
काठमाडौं । पछिल्लो समय चलचित्र निर्माता थप मारमा पर्ने गरेका तथ्यहरू बाहिर आउन थालेका छन् । करोडौँ रुपैयाँ खर्च गरेर चलचित्र बनाउने निर्माता सिनेमा रिलिज भएपछि हलमा टिकट किन्न पनि बाध्य हुने गरेपछि उनीहरू थप मारमा पर्ने गरेका हुन् ।
चलचित्र निर्माणमा करोडौँ रुपैयाँ खर्च गरेका निर्माताले लाखौँका टिकट आफैँ खरिद गर्ने गरेका छन् । केहीले आफ्नै खुसीले टिकट खरिद गर्ने गरे पनि केहीलाई भने अप्रत्यक्षरूपमा बाध्य बनाइने गरेको स्वयं चलचित्रकर्मी बताउँछन् ।
पछिल्लो समय निर्माताले नै हलमा टिकट काट्ने गरेको तथ्य निर्माता विनोद पौडेलले प्रस्ट पारेका छन् । कम्तीमा २० देखि २५ लाख रुपैयाँको टिकट निर्माताले किन्ने गरेको उनको भनाइ छ ।
आफूले पनि चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ चलाउँदा १० देखि १२ लाख रुपैयाँको टिकट खरिद गरेको उनको स्वीकारोक्ति छ । यसलाई उनी सिनेमाको ‘मार्केटिङ प्लान’ भन्छन् ।
रहर कि बाध्यता ?
हलमा टिकट काट्नु निर्माताका लागि बाध्यता भइसकेको निर्माता विनोद बताउँछन् । शो टिकाउने आशामा निर्माताले टिकट काट्ने गरेको उनको भनाइ छ ।
“वितरकले सिनेमा राम्रो छ, वर्ड अफ माउथ राम्रो आउँछ । त्यसैले आफैँ टिकट काटेर भए पनि सुरुका दुई/तीन दिन शो हट्न नदिऊँ भनेर निर्मातालाई भन्छन्,” निर्माता विनोद भन्छन्, “निर्मातालाई वितरकसहित अरूले पनि भनेपछि हो कि क्या हो भन्ने लाग्छ ।”
शो टिकाउन नसके चलचित्र उत्रिने डरले निर्माताले सुरुका दिनमा टिकट काट्ने गरेको उनी प्रस्ट पार्छन् । नयाँ मेकरका सिनेमाले देशभर मुस्किलले ७० देखि ८० वटा शो पाउने र ती शो पनि टिकाउन नसके प्रदर्शन भएको भोलिपल्टै सिनेमा उत्रिने डरले निर्माताले पहिलो हप्ता टिकट किन्ने गरेको उनको भनाइ छ ।
“हाम्रो प्रोडक्ट राम्रो छ, सुरुका तीन/चार दिन सिनेमा टिकाउन सकियो भने पछि चल्छ । करोडौँ त खर्च गरियो भने १०/५० लाखको कुरा त हो,” विनोद भन्छन्, “काटेको टिकटको पनि ५० प्रतिशत आफैँलाई फिर्ता आउँछ भनेपछि निर्मातालाई पनि हो कि क्या हो भन्ने लाग्छ ।”
७०/८० वटा शोमा दैनिक पाँचदेखि सातवटा टिकट हप्ता दिनसम्म काट्दा १२/१५ लाख रुपैयाँ कम्तीमा खर्च हुने गरेको उनी बताउँछन् ।
सिनेमा हलले शो हटाइदिन्छन् भन्ने त्रासमा नयाँदेखि स्थापित मेकरसम्मले टिकट काट्ने गरेको उनको भनाइ छ । थिएटर, क्लब तथा विभिन्न समूहहरूलाई टिकट काटेर निर्माताले दिने गरेको निर्माता पौडेल बताउँछन् ।
“आफ्नो सिनेमा राम्रो रहेछ भने त ठिकै हो । सिनेमा हेरेकाहरूले हल्ला गरिदिए भने चलचित्र चल्छ पनि होला । तर, सिनेमा राम्रो रहेनछ भने त टिकट काटेको पैसा पनि जान्छ,” उनी भन्छन् ।
कसको खेल, किन ?
टिकट काट्न बाध्य पार्नेमा विशेष गरी वितरकले उक्साउने गरेका चलचित्रकर्मीको आरोप छ । यदि, निर्माताले चलचित्र बनाउँदा वितरकबाट पैसा लिएको छ भने उसले टिकट काट्न विशेष आग्रह गर्ने निर्माता पौडेलको भनाइ छ ।
“वितरकले पैसा दिएको छैन भने छुट्टै कुरा । यदि, छ भने उसले सिनेमा रिलिज भएपछि आफ्नो सेयर लिन चेक पहिला नै काटिसकेको हुन्छ,” उनी भन्छन्, “वितरकले आफ्नो भागको पैसा कटाएर निर्मातालाई दिने हो । त्यसैले टिकट काट्न लगायो भने आफ्नो पैसा सुरक्षित हुन्छ भनेर पनि वितरकले निर्मातालाई उक्साउने गरेका छन् ।”
यो परिपाटी आफैँमा गलत भएको उनको भनाइ छ । सिनेमा गुण र दोषका आधारमा चल्नुपर्ने उनको धारणा छ ।
राम्रो नभएकै कारण आफूले यो खराब प्रवृत्ति हटोस् भनेर यसबारे बोलेको निर्माता पौडेल बताउँछन् । “यो कुरा मैले बाहिर ल्याउनुको कारण नै यो चलन हट्नुपर्छ भनेर नै हो,” उनले भने, “यो प्रवृत्ति यथावत् रहनुपर्छ भन्ने पक्षमा रहेको भए म यो कुरा सार्वजनिक गर्ने नै थिइनँ । मलाई पनि त यसले ब्याकफायर गर्छ होला । तर, पनि यो खराब चलन हट्नुपर्छ ।”
हलको पनि भूमिका छ ?
निर्माता रमेश चौलागाईं अप्रत्यक्षरूपमा निर्माता टिकट काट्न चौतर्फी घेराबन्दीमा पर्ने गरेको बताउँछन् । वितरकले आफ्नो सेयर उठाउन सहज होस् भनेर टिकट काट्न लगाउनु सामान्य भइसकेको बताउँछन् ।
उनले अप्रत्यक्षरूपमा सिनेमा हलले पनि निर्मातालाई टिकट खरिद गर्न बाध्य बनाइरहेको उनी बताउँछन् । “हलको आफ्नै नियम होला, कुन सिनेमालाई कति शो दिने र कति समयसम्म दिने भन्ने,” उनी अगाडि थप्छन्, “तर, हलको नियमले पनि निर्माता टिकट काट्न बाध्य भइरहेका छन् ।”
चलचित्रले पाएको शो उसले चाहेको जुनसुकै समय फालिदिनसक्ने अधिकार सिनेमा घरसम्म रहँदा समस्या भएको उनको भनाइ छ ।
दर्शक कम भयो भने जुनसुकै बेला शो हटाइदिने त्रासमा रहेका निर्माता टिकट खरिद गर्न बाध्य रहेको उनको जिकिर छ । यो चलन हटाएर निश्चित समयसम्म दिएको शो हटाउन नपाइने नियम बनाउने हो भने निर्माता टिकट काट्ने अवस्थामा नपुग्ने उनको दाबी छ ।
“कतिपय देशमा सिनेमाको विषय, कलाकार, त्यसका मेकरको ट्रयाक रेकर्ड र सिनेमाप्रति दर्शकको इनक्वाइरीलाई लिएर हलले पाँच दिनदेखि एक हप्ताअगाडि नै शो उपलब्ध गराउँछन्,” रमेश अगाडि थप्छन्, “उनीहरूले कम्तीमा एक हप्ता शो घटाउन पाउँदैनन् । शोमा एकजना दर्शक नभए पनि हलले शो घटाउन पाउँदैन ।”
यस्तै, नियम नेपालमा पनि लागु भए हलसँग निर्माता र वितरकको गुनासो नरहने र निर्माता पनि टिकट किन्न बाध्य नहुने रमेशको जिकिर छ । यही अवस्था रहे निर्माताहरू थप पलायन हुँदै जाने र एकपटक लगानी गरेपछि फेरि नदोहोरिने उनको गुनासो छ ।
के भन्छन् वितरक ?
यता, चलचित्र वितरक रोहित कट्टेल भने यो स्वीकार गर्न तयार छैनन् । आफूले आजसम्म कुनै निर्मातालाई टिकट काट्न नलगाएको उनको दाबी छ ।
“मैले आजसम्म कुनै पनि निर्मातालाई दुईवटा टिकट पनि किन्न लगाएको छैन । कसैले फटाइँ गरेर किन्न लगायो भने त्यो गलत हो,” रोहित भन्छन्, “म आफैँ यसको विरोधी हुँ । यदि, यस्तो प्रवृत्ति छ र कसैबाट यो भइरहेको छ भने गलत हो ।”
वितरक र निर्माताबीच चलचित्र निर्माणपूर्व वितकरले दिएको पैसा सिनेमा रिलिज भएपछि उपलब्ध गराउने र नगराए कानुनी बाटोबाट उठाउने सुरुमै सम्झौता हुने गरेको उनी सुनाउँछन् ।
“निर्माता र वितरकबीच समय तोकेर वितरकको सेयर फिर्ता गर्ने सम्झौतामै उल्लेख हुन्छ । धेरैले सिनेमा चले पनि नचले पनि पैसा फिर्ता गर्नुहुन्छ,” उनी भन्छन्, “पैसा फिर्ता नगर्नेका लागि सम्झौतामै घरघराना बेचेर भए पनि वितरकको पैसा फिर्ता गर्ने भन्ने उल्लेख हुन्छ । यति भएपछि पैसा उठाउन निर्मातालाई टिकट कटाइरहनु पर्दैन ।”
वितरकले दिएको ठूलो रकम निर्मातालाई टिकट बेच्न लगाएर आएको पैसाबाट उठाउन चाहनेले पनि नसक्ने उनको दाबी छ ।
वितरकले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्न निर्मातालाई ७५ लाख रुपैयाँको टिकट काट्न लगाउनुपर्ने रोहित बताउँछन् । र, यो सम्भव नरहेको उनको भनाइ छ ।
सिनेमा पनि व्यापार
सिनेमा हलहरूको छाता संस्था चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ हलमा सिनेमाको टिकट काट्ने निर्मातालाई ‘मुर्ख बुद्धि’ भन्छन् । दुःख गरेर करोडौँ लगानी गरेको सिनेमाको टिकट पनि निर्माता स्वयंले काट्नु आफैँमा विकृति भएको उनको भनाइ छ ।
“यो आफैँमा विकृति हो । यसलाई तत्काल रोक्नुपर्छ भनेर म भन्दै आएको छु,” वितरक समेत रहेका गोपालकाजी भन्छन्, “निर्माताले चिलचित्र राम्रो बनाउने हो, टिकट काट्ने होइन । टिकट दर्शकले काट्ने हो ।”
चलचित्र चलाउन फरक खालको रणनीति आवश्यक पर्ने तर टिकट नै काट्न भने नहुने उनको धारणा छ । कसरी चलचित्र चलाउने त्यसमा ‘क्रिएटिभ आइडिया’ आवश्यक हुने भन्दै उनी भन्छन्, “तर, करोडौँ रुपैयाँ खर्च गरिसकेको निर्माताले फेरि टिकटमा खर्च गर्न हुँदैन । सिनेमा चलाउन केही फन्डा आवश्यक हुन्छ । तर, निर्माताले टिकट काटेर सिनेमा चल्दैन ।”
दर्शकले सिनेमा मन नपराएसम्म नचल्नेमा ढुक्क हुनुपर्नेमा गोपालकाजीको जोड छ । चल्ने चलचित्र बनाए दर्शकले नै टिकट काट्ने उनी बताउँछन् ।
शो कति दिन, राख्ने वा हटाउने त्यो व्यापारले निर्धारण गर्नेमा ढुक्क हुन निर्मातालाई उनको आग्रह छ ।
“हल सिनेमाको व्यापार गर्ने ठाउँ हो । हलमा पुगेपछि सिनेमाको व्यापार नै हुने हो,” गोपालकाजी प्रस्ट पार्छन्, “तीनवटा सिनेमा समानान्तररूपमा छन् भने जसले व्यापार गरिरहेको छ, उसको शो थपिन्छ । दर्शक नआएको सिनेमाको शो घट्छ ।”
दर्शक नपाउने सिनेमा उत्रिनुलाई स्वाभाविकरूपमा लिनुपर्ने उनको धारणा छ ।