८५ रनको लक्ष्य पूरा गरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराउँदा पनि नेपालले २७५ रनको लक्ष्य पूरा गरेको थियो । यस्तै, नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले २७५ रनको लक्ष्य पूरा गरेको थियो ।

दोस्रो खेलमा नामिबियाविरुद्धको जितपछि ओपनर आसिफ शेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्ले एकै स्वरमा भनेका थिए, “नयाँ प्रशिक्षकका कारण टिमले राम्रो प्रदर्शन गरेको छ । ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण ब्याटिङमा सुधार भएको छ । टिममा मनोबल बढेको छ ।”

टिममा एकाएक के परिवर्तन भयो ? जसले टिमको मनोबल ह्वात्तै बढ्यो । स्वयं प्रशिक्षक देसाईले शृंखलाअघि भनेका थिए, “ह्याप्पी ड्रेसिङ रुम ।”

यसअघि नै उमेर समूहमा काम गरिसकेका कारण देसाईले नेपाली खोलडीको क्षमता राम्रोसँग थाहा थियो । त्यही क्षमताले नतिजा निकाल्न सकिन्छ भन्नेमा पनि उनी विश्वस्त थिए । घरेलु मैदानमा शृंखला क्लिन स्विप गरेपछि उनै प्रशिक्षक देसाईले भने, “उनीहरूसँग क्षमता छ भन्ने थाहा थियो । र, उनीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता छ भन्ने कुरामा विश्वस्त थिएँ । बाँकी व्यावहारिक कुरा प्रशिक्षणका दौरान बुझ्दै गएँ । जति पनि नतिजा हाम्रो पक्षमा आएको छ, यो एक प्रक्रियाबाट आएको हो । तर, नतिजा आउँदा यति चाँडो आउँछ भन्नेचाहिँ सोचेको थिइनँ । किनकि, हामी खेलाडीमा जितको मनोवृत्ति निर्माण गर्न चाहन्थ्यौँ ।”

प्रशिक्षकले भनेजस्तै टिममा अहिले जितको मनोवृत्ति विकास भएको छ । त्यो अनुभव मंगलबार मैदानमा रहेका अम्पायरले पनि नजिकबाट महसुस गरे । त्यही कुरा उनले बाह्रखरीसँग सुनाएका थिए, “अहिले नेपाली टिममा गज्जबको आत्मविश्वास देखिएको छ ।”

टिम कठिन परिस्थितिमा पनि अत्तालिएको छैन । अत्तालिएको हुन्थ्यो भने मंगलबार टिम नराम्रोसँग पराजित हुन्थ्यो । कप्तान रोहितले अर्को ‘इन्ड’मा जो ब्याटिङका लागि आउँथे, उनीहरूलाई भन्थे, “सुरुमा २० रनको साझेदारी गरौँ, त्यसपछि अर्को लक्ष्य बनाउँला ।”

रोहितको त्यही सानोसानो ‘लक्ष्य’ पूरा गर्दै ठूलो लक्ष्य भेट्टाउने रणनीति सफल सावित भयो । र, टिम लाखौँ समर्थकलाई खुसी बाँड्न सफल भयो । प्रशिक्षण सम्हालेको छोटो समयमै सफलता हासिल गर्न पाउँदा प्रशिक्षक देसाई पनि मक्ख छन् । उनी भन्छन्, “निकै कम समयमा टिमले रणनीतिलाई कार्यान्वयन गरेको देख्न पाउनु मेरा लागि पक्कै पनि उत्कृष्ट पलमध्येको एक हो ।”

कप्तानले जस्तै पूर्वकप्तान ज्ञानेन्द्रले पनि भनेका छन्, “जब हामी अर्को चरणहरूमा जान्छौँ, टिमले अब आफैँमा बढी विश्वास गर्छ ।”

टिम एकता
आईसीसी क्रिकेट विश्वकप लिग–२ कै दौरानमा नेपाली क्रिकेट टिममा धेरै उचारचढाव आए । यसबीचमा धेरै कप्तानहरू परिवर्तन भए । कप्तान मात्र नभई प्रशिक्षक पनि धेरै परिवर्तन भए । डेव वाट्मोर, पुबुदु दासानायके, मनोज प्रभाकर र अहिले देसाई छन् । त्यसअघि, जगत टमाटाले पनि अन्तरिम रूपमा प्रशिक्षण सम्हाले ।

विशेषगरी नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान ज्ञानेन्द्रलाई कारबाही गरेर सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी दिएपछि टिमभित्र देखिने गरी मनमुटाव सुरु भएको थियो । टिमको आन्तरिक द्वन्द्व मैदानमा पनि स्पष्ट देखिन थालेको थियो । प्रशिक्षक पुबुदु स्वयंले भनेका थिए, “टिमभित्र गुटबन्दी छ ।”

नेपालको नामिबिया, स्कटल्यान्ड, अमेरिका र युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा गरेको बिर्सनलयाक प्रदर्शनमा पनि टिमभित्रको विवाद प्रमुख कारण थियो । तर, यसबीचमा परिस्थिति परिवर्तन भयो । तत्कालीन कप्तान सन्दीपमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लाग्यो । सन्दीपलाई क्यानले गएको भदौ २३ गते निलम्बन गरेको थियो । 

त्यसपछि क्यानले रोहितलाई कप्तानीको जिम्मेवारी दियो । टिमको माहोलमा परिवर्तन आयो । त्यस परिवर्तनलाई अझ एकताबद्ध बनाउने काम प्रशिक्षक देसाईले गरे ।

“अहिले टिमको सबै कुरा एकदमै राम्रो छ । टिम युनिटीदेखि सबै कुरा आफैँलाई पनि फिल हुन्छ । सबैको मनोबल राम्रो छ,” रोहितले टिमको माहोलबारे शृंखलाअघि भनेका थिए ।

कप्तान रोहितले शृंखलाअघि भनेजस्तै नामिबियाविरुद्धको खेलपछि ओपनर आसिफले भनेका थिए, “टिमभित्रको वातावरण राम्रो हुँदा ठूलो लक्ष्यमा पनि जितियो ।”

सन्दीपको प्रदर्शन
गएको पुस २८ गते पाटन उच्च अदालतले फौजदारी अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै २० लाख धरौटी राखी सर्तसहित तारेखमा छाड्न आदेश दिएकोे थियो । माघ १७ गते पोखरामा सम्पन्न क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । लगत्तै क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्‍यो । सन्दीप माघ १९ गतेदेखि टिमसँगै होटेलमा बस्न थालेका थिए ।

सन्दीपलाई टिममा समावेश गर्ने क्यान निर्णयको चौतर्फी विरोध भएको थियो । तर पनि क्यान नेतृत्वले जबरजस्ती सन्दीपलाई खेलाउने निर्णय गर्‍यो ।

सन्दीपले चर्को दबाबका बाबजुद पनि मैदानमा उत्कृष्ट प्रदर्शन गरे । उनले यस शृंखलामा कुल १३ विकेट लिए । अघिल्ला तीन खेलमा समान तीन विकेट लिएका सन्दीपले अन्तिम खेलमा चार विकेट लिए ।

योसँगै सन्दीपले टिममा आफ्नो आवश्यकता रहेको पुष्टि गरे । सन्दीपपछि नेपालका करण केसीले नौ विकेट लिए । सन्दीपले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, “मैले कति योगदान गर्न सकेँ थाहा छैन । तर, मेरो देशले क्रिकेट जितेको छ । यो साथ र मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु ।”

अभ्यस्त पिच र घरेलु दर्शकको साथ
एसोसिएटमध्ये नेपाल सबैभन्दा धेरै दर्शकको माया पाउने राष्ट्र हो । जबजब त्रिवि क्रिकेट मैदानमा खेल हुन्छ, दर्शकको उपस्थिति सधैँ उत्साहजनक हुने गर्छ । यो शृंखलामा पनि त्यसले निरन्तरता पायो । कुनै पनि दिन त्रिवि क्रिकेट मैदानमा दर्शकको कमी भएन ।

स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा त झन् दर्शक थामिनसक्नु थिए । मैदान ‘कम्पाउन्ड’भित्र र बाहिर पनि समर्थकको त्यस्तै घुइँचो थियो । दर्शकको साथ त थियो, योपटक पिचले पनि राम्रैसँग नेपाली टिमलाई साथ दियो ।

“यही पिचमा हामीले ट्रेनिङ गरेका थियौँ । ट्रेनिङको बेला प्रशिक्षकले मन लागेको सट खेल्न भन्नुभएको थियो । त्यही प्रशिक्षणकै कुरालाई आज गेममा लागु गर्‍यौँ । पिचमा अभ्यस्त भएका कारण हामीलाई सहज भयो,” कप्तान रोहितले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement