
संविधानसभाबाट वैधानिक तवरले फ्याँकिएको राजतन्त्र बिउँताउने सुरसारमा सक्रिय छन्, ८७ वर्षीय नवराज सुवेदीजसरी नै ८५ वर्षीय हरिबहादुर बस्नेत पनि । यतिखेर राजतन्त्र पुनर्स्थापना निम्ति भएभरकै बल लगाउँदै छन् ।
२०२७ सालमा राष्ट्रिय पञ्चायत सदस्य हुँदै २०२९ सालमै मन्त्री बनेका बस्नेत पञ्चायतकालभरि धेरैवटा मन्त्रालय सम्हाले ।
तत्कालीन राजा ज्ञानेन्द्रकै शासनकालमा मनोनीत प्रधानमन्त्री–मन्त्री बनिरहँदा २०६० सालमा पनि मन्त्री बन्ने अवसर मिल्यो । मृत राजतन्त्रलाई १७ वर्षपछि प्राण भर्न सकिन्छ कि भनेर पूर्वपञ्चहरूले छेडेको आन्दोलनका उनी पनि हर्ताकर्ता हुन् ।
तर, उनीसँग अन्तर्वार्ता लिइँरहँदा संसदीय वा वैधानिक प्रक्रियाद्वारा राजतन्त्र पुनर्स्थापित हुन सक्छ भन्ने विश्वासमा उनमा देखिएनन् । तत्कालीन राजा ज्ञानेन्द्रको १४ महिने प्रत्यक्ष शासनबाट प्रताडित नागरिकले आजित हुँदै २०६२–२०६३ मा १९ जनआन्दोलन गरी किनारा लगाएका हुन् ।
‘तत्कालीन राजाको शैली त ‘जोड्ने’ होइन कि निषेधतिरै गएका कारण नागरिक आत्तिदै जनआन्दोलनबाट किनारा लगाएका होइनन् र ?’ बस्नेतसँग प्रश्न गर्दा जवाफ रह्यो, “गएको इतिहास सम्झनुको कुनै अर्थ हुँदैन ।”५६ वर्षदेखि राजनीति–शासनमा जमेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बस्नेतसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :
–तपाईं चैत–वैशाखको उराठलाग्दो दिनमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलनरत हुनुहुन्छ, राजतन्त्र बिउँतिन्छ भन्ने लागेरै सक्रिय हुनु भएको हो कि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यही अभियानसँगै बलियो बनाउन सकिन्छ भन्ने धेय राख्नुभएको हो ?
हेर्नोस्, राजतन्त्र बिउँताउनु आजको आवश्यकता हो । त्यो भनेको संवैधानिक राजतन्त्र हो, राजा स्वयंले व्याख्या गरेका छन् । पूर्ण प्रजातान्त्रिक व्यवस्थामा संवैधानिक राजतन्त्र पुनर्बहाली गर्नु आवश्यक भएको हामी ठान्छौं । त्यसकारण हामी आन्दोलनमा होमिएका हौँ ।
–तर, राजसंस्था विधिवत् विस्थापित भएको दुई दशक पुग्न लागिसक्यो र त्यो संस्थाको संयन्त्र एक किसिमले छिन्नभिन्न भइसकेको छ । राज्य संरचनामा संविधानसभाबाट निर्मित संविधानबाटै आमूल परिवर्तन भइसकेको छ, अब त्यो संस्था फर्काउने काम कसरी सम्भव हुन सक्छ र ?
कुनै पनि कुरा आवश्यकताले सम्भव तुल्याउँछ भन्ने मान्यता छ । मुलुकमा बहुदलीय व्यवस्था र गणतन्त्र आएपछि जुन किसिमका क्रियाकलाप भएका छन्, विकासको गति रोकिएको छ । सरकार छिनछिन परिवर्तन भइरहेको छ ।
यो अस्थिरताले मुलुकलाई कहाँ पुर्याउँछ ? सरकार बनाउने र जोगाउने क्रममा सरकारले विकासमा ध्यान दिनै पाउँदैन । किनभने एउटा सरकार एक वर्ष पनि टिक्दैन । उसले सरकार जोगाउने सिवाय अर्काे कुरा सोच्न नै पाउँदैन । त्यस्तो अवस्थामा रहेर मुलुकको विकास कहिले हुने ?
यतिखेर नेपालका सबभन्दा ठूला दुई दलको दुई नजिकको सरकार छ । तैपनि प्रधानमन्त्री केपी शर्मा ओली त्रासमा हुनुहुन्छ । उहाँ दिनहुँ भन्नुहुन्छ, ‘सरकार टुट्दैन, गठबन्धन टुट्दैन ।’ उहाँलाई रातो दिन डर भएप्छि यसो भनिरहनु परेको छ ।
–सरकार त सधैँभरि यसरी नै अस्थिर नै थियो, राजसंस्था पुनर्स्थापित हुँदैमा सरकार कसरी स्थिर हुन्छ र ?
राजसंस्थाको पुनर्स्थापना खोज्नुमा नेपालमा विशेष परिस्थिति छ । तीन करोडको आवादी भएको मुलुकमा कति विविधता र भिन्नता छ ? तर, केही दलहरू त्यसमा अझ विभाजन–विभेद गराउँदै फाइदा लिन उद्यत भइरहेका छन् ।
यो विविधतामा एकता कसरी ल्याउने ? यो विविधतालाई कसैले जोड्न सक्छ भने त्यो हिन्दू राष्ट्र, अर्काे राजतन्त्रले मात्र हो । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य जोड्दै बनाएको नेपालमा प्रशस्त विविधता र आकांक्षा छन् ।
त्यो सबैलाई जोड्न सक्ने ताकत को सँग छ त ? त्यो जोड्न सक्ने भनेको राजतन्त्र हो । त्यसकारण हामीले ‘सिम्बोलिक’ या भावनात्मक रूपमा एकतामा राख्न सक्ने शक्ति खोज्नुपरेको हो ।
–राजतन्त्रले मुलुकलाई जोड्ने तर्क ल्याउनुभयो, तर पूर्वराजा ज्ञानेन्द्रको चौध महिने प्रत्यक्ष शासनकालमा पूर्णतः निषेध राजनीति भित्र्याउँदै दल लोकतान्त्रिक विचार राख्नेलाई भित्तामा पुर्याएको दृश्य सबैका आँखामा कैद छन्, पूर्वराजाको शैली त ‘जोड्ने’ होइन कि निषेधतिरै गएका कारण नागरिक आत्तिदै आन्दोलन गरेका होइनन् र ?
गएको इतिहास सम्झनुको कुनै अर्थ हुँदैन । यतिखेर राजाले के भन्नुभएको छ, त्यो मात्र सम्झनुस् । विगत भुल्नुस् । उहाँको १४ महिने शासनलाई अहिले सम्झिनुको कुनै अर्थ छैन । हामी धेरै अघि बढिसकेका छौँ । उहाँले स्पष्ट रूपमा सार्वभौमसत्ता जनतामा रहने गरी प्रजातान्त्रिक पद्धतिभित्र राजाको खोजी गर्नुभएको छ ।
–बीचैमा तपाईंलाई रोकौं, इतिहास नखोतलौं भन्नुको अर्थ २०६१ माघ–१९ पछि ज्ञानेन्द्रको १४ महिने प्रत्यक्ष शासन गलत थियो भन्ने हो ?
१४ महिने शासनमा उहाँले एकपटक प्रयास गर्नुभयो । यतिखेर ओलीजीको शासनकालमा कसलाई के गर्न खोज्नुभएको छ भनी तपाईंहरूले केलाउनुभएको छ ? केही दिनअघि देवेन्द्र नेपालीको संयोजकत्वमा तीनकुने घटनाको छानबिन गर्न एउटा टोली गठन भएको थियो ।
तर, उहाँलाई तीनकुनेमा पस्न दिइएन । त्यही भान्साघरमा जगमान गुरुङले सानो मिटिङ आयोजना गर्न खोज्नुभयो, त्यो मिटिङसमेत रोक्न खोज्नुभयो ।
हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको मिटिङ थियो । बाहिर टन्न पुलिस राखियो । त्यस्तो अवस्था के हो ? हामी स्वतन्त्र नागरिक होइनौँ कि ? मिटिङ गर्न या बोल्न पाइँदैन कि ? संविधानले हामीलाई त्यो अधिकार दिएको छैन कि ? यो हिटलरको शासनमा जस्तो भयो ।
त्यसकारण यहाँ प्रजातान्त्रिक पद्धति कायम छैन, यो प्रजातन्त्र पनि होइन । प्रजातन्त्र नाम त भाषणमा मात्रै लिने हुन्, यिनीहरूले । हामीमाथि थिचोमिचो बढिहरको छ ।
–तपाईंले हालका नेताहरूमा पनि राजतन्त्र र पञ्चायतीकालीन संस्कार–सोच हाबी छ भन्न खोज्नुभएको हो ?
अब पञ्चायतका कुरा छाड्दिनुुस्, पञ्चायतमा यस्तो त थिएन । भारतीय नेता जयप्रकाशनारायणले दलीय व्यवस्थामा देशको विकास हुन सक्दैन भनी निर्दलीय व्यवस्थाको वकालत गरे । देशकै विकासका खातिर निर्दलीय पञ्चायती व्यवस्था लागु भएको हो । पञ्चायती व्यवस्थामा दल थिएन । म नै चुनाव लडेको हुँ, प्रजातन्त्र त थियो, त पञ्चायतमा ।
–संवैधानिक राजतन्त्रसहितको संविधानको अस्तित्व समाप्त पार्दै तत्कालीन राजा ज्ञानेन्द्रले बाधा अड्काऊ फुकाऊको एउटा धारामा टेक्दै निरंकुश शासन चलाएका होइनन् र ? फेरि राजतन्त्र पुनर्स्थापित भयो भने बितन्डा मच्चाउँदै झन् तानाशाही शासन चलाउँदैनन् भन्ने के ग्यारेन्टी छ र ?
होइन, उहाँको सत्तामा आउने कुरै छैन । उहाँले सत्ता खोजेकै होइन । हामीले पनि उहाँलाई सत्तामा राख्ने प्रयास गरेकै होइन । उहाँलाई त ‘सेरेमोनिल’ संवैधानिक राजा खोजेका हौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण सत्ता हातमा लिएर निरंकुश हुन सक्छन् र ? हिजोको विद्यादेवी भण्डारीले गर्न सकिनन् र ? हामीले राष्ट्रपतिको ठाउँमा संवैधानिक तरिकाले राख्न खोजेको हो ।
–राष्ट्रपतिको ठाउँमा, तपाईंहरूले सोचअनुरूपको राजतन्त्र आउँदा पनि मुलुकका यावत् समस्या त राज्यका तत्तत् संयन्त्रले गर्ने हो, राजतन्त्र पुनर्स्थापित हुँदैमा के त्यस्तो चमत्कार हुन्छ र ?
यतिखेर जुन गन्ध देखिएको छ, त्यसलाई संग्ल्याउन सबैले मान्ने संस्था खोजिएको हो । राजसंस्थाले हस्तक्षेप गरेर होइन कि त्यसको आभाले संग्लिन्छ भन्ने हाम्रो मान्यता हो ।
–राजतन्त्र पुनर्स्थापना निम्ति पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ अग्रसर भएका हुन् कि तपाईंहरू आफैं अग्रसर हुनुभएको हो ?
हामीले नै राजतन्त्र पुनर्स्थापना अभियान थालेका हौं । यो राजाले थालेको कुरा होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर आवाज उठाइरहेको छ । उहाँ त हिन्दूको नाताले ठाउँ–ठाउँमा मन्दिरहरूमा पूजा गर्न जाने गर्नुभएको थियो ।
उहाँले वर्षाैंसम्म त अरु केही गर्नुभएको छैन । तर, उहाँ जहाँ गयो, भीड लाग्यो । भीडले भन्यो, ‘राजा आऊ देश बचाऊ ।’ देशमा जे भइरहेको छ, त्यो गलत भइरहेको छ, राजा आउनुपर्यो भन्ने आवाज उठ्यो । राजाले त अस्ति भर्खर फागुन ६ गतेबाट सुरु गर्नुभएको हो ।
उहाँको फागुन ६ गतेको सन्देशसँगै के महसुस भयो भने देश खतराको विन्दुमा पुग्यो । जे जति काम भएका छन्, गलत भएका छन्, त्यसकारण आफूू पनि संलग्न हुुनुपर्छ भन्ने लागेको हो ।
–राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर राजतन्त्रको वकालत गर्दै आएको छ, तर चुनावी मत परिणाम हेर्नुहुन्छ भने तपाईंहरुलाई नागरिकको समर्थन त खासै छैन । मतदाताले राजतन्त्रविरोधी गणतन्त्रवादीहरूलाई मत दिइरहेका छन् । अनि राजतन्त्र भीडले पुनर्स्थापना गर्ने हो कि मतले ?
चुनावमा जुन मत आएका छन्, त्यो हामीलाई आएको मत हो । जुन भीड आएको छ, त्यो राजतन्त्र पुनर्स्थापना निम्ति आएको हो । पोखराबाट काठमाडौं आउँदाको भीड हेर्नुहोस्, भीड त उर्लिएकै छ । तीनकुनेकै जम्मा भएको भीड हेर्नुहोस् ।
हामीले पनि मञ्च पनि त्यत्रो बनाइरहन पर्दैन, हामीले त आन्दोलन कार्यक्रम घोषणा गर्ने हो भने साधारण मञ्च बनाए हुन्छ भनेका थियौं । उक्त कार्यक्रममा सहभागी हुन मानिस आउँदै थिए, तिनलाई नाका–नाकामा रोकियो ।
शान्तिपूर्ण ढंगले मानिसलाई आउन दिएको भए, एक लाख जना जम्मा हुन्थे ।
दुर्गा तपाईं आयोजक भएको र हामी पनि सरिक हुँदै कार्यक्रम घोषणा गर्न गएका हौँ । हाम्रो कार्यक्रम सुरु नहुँदै टियर ग्यास हानियो । हामीले कुनै दंगा गरेका थिएनौं, आमसभा भाडिँदा दुर्गा प्रसाईंआएकै थिएनन् । हामीलाई मञ्चमा जान दिइएन । घरको माथिबाट टियर ग्यास हानियो । मञ्चमा बल्ल बल्ल पुगेका थियौँ त्यहाँ पनि ताकी ताकी टियर ग्यास हानियो । हामी धन्न बाँच्यौँ जस्तो भयो ।
यो घटनाको छानबिन गर्नुपर्दैन ? हामी यो राज्यमा बस्न नपाउने ? शान्तिपूर्ण आन्दोलन गर्न नपाउने हो ? यो कुरा राज्यले भन्न सक्नुपर्छ ।
–त्यसो भए, दुर्गा प्रसाईंले अघिल्लै दिन संसद् कब्जा गर्ने भनी तयारी रहन कार्यकर्तालाई दिएको प्रशिक्षण र भीडलाई आओ–आओ भन्दै संसद् भवनतिर अघि बढेको घटनाको जिम्मेवारी तपाईंहरूको जनआन्दोलन समितिले लिनुपर्छ कि पर्दैन ?
दुर्गा प्रसाईंले उहाँका कार्यकर्ताहरूलाई के प्रशिक्षण दिनुभयो, हामीलाई थाहा छैन । संसद् भवन कब्जा गर्ने कुरा हामीलाई थाहा छैन, दुर्गा प्रसाईंलाई सोध्नुहोस् ।
संसद् भवनतिर दुर्गा प्रसाईं एक्लो मानिस गएका हुन् । उनी आफैँ एक्लै गएका हुन् ।
–तर, उनले ‘आओ, आओ...’ भन्दै भीडलाई लैजाने प्रयत्न त गरेकै हुन् नि त ? त्यो भिडियो त हेर्नुभयो नि ?
हो, उनले आह्वान गरेका हुन् । तर, खोई कोही गएको थिएन ।
प्रसाईंले दिएको स्पष्टीकरण पत्याउनुस् या नपत्याउनुस्, उसले के भन्यो भने मलाई पहिल्यै मार्ने योजना थियो । त्यो थाहा पाएर सुरक्षा निम्ति गएको हुँ भनेपछि हामीले पत्याएका छौँ, यो कुरा तपाईंहरू नपत्याउन पनि सक्नुहुन्छ ।
–तपाईंहरू चैत १५ को आन्दोलनबाट उत्साही हुनुहुन्छ हो ?
चैत १५ को त्यो आन्दोलनबाट हामी राजावादीहरूको आँट उच्च भएको छ ।
त्यो घटनाबारे कति लेखिए कति ? अहिलेसम्म लेख्दै हुनुहुन्छ, बोल्दै हुनुहुन्छ । भारतका ९९ प्रतिशतले हाम्रो आन्दोलनको बारेमा लेखेका छन् । न्यूयोर्क टाइम्सले लेखेको छ । नेपालमा अन्य अन्तर्राष्ट्रिय मिडियाहरूको उपस्थिति बढेको छ ।
–तपाईंहरूको अभियान प्रारम्भ हुनु अघिल्लो दिन दुर्गा प्रसाईंलाई बोलाउँदै पूर्वराजाले कमान्डर तोक्नुको कारण के हो ? राप्रपामा त्यस्तो नेता नभएर हो ?
यो उहाँले तोकेको होइन । प्रसाईंलाई जनकमान्डर हामीले तोकेका हौं । त्यसभन्दा अघि संयोजक नवराज सुवेदीको एउटा वक्तव्य आएको छ, त्यसैमा प्रसाईंलाई तोकिएको छ । उहाँको स्पष्टीकरण भनौँ या प्रस्टीकरण, दुर्गा प्रसाईंलाई कमान्डर भनिएकै छैन । अरु सत्यता खोज्ने काम मिडियाको हो, हाम्रो काम होइन । उहाँले जे भन्नुभयो, हामीले त्यो पत्यायौं ।
–भनेपछि दुर्गा प्रसाईंसँग पूर्वराजा ज्ञानेन्द्रले भेटेको छैन भनी दिएको अभिव्यक्तिसँग तपाईंहरू विश्वस्त हुनुहुन्छ ?
उहाँ (पूर्वराजा) ले नवराज सुवेदी र दुर्गा प्रसाईंलाई भेटेको छैन भन्नुभयो, हामी त्यसमा विश्वस्त भयौँ । उहाँको संलग्नताको जुन सवाल छ, नवराज सुवेदीको जनआन्दोलन मैले गठन गरेको होइन भन्नुभयो । त्यो हो पनि ।
त्यसो भए, पूर्वराजाले भनेको या चाहेको चाहिँ के हो त ?
उहाँले भन्नुभएकै छ, म कस्तो राजसंस्था चाहन्छु भनेर । नेपालको शासकीय प्रणाली कस्तो हुनुपर्ने ? प्रजातान्त्रिक पद्धतिमा जनता सार्वभौम भएको ठाउँमा म एउटा संवैधानिक राजसंस्था चाहन्छु ।
–तपाईंहरू आफ्नो माग पूरा गर्न संसद्का ठूला शक्ति र सरकार सञ्चालनकर्ता कांग्रेस–एमालेसँग कुनै कुराकानी प्रारम्भ गर्नुभएको छ ?
हामीले राजतन्त्र पुनर्स्थापनाको माग निरन्तर उठाउँदै आएका हौँ । कांग्रेस–एमालेको गठबन्धनको सरकार बन्दै गर्दा आवश्यकता नै संविधानमा सुधार गर्नु हो भनी उनीहरूले नै भनिरहेका छन् । हामीले मागेको पनि संविधान सुधार नै हो । संविधान सुधार हुँदा उनीहरूले चाहेको मात्रै प्रावधान राख्ने हो र ? जनताले के माग गर्छन्, त्यो राख्ने हो ।
–तपाईंहरूको माग पनि वैधानिक तरिकाले पूरा हुनु पर्ला नि भीडले निर्णय लिने त होइन होला ?
त्यसमा सबैको सहभागिता हुनुपर्छ भन्ने हो । त्यहाँ राजसंस्था किन चाहियो भनी हाम्रो मान्यता स्पष्ट राख्छौं नि ।
–तपाईंहरूको मागका यही संसद्बाट पूरा हुन्छ कि ०८४ को चुनावपछि ?
हाम्रो माग यो संसद्बाट पूरा हुँदैन । यो संविधान पहिला नै हडबडमा बनाइयो । संविधान बनाउँदा जनतासँग सोधिएन, सबै पक्षलाई सहभागी बनाइएन, सहमति लिइएन । जसलाई जहाँ जे मन पर्यो, त्यही राखिएको हो । संविधानमा थुप्रै त्रुटि छ । अरु पार्टीले औल्याएका त्रुटिहरू विचार गरुन्, हामीले औल्याएका त्रुटि पनि सच्याइनुपर्छ । २०८४ को चुनाव हाम्रो उद्देश्य होइन ।
–तर, संविधानसभाबाट संविधान गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल थियो होइन र ? अनि दुई तिहाई मत ल्याउँदै संविधान संशोधन गर्न राप्रपालाई के ले छेक्छ र ?
पहिलो त, हामीले संविधान जारी गर्दाकै बखत असहमति जाहेर गरेकै हो । त्यतिबेला भएका कुरा यतिखेर वादविवाद गर्ने बेला होइन ।
दोस्रो, जनमत संग्रह गरेर राजा ल्याउने कुरा गलत हो । किनभने जनमत भएपछि विवाद हुन्छ, यदि बहुमतले मान्यो भने पनि अल्पमतले नमान्ने स्थिति आएमा राजा हुन सक्ने अवस्था हुँदैन । सबैले मान्य हुनुपर्छ, त्यस निम्ति सबैको सहमति चाहिन्छ ।
–यदि तपाईंहरूले कसैसँग सहमति गर्नुभयो भने असहमति राख्नेको संख्या अधिक हुँदैन र ?
त्यसैका निम्ति पहिला बसौँ, छलफल गरौँ भन्ने हो ।