काठमाडौं । गएको शुक्रबार नेपाली चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शन भयो । यो शुक्रबार ‘कथा काठमाडौं’ रिलिज हुँदैछ । दसैंको छेको पारेर चलचित्र ‘छक्का पञ्जा–३’ घटस्थापनाका दिन आउँदैछ । तिहारको अवसर पारेर चलचित्र ‘मालिका’ कात्तिक २१ गते रिलिज हुँदैछ । यी चलचित्रका निर्देशक क्रमशः रेनेशा राई, संगीता श्रेष्ठ, दीपाश्री निरौला र रेखा थापा हुन् ।
महिला निर्देशकले निर्देशन गरेका चलचित्र लगातार प्रदर्शनमा आउँदैछन् । अहिले महिला निर्देशकले निर्देशन गरेका चलचित्र बाक्लै प्रदर्शनमा आए पनि महिला निर्देशकको संख्या भने धेरै छैन । चलचित्रमा अभिनयका लागि महिलाले शुरुदेखि नै अवसर पाए । लगानीका लागि महिला भएकै कारण विभेद भएन । अभिनय र निर्माणमा जसरी स्वतन्त्रता थियो, निर्देशनमा पनि महिला भएकै कारण कुनै लगाम लगाइएको थिएन । तर, निर्देशन गर्ने महिला भने निकै ढिलो मात्रै देखा परे ।
सुचित्रा श्रेष्ठ
सेटमा एक्सन–कट गर्दै गरेकी महिला निर्देशक भेट्न भने ३६ वर्ष कुर्नुपर्यो । नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’ वि.सं. २०२२ सालमा प्रदर्शनमा आएको थियो । यसको ३६ वर्षपछि सुचित्रा श्रेष्ठ २०५८ सालमा निर्देशनमा उत्रिइन् । यो नै नेपाली चलचित्र इतिहासमा महिला निर्देशकको डेब्यू थियो । श्रेष्ठले ‘प्रेम युद्ध’ निर्देशन गरेकी थिइन् । यसपछि उनले ‘को कसको’ नामक चलचित्र निर्देशन गरिन् ।
चलचित्र ‘प्रेम युद्ध’ निर्देशनपूर्व उनले टेलिचलचित्र ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’ निर्देशन गरेकी थिइन् । योङ एसिया टेलिभिजनका लागि वृत्तचित्र पनि निर्देशन गरेकी उनले टेलिचलचित्रहरुमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेकी थिइन् ।
रक्षा सिंह राणा
सुचित्रा श्रेष्ठ पहिलो महिला चलचित्र निर्देशक हुन् भने रक्षा सिंह पहिलो चलचित्र सम्पादक हुन् । चलचित्र सम्पादनमा एक दशक लामो अनुभव संगालेपछि उनले निर्देशनमा हात हालेकी हुन् । ‘द गेम’ बाट उनले एक्सन–कटको बाटो समाएकी हुन् । उनले तीन दर्जन चलचित्र सम्पादन गरेकी छन् ।
दीपा बस्नेत
महिला निर्देशकको छवि बनाउनकै लागि भन्दापनि पढेर नै निर्देशनमा आउने महिला निर्देशक पनि छन् । काठमाडौंको ओस्कार कलेज अफ फिल्म स्टडिजमा चलचित्र निर्देशनमा स्नातक गरेपछि चलचित्र उद्योगमा प्रवेश गरेकी हुन् दीपा बस्नेत ।
भिजुअल एडिटरको लामो अनुभव संगालेपछि दीपाले ‘अन्तराल’मार्फत् निर्देशनमा हात हालिन् । उनको दोस्रो चलचित्र ‘श्री ५ अम्बरे’ हो । दीपा टेलिभिजकर्मी र रङ्गकर्मी पनि हुन् ।
सम्झना उप्रेती रौनियार
सम्झना उप्रेती रौनियार नेपाली चलचित्रकी अर्की महिला निर्देशक हुन् । ‘वीर गणेशमान’, ‘मनमन्दिर’, ‘मामाघर’, ‘सिउँदोको सिन्दूर’ लगायतका चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरेपछि ‘मेघा’ मार्फत् सम्झनाले निर्देशक बन्ने आँट गरिन् । ‘मेघा’ मा उनले बलिउड अभिनेत्री मनिषा कोइरालका भाइ सिद्धार्थ कोइरालालाई नेपाली चलचित्र उद्योगमा डेब्यू गराइन् । उनले आफूलाई स्थापित गराउन भने सकेनन् ।
सम्झनाको दोस्रो चलचित्र ‘फागु’ हो । यसमा नायिका करिष्मा मानन्धरले लगानी गरेकी थिइन् । सम्झनाले नेपाली चलचित्रको सेटमा मात्रै एक्सन कट गरिनन्, उनीसँग बलिउडका चलचित्रमा पनि एक्शन कट गरेको अनुभव छ । उनले ‘जेनिफर’, ‘राइट या रंग’ हिन्दी र केही भोजपुरी चलचित्रमा पनि सहायक निर्देशक भएर काम गरिन् ।
सिर्जना बस्नेत
नेपाली चलचित्र उद्योगमा अर्की महिला निर्देशकको नाम हो, –सिर्जना बस्नेत । नायिका हुँदै निर्देशक बनेकी हुन् उनी । योजनाबद्ध हिसाबले भने उनी नायिका भएकी होइनन् ।
उनले ‘गुडलक’ चलचित्र बनाउन गोविन्द गौतमलाई निर्देशक बनाउने समझदारी गरेकी थिइन् । तर गोविन्द ‘गुडलक’ चलचित्र निर्देशनका लागि नगएपछि सिर्जना आफैले निर्देशन गरिन् ।
निलु डोल्मा शेर्पा
निलु डोल्मा शेर्पाले सर्ट फिल्म निर्देशन गर्दागर्दै फिचर फिल्म निर्देशन गरिन् । ‘हाउ फन्नी’ निलुले निर्देशन गरेको चलचित्र हो । ‘हाउ फन्नी’ पूर्व मिस नेपाल माल्भिका सुब्बाले लगानी गरेको चलचित्र हो । हृदयघातका कारण उनको एक वर्ष अगाडि निधन भयो ।
सबु सुवेदी र अनिशा खड्का
सबु सुवेदी र अनिशा खड्का पनि चलचित्र निर्देशक हुन् । ‘चलेछ बतास सुस्तरी’ सबु र अनिशाले संयुक्त रुपमा निर्देशन गरेका थिए । प्रमोद भारध्वज र सुष्मा कार्कीलाई लिएर बनाइएको चलचित्रले बक्स अफिसमा राम्रो उपस्थिति जनाउन सकेन । दुई वर्ष अगाडि चलचित्र युट्युबमा अपलोड गरिएको थियो ।
लक्षु गौतम
लक्षु गौतमले पनि महिला चलचित्र निर्देशकका रुपमा आफ्नो नाम लेखिन् । ‘तँ, म र ऊ’ तथा ‘ब्ल्याक इयर’ उनले निर्देशन गरेका चलचित्र हुन् । निता ढुङ्गाना र आमेश भण्डारीलाई लिएर बनाएको लक्षुको चलचित्र ‘तँ, म र ऊ’ युट्युबमा पनि हेर्न सकिन्छ ।
झरना थापा
नेपाली रजतपटमा नायिका हुँदै प्रवेश गरेर निर्देशक बन्न सफल नायिका हुन् झरना थापा । दर्जनौं चलचित्रमा अभिनय गरिसकेपछि उनले एक्सन कटको बाटो समातेकी हुन् ।
झरनाले निर्देशन गरेको चलचित्र हो ‘ए मेरो हजुर–२’ । यो चलचित्रले बक्स अफिसमा राम्रो प्रभाव जमाउन सक्यो भने झरनालाई अब्बल निर्देशकका रुपमा उभ्याउन सक्यो ।
चलचित्रमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह थिइन् । तर चलचित्र रिलिज पूर्व होस् या रिलिजको समय, साम्राज्ञीकोभन्दा बढी चर्चा झरनाको थियो । दुई दशक नायिकाका रुपमा चलचित्र उद्योगमा काम गरेकी उनी अहिले ‘ए मेरो हजुर–३’ निर्माणको तयारीमा छिन् ।
समुद्र भट्ट
चलचित्र ‘आधा पेज’ महिलाले निर्देशन गरेको चलचित्र हो । ‘आधा पेज’ लाई समुद्र भट्टले निर्देशन गरेकी हुन् । सलोन बस्नेत र रिस्ता बस्नेतलाई मुख्य कलाकारका रुपमा लिएर ‘आधा पेज’ बनाएकी उनको यो चलचित्र युट्युबमा पनि उपलब्ध छ ।
रेखा थापा
नेपाली चलचित्र उद्योगमा अर्को स्थापित नाम हो रेखा थापा । बोल्ड नायिकाको छवि बनाएकी रेखालाई नेपाली चलचित्र उद्योगमा हिरो रेखाका रुपमा चिनिन्छ ।
उनले आफूलाई नायिकामा मात्रै सीमित राखिनन् । निर्देशकका रुपमा पनि स्थापित गर्ने प्रयास गरिन् । ‘हिम्मतवाली’ रेखा निर्देशित चलचित्र हो । त्यसो त उनी निर्मात्री पनि हुन् । ‘हिम्मतवाली’ मा पनि उनी आफंैले लगानी गरेकी थिइन् । अक्सर नारीप्रधान कथामा चलचित्र बनाउने रेखाले ‘हिम्मतवाली’ मा श्याम भट्टराईलाई निर्देशकका रुपमा लिएकी थिइन् । उनलाई श्यामको काम चित्त बुझेन र आफैं निर्देशन गरिन् ।
रेखाको निर्देशनको यात्रामा पूर्णविराम लागेको छैन । उनले चलचित्र ‘मालिका’ निर्देशन गरिरहेकी छन् । ‘मालिका’ कात्तिक २१ गते रिलिज हुँदैछ ।
रेनेशा राई
कोरियोग्राफर हुँदै निर्देशक बनिन् रेनेशा राई । रेनेशा निर्देशित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ यही हप्ता रिलिज भयो । एक दशक कोरियोग्राफी गरेकी रेनेशाले आफूले कडा मेहनत गरेर चलचित्र बनाएको भन्दै प्रिमियरमा उपस्थित पाहुनाका अगाडि नै आँशु झारिन् । चलचित्र निर्देशनको यात्रा जारी रहन्छ कि यही नै अन्तिम हो भन्ने जिज्ञासामा उनले ‘इन्टु मिन्टु लण्डनमा’ को सफलता र प्रतिकृयामा भर पर्ने बताउँदै आएकी छन् ।
संगीता श्रेष्ठ
टेलिभिजनमा कार्यक्रम प्रस्तोता, प्रोडुसर हुँदै म्युजिक भिडियो निर्देशक बनेकी संगीता पनि अहिले चलचित्र निर्देशनमा आइपुगेकी छन् । सयौं म्युजिक भिडियो निर्देशन गरिसकेकी संगीता अन्ततः चलचित्रको निर्देशन गर्न आइपुगेकी हुन् । ‘कथा काठमाडौं’ उनले निर्देशन गरेको चलचित्र हो ।
यही असोज १२ गते प्रदर्शनमा आउने चलचित्र प्रदर्शन अगावै इन्टिमेट सिनका कारण विवादमा तानिएको छ ।
दीपाश्री निरौला
अभिनयको बाटो हुँदै निर्देशनसम्म फड्को मार्ने नायिका हुन् दीपाश्री निरौला । टेलिचलचित्रमा अभिनय गरेकी उनले हास्य टेलिचलचित्र ‘तीतो सत्य’मा लामो समय सहायक निर्देशक भएर काम गरिन् ।
दीपाश्री निर्देशित पहिलो चलचित्र ‘छक्का पञ्जा’ हो । ‘छक्का पञ्जा’ को दोस्रो सिरिज पनि निर्देशन गरेकी उनले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘छक्का पञ्जा–३’ । ‘छक्का पञ्जा–३’ यही दसैंको घटस्थापनका दिन रिलिज हुँदैछ ।
अहिलेसम्म १५ जना महिलाले चलचित्र निर्देशन गरिसकेका छन् । अधिकांशले यसलाई निरन्तरता भने दिन सकेका छैनन् । केही एउटै निर्देशनमा सीमित छन् भने केहीले दुइटा निर्देशन गरेका छन् । तीनवटा चलचित्र निर्देशन गर्ने महिला निर्देशक दीपाश्री निरौलामात्रै हुन् ।
रेनेशा राईको चलचित्र भर्खर मात्रै प्रदर्शनमा आएको छ भने संगीता श्रेष्ठको चलचित्र पदर्शन हुनै बाँकी छ । त्यसैले राई र श्रेष्ठले पनि निर्देशनलाई निरन्तरता दिन्छन् या दिँदैनन् त्यो चलचित्रको ब्यापार र प्रतिकृयामै भरपर्ने अवस्था छ ।