काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टोलीको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हो, भारत । नेपाली महिला टोलीले भारतलाई अहिलेसम्म हराउन सकेको छैन । नेपालमै सम्पन्न १३औँ सागको फाइनलमा नेपाली टोलीले खेलेको पाँच सेट नै अहिलेसम्मको सबैभन्दा प्रतिस्पर्धात्मक प्रतिस्पर्धा हो ।
तीन वर्ष तीन महिना २० दिनअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न फाइनलको त्यो हार नेपाली टिमले अझै भुल्न सकेको छैन । भुल्न सकून् पनि कसरी ? नेपालले २–१ सेटको अग्रता लिएर पनि नतिजा गुमाउनुपरेको थियो । नेपाली ‘चेली’ले त्यो हारमा आफ्नो आँसु लुकाउन सकेका थिएनन् । घरेलु कोर्टमा टेकिनसक्नु गरी उपस्थित दर्शकमाझ हार्नुको पीडा कसैलाई थाहा छ भने त्यो त्यही टिमका खेलाडीलाई मात्र छ ।
त्यसैले बुधबार लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा नेपाली टोलीकी कप्तान अरुणा शाहीले भनिन्, “सागको फाइनलमा पाँच सेट खेलेर हामी नराम्रोसँग पराजित भयौँ । त्यसको पीडा हामीलाई मात्र थाहा छ । अब त्यस हारको बदला लिने अवसर आएको छ । घरेलु मैदानमा एकपटक फेरि त्यही माहोल सिर्जना गरेर भारतलाई जित्न चाहन्छौँ । त्यो सपना पूरा गर्न चाहन्छौँ । र, सक्छौँ भन्ने विश्वास पनि छ ।”
नेपाली टिमलाई त्यो अवसर जुरेको हो, सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपमा । यो प्रतियोगिता काठमाडौंमै आउँदो जेठ ६ देखि १५ गतेसम्म हुँदै छ । त्यही प्रतियोगिताका लागि नेपाली महिला भलिबल टोलीले तयारी गरिरहेको छ । नेपाली टोली तयारीमा जुटेको पनि एक महिना पूरा भइसकेको छ । उक्त प्रतियोगितामा नेपाल लगातार दुईपटकको विजेता टोली हो । तर, दुवै प्रतियोगितामा भारत सहभागी थिएन ।
योपटक भारत पनि खेल्ने भएको छ । नेपाल र भारतसँगै बंगलादेश, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दै छन् । त्यसैले नेपाली टिमले योपटक बलियो चुनौतीको सामना गर्नुपर्ने पक्का छ ।
“एक हिसाबले यो चुनौती हो र अर्को हिसाबले अवसर पनि । तर, मैले यसलाई अवसरका रूपमा लिएको छु । किनकि, हामीसँग भारतलाई हराएर बदला लिने अवसर छ,” गएको फागुन २३ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्ष महिला खेलाडीको अवार्ड जित्न सफल नेपालकी कप्तान अरुणाले भनिन् । यसबाट पनि पुष्टि हुन्छ, नेपाली टिममा भारतलाई हराउने कति उत्कट चाहना छ भनेर ।
विगत एक महिना नेपाली टिमलाई प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण दिएका थिए । पछिल्लो समय बेल्जियमका ६४ वर्षीय यान ब्रान्ड्ट नेपाली टिमको मुख्य प्रशिक्षकका रूपमा जोडिएका छन् । पछिल्ला २० वर्ष ब्रान्ड्टले महिला टिमलाई मात्र प्रशिक्षण दिइरहेका छन् । बेल्जियम राष्ट्रिय टिमका पूर्वसेटर ब्रान्ड्ट पनि आफूभन्दा बलियोसँग खेले मात्र स्तर बढ्ने विश्वास गर्छन् । उनले नेपाली टिम हेर्न थालेको धेरै भएको छैन । त्यसैले प्रतियोगितामा नेपालको लक्ष्य के भनेर सोध्दा उनले अहिले भन्न नसक्ने बताए ।
“यो त भन्न गाह्रो छ । किनभने, लक्ष्यलाई धेरै कुराले असर गर्न सक्छन् । जस्तै : विपक्षी टिम । नेपालभन्दा बलियो विपक्षी टिम आए तिनलाई पराजित गर्न मुस्किल हुनेछ । त्यसकारण म यति भन्न सक्छु, म यी खेलाडीलाई अझ राम्रो बनाउन लागिपरेको छु । हामी निडर भएर सुन्दर भलिबल खेल्नेछौँ । के यति गर्दा खेल जितिएला ? हेरौँ,” नेपालका मुख्य प्रशिक्षक ब्रान्ड्टले थपे, “नतिजा फगत हाम्रो टिमको प्रदर्शनमा मात्र भर पर्ने छैन । अर्को टिमको प्रदर्शनमा पनि भर पर्नेछ । त्यस बेला टिमका उत्कृष्ट खेलाडीको फिटनेसको कुरा पनि आउनेछ । टिमका सबैभन्दा बलिया खेलाडी नै घाइते भए के गर्ने ? नेपाल फाइनलमा पुग्छ वा पुग्दैन भन्ने धेरै कुरामा निर्भर हुनेछ ।”
खेलाडीको चोट नेपाली टिमको अर्को चिन्ताको विषय हो । नेपालकी मुख्य स्पाइकर प्रतिभा माली घुँडाको चोटबाट ग्रसित छिन् । कामना विष्टलाई ‘ब्याक पेन’ भएको छ । कप्तान अरुणको पनि कुर्कुच्चामा चोट लागेको छ । यद्यपि, प्रतियोगिता सुरु हुन दुई महिना बाँकी छ । त्यति बेलासम्म सबै खेलाडी फिट हुने विश्वास कप्तानको छ ।
प्रशिक्षक भट्टले २१ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । तीमध्ये केही नयाँ अनुहार छन् । पुराना केही अनुसार टिममा छैनन् । टिमलाई अब १६ जनामा झारिनेछ । त्यसपछि १४ जनाको टिम बनाइनेछ ।
टिमले सुरुमा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमै प्रशिक्षण गरेको थियो । त्यहाँ मर्मतसम्भारको काम भएका कारण अहिले लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा प्रशिक्षण गरिँदै छ । मुख्य प्रशिक्षक ब्रान्ड्टले टिमको प्राविधिक पक्ष सबल बनाउने काम गरिरहेका छन् ।
“नेपाली भलिबलको अर्को समस्या हो, खेलाडीको उचाइ । पुरुष खेलाडीको उचाइ ठिकठाक छ । तर, महिला अलि होचा छन् । एक मिटर ७० सेन्टिमिटर देखि ८० सम्मको उचाइ हुन्छ । अन्तर्राष्ट्रिय भलिबलमा महिला खेलाडीको उचाइ सामान्यतः एक मिटर ९० सेन्टिमिटर हुन्छ । पुरुष त अझ अग्ला हुन्छन्,” उनले भने, “भलिबल खेल नै यस्तो हो, जहाँ खेलाडी नेटभन्दा माथि उफ्रिएर खेल्नुपर्छ । उचाइ कम भएपछि स्वतः कमजोर भइन्छ ।”
खेलाडीको उचाइ कम भए के गर्ने ? यसको पनि उपाय छ, ब्रान्ड्टले सोचेका छन्, उनीहरूलाई प्राविधिक रूपमा कुशल बनाउने । जापान र थाइल्यान्डको उदाहरण पेस गर्दै ब्रान्ड्टले थपे, “ती देशका महिला खेलाडीको उचाइ कम छ । तर, कौशलका हिसाबमा उत्कृष्ट छन् । डिफेन्स ब्रिलियन्ट छ । उनीहरू प्राविधिक र रणनीतिक रूपमा अब्बल छन् । एउटा सिस्टममा खेल्छन् ।”
नेपालमा पनि खेलाडीलाई प्राविधिक रूपमा अब्बल बनाउन सकिन्छ । त्यसका लागि अभ्यास आवश्यक छ । प्रशिक्षक ब्रान्ड्ट भन्छन्, “सानैबाट अभ्यास गराउनुपर्छ । प्रत्येक दिन तीनदेखि चार घण्टासम्म अभ्यास गराउनुपर्छ । खेलाडीलाई बलियो बनाउने नै अभ्यासले हो ।”