-1745019654.jpg)
काठमाडौं । ‘ह्रस्व दीर्घ’को निर्माण टिमले सिनेमा प्रदर्शनको तीन हप्तामा आफ्नो चलचित्रको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गर्यो । निर्माणपक्षले चलचित्रले १० करोड ६० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको थियो ।
यो तथ्यांक सार्वजनिक गरेपछि पनि ‘ह्रस्व दीर्घ’ लामो समय प्रदर्शन भयो । त्यसको मतलब यसको ग्रसकलेक्सन १० करोड ६० लाखभन्दा स्वतः माथि हुन्छ ।
तर, झुट । निर्माणपक्षले उपलब्ध गराएको १० करोड ६० लाखको तथ्यांक झुट हो । यथार्थमा यो चलचित्रले गरेको ग्रसकलेक्सनको तथ्यांक अर्कै छ ।
चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकानुसार, ‘ह्रस्व दीर्घ’ले जम्मा चार करोड ३३ लाख ५५ हजार ५८९ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
अर्थात्, निर्माणपक्षले ६ करोड २६ लाख रुपैयाँ बढी कलेक्सन देखायो । निर्माणपक्षले नेपाली बक्सअफिस कलेक्सन मात्र सार्वजनिक गरेको थियो । ओभरसिज र डिजिटल मार्केटबाहेक नेपाली बक्सअफिसको कलेक्सन रकम सार्वजनिक गरिएको थियो । तर, बक्सअफिस रिपोर्टले निर्माणपक्षले गलत तथ्यांक सार्वजनिक गरेको पुष्टि हुन्छ ।
सिंगल थिएटरबाट पनि केही रकम संकलन हुन्छ, त्यो बक्सअफिसमा जोडिएको हुँदैन । बोर्डले बक्सअफिस जडान नगरेका सिनेमा हलको कलेक्सन त्यसमा समावेश हुँदैन । यस्ता हल नेपालमा केही मात्रामा छन् ।
० ० ०
‘होस्टेल–३’ निर्माणपक्षले एक हप्ताको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको थियो । निर्माणपक्षका अनुसार, चैत १ गतेसम्म एक हप्तामा यो चलचित्रले चार करोड ३२ लाख ग्रसकलेक्सन गरेको थियो ।
चैतको अन्तिमतिर चलचित्र विकास बोर्डले दिएको बक्सअफिस तथ्यांकानुसार ‘होस्टेल–३’ ले चार करोड ५८ लाख सात हजार ४७२ रुपैयाँ मात्र ग्रसकलेक्सन गरेको छ । जबकि, यो चलचित्र त्यसयता पनि नेपाली बक्सअफिसमा राम्रोसँग चलेको थियो ।
प्रदर्शनको एक हप्तापछिदेखि सिनेमा उत्रँदासम्म यसको कलेक्सन २६ हजार मात्र हो ? पक्कै होइन । एक हप्तापछिको कलेक्सन २६ हजारभन्दा माथि भए निर्माणपक्षले उपलब्ध गराएको तथ्यांक झुटो हो ।
यी दुई सिनेमा त प्रतिनिधि उदाहरण मात्रै हुन्, केही सिनेमालाई छोड्ने हो भने अधिकांश निर्माताले यस्तै गरिरहेका छन् ।
० ० ०
बोर्डको बक्सअफिस तथ्यांकमा साढे चार करोड रुपैयाँ कलेक्सन देखिएको चलचित्रको सिंगल थिएटरको आम्दानी कति हुन्छ ?
चलचित्र वितरक करण श्रेष्ठका अनुसार, यकिन तथ्यांक हुँदैन । तर, साढे चार करोड कलेक्सन बक्सअफिसमा देखिँदा सिंगल थिएटरको जोड्दा त्योभन्दा केही बढी हुन्छ ।
“सिनेमाअनुसार फरक पर्छ । कुन हलमा कसरी चलेको छ, त्यसले पनि निर्धारण गर्छ । काठमाडौंभित्र र बाहिर चलचित्र कति चलेको छ, त्यसका आधारमा पनि हुन्छ,” करण भन्छन्, “साढे ४६ करोड बक्सअफिसमा कलेक्सन देखिएको पूर्ण बहादुरको सारङ्गीको दुई/तीन करोडभन्दा धेरै नै हुन्छ ।”
सबै निर्माताले बक्सअफिस तथ्यांक बढाएर भन्दैनन् । केहीले भने यस्तो भन्ने गरेको करण स्वीकार गर्छन् । व्यापारको रणनीतिक योजनाअन्तर्गत केही निर्माताले तथ्यांक बढाउने गरेको उनी जिकिर गर्छन् ।
“केहीले तथ्यांक तलमाथि गर्लान्, तर धेरैले गर्दैनन् । आफ्नो ब्रान्डमा धक्का पुग्छ भनेर पनि राम्रो छवि भएका निर्माता र निर्देशकले तथ्यांक बढाउँदैनन्,” करण भन्छन् ।
बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दा बोर्डले पूर्ण जानकारी दिनुपर्नेमा उनी जोड दिन्छन् । बोर्डले बक्सअफिस सार्वजनिक गर्दा यो सिंगल थिएटरबाहिरको तथ्यांक भनेर प्रस्ट पार्नुपर्ने उनको धारणा छ ।
“हिजोका दिनमा बक्सअफिस नै थिएन । आज बक्सअफिस सिस्टम लागु भएको छ । तर, कतिपय हलमा अझै बक्सअफिस जडान भएको छैन । कतिपय जडान भएका हलबाट पनि बक्सअफिस डाटा आउन थालेको छैन,” उनले भने, “त्यसैले निर्माताले दिएको तथ्यांक र बोर्डले दिएको तथ्यांक यसकारण फरक हुनुपर्छ भनेर प्रस्ट पारिदिनुपर्छ ।
बक्सअफिस पूर्ण रूपमा लागु भएपछि दुईथरी तथ्यांक बन्द हुने करण बताउँछन् । आमदर्शकमा किन दुई खालको तथ्यांक आउँछ भन्ने भ्रम सिर्जना गर्न नहुनेमा वितरक करणको जोड छ ।
निर्माता विनोद पौडेल आफ्नो चलचित्र राम्रो छ भनेर देखाउन निर्माणपक्षले गलत तथ्यांक दिने गरेको बताउँछन् । चलचित्र राम्रोसँग चलिरहेको छ भनेर दर्शकमा भ्रम सिर्जना गर्ने काम निर्माताबाट भइरहेको उनको भनाइ छ ।
“धेरै तथ्यांक देखायो भने चलचित्र चल्यो भनेर दर्शकमा म्यासेज राम्रो जान्छ भन्ने निर्मातामा विश्वास रहेको देखिन्छ,” विनोद भन्छन्, “२० लाख कमायो भने दुई करोड २० लाख भनेर भ्रम छर्ने काम भइरहेको छ ।”
‘फन्डा’ गर्ने काम धेरै भइरहेको उनी टिप्पणी गर्छन् । आत्मरतिमा रमाउने र प्रचारको होडबाजीले दर्शकमा भ्रम छर्ने कार्य भइरहेको उनको बुझाइ छ ।
“पाँच करोडमा बनाएको चलचित्र दुई करोडमा बनाएको भनेर बढी नाफा देखाउने चलन हाबी भएको छ,” विनोद भन्छन्, “नाफामा गएका भनेर दाबी गरेका कतिपय चलचित्रले लगानी नै सुरक्षित गर्न सकेका हुँदैनन् ।”
पछिल्लो समय आफैँ टिकट काटेर प्रदर्शनको ५१औँ दिन मनाउने चलन पनि हाबी भएको उनले जानकारी दिए । “निर्माता र कलाकारले मेरो चलचित्र खतरा छ भनेर भएन । दर्शकले चाहिँ खतरा छ भन्नुपर्यो,” विनोद भन्छन्, “यस्ता गलत प्रवृत्ति पछिल्लो समय बढेको छ ।”
चलचित्र विकास बोर्डको बक्सअफिस पनि सबै हलमा लागु हुनुपर्नेमा त्यसो हुन नसक्दा गलत तथ्यांक दिनेलाई सहज भइरहेको विनोद बताउँछन् । “मेरो चलचित्र पूर्ण बहादुरको सारङ्गीको कलेक्सन वितरकले ४८ करोड ३५ लाख दिएको छ । तर, बक्सअफिसमा ४६ करोड ८० लाख छ,” उनी भन्छन्, “यसले पनि दर्शकलाई भ्रममा पारिरहेको छ । जब सबै हलमा बक्सअफिस लागु हुँदैन, तबसम्म भ्रम छर्ने र आत्मरतिमा रमाउनेलाई सहज हुनेछ ।”
सोसल स्टाटस र बजारमा राम्रो स्थान बनाउन केही निर्माता र वितरकले बक्सअफिसको गलत तथ्यांक दिने गरेको कलाकार तथा निर्माता निर्मल शर्मा बताउँछन् ।
चलचित्र नचल्नु अपराध हो भनेर बुझ्न नहुने उनी टिप्पणी गर्छन् । सबै चलचित्र चल्छन् नै भन्ने नहुने उनी स्पष्ट पार्छन् । “मिहिनेत गरेर बनाएको चलचित्र हो, लगावका साथ काम गरेको थिएँ, तर पनि चलेन भनेर स्वीकार गर्न सक्नुपर्छ,” निर्मल भन्छन् ।
सधैँ सबै चलचित्र चल्छन् भन्ने निश्चित हुँदैन । सलमान खानको चलचित्र पनि नचलेको तथ्यलाई हेर्न उनी सुझाव दिन्छन् ।
“सलमान र शाहरुख खानका चलचित्र पनि चलेका छैनन् । अक्षय कुमारका चलचित्र पनि लगातार चलेका छैनन्,” उनी भन्छन्, “चलचित्रको बजार नै यस्तै हो भनेर बुझ्न आवश्यक छ ।”
भ्रामक तथ्यांक दिएर हलमा चलिरहेको छ भन्दै थप चलाउने रणनीति र अर्को चलचित्रका निम्ति निर्माता खोज्न सजिलो होस् भन्ने हेतुले गलत तथ्यांक दिने गरिएको हुन सक्ने उनी बताउँछन् ।
पछिल्लो समय यस्ता भ्रामक तथ्यांकसहितका समाचार किन आउँछन् भनेर धेरैले बुझिसकेको र अबका दुई/चार वर्षमा यो पूरै हट्ने उनको विश्वास छ ।
“यस्ता समाचार प्रायोजित हुन् भनेर पछिल्लो समय आमपाठक तथा स्रोतादर्शकले बुझिसक्नुभएको छ,” निर्मल अगाडि थप्छन्, “अब कसैले लेख्दैमा विश्वास गर्ने वातावरण छैन । समाचार सत्य, तथ्य र विश्वसनीय हुनुपर्छ ।”
धेरैलाई थाहा भइसक्दा पनि गलत तथ्यांक किन बाँडिरहेको भन्दै उनी प्रश्न गर्छन् । उनी भन्छन्, “धेरैलाई थाहा छ, तर यसमा किन र केका लागि रमाइरहेको हो, म आफैँ अचम्ममा छु ।”
नेपालमा राम्रो चलेको भनेर हाइप बनाएर विदेशमा चलाउन सहज हुन्छ भन्ने सोचले यो कार्य भइरहेको निर्मलको बुझाइ छ । तर, यसले अब काम नगर्नेमा उनी ढुक्क छन् ।
“विदेशमा चल्छ भनेर गलत तथ्यांक दिने गरेको पाइन्छ । तर, विदेशमा बसेकाहरूलाई पनि नेपालमा के भइरहेको छ भनेर थाहा हुन्छ,” निर्मल भन्छन्, “दुई/चार वर्षअगाडिसम्म यसले काम गर्थ्यो होला, तर अब कसैले कसैलाई झुक्याउन सक्दैन ।”
हालको अवस्थामा बढीमा प्लस–माइनस पाँच प्रतिशतभन्दा तलमाथि नहुने उनी बताउँछन् । यो अवस्था अन्त्यका निम्ति प्रत्येक दिनको बक्सअफिस रिपोर्ट सार्वजनिक गरिनुपर्ने उनको सुझाव छ ।