
काठमाडौं । तेस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आगामी वैशाख २१ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल र पुरुष खुला डबल्स र महिला खुला डबल्स स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल र डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ३० हजार र १६/१६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेपाली सेनाको प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । त्यस्तै, अन्तरसरकारी टेनिस प्रतियोगिता हुने समेत प्रवक्ता केसीले जानकारी दिए ।
अगामी वैशाख ९ देखि १२ गतेसम्म हुने अन्तरसरकारी टेनिस प्रतियोगितामा एकल महिला र एकल पुरुष स्पर्धामा प्रतिस्पर्धा गराइनेछ । नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यका ससञ्चालन हुने प्रतियोगितामा भेट्रान्सतर्फ ३५ वर्ष माथि एकल र युगल, ४५ वर्षमाथि एकल, ५५ वर्ष माथि एकल र युगल, ६५ र ७० वर्ष माथि एकल तथा विधा समावेश गरिएको छ ।
राष्ट्रिय टेनिस संघको सहयोगमा सञ्चालन हुने प्रतियोगिताले टेलिस खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ । उनले राष्ट्रियस्तरदेखि सबै प्रतियोगीहरू यस प्रतियोगिता सहभागी हुने अपेक्षा समेत गरे ।