site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘काफ्ले’ गायिका झुमाको स्वर र शैली 

दिमागले के सही के गलत खुट्ट्याउन नसक्दै झुमा (लिम्बू)लाई लाग्थ्यो– संगीतभन्दा अन्त मेरो करिअर छैन । बालपनतिर फर्किंदै झुमा आफ्नो विगतको सपना सुनाउँछिन्– गाउन पाए पुग्थ्यो । ठूलो भएपछि पनि गाउँछु नै भन्ने थियो । 
किन ? 
‘रमाइलो लाग्थ्यो नि !’
बच्चालाई संगीत भनेको के हो थाहा हुने कुरै भएन, तर नाच्नु र गाउनु बच्चापनको रमाइलो हो । सायद त्यसैले झुमालाई तान्यो । उनी तानिइन् । 

अर्को पनि कारण रहेछ । 
के ? 
पढाइमा उनको फिटिक्कै दिलचस्पी थिएन । पढ्न नपाए औधी रमाइलो मान्ने स्वभाव थियो । 

आफ्नो कुरा नलुकाउने झुमालाई बचपनाको कुरा किन लुकाउनु थियो र ? थिएन । “एक/दुई पिरियड छुटेको दिन छुट्टै खुसी लाग्थ्यो,” झुमा पुराना दिन कोट्ट्याउँछिन्, “स्कुलको सांस्कृतिक कार्यक्रमतिर नाच्न र गाउन पाइयो भने आज दुइटा कक्षा त पढ्न परेन भनेर आनन्द लाग्थ्यो ।”

घरमै दाइ गीत गाउँथे । गाउने माहोल थियो । गाउँमा क्लब थियो । क्लबको मादल, हार्मोनियम, गिटार र खैँचडी झुमाकै घरमा थियो । त्यसले लोभ्याइरहन्थ्यो ।

विद्यालयमा शिक्षकले कार्यक्रमानुसार गीत रटाउँथे । झुमाको मथिंगलमा अझै ताजै छ, अक्सर शिक्षकहरू जनवादी गीत सिकाउँथे ।

ताप्लेजुङमा अलइन्डिया र खर्साङ रेडियो टिप्थ्यो । त्यहीँ गीत सुन्थिन् । हिन्दी गीत र गजल बज्थे । गीत सुन्दा मन नै चंगा हुन्थ्यो ।

रेडियो नेपालमा अरुणा लामा, तारादेवीलगायत कलाकारका गीत बज्थे । सुन्थिन् । हिन्दी भाषा नबुझे पनि शब्द भने कण्ठ हुन्थ्यो ।

तीन/चार कक्षादेखि स्टेज नै चढ्न थालेकी थिइन् । दिदी राम्रो गाउँथिन्, त्यसको प्रभाव पनि झुमामा पर्‍यो । दिदी र उनका साथीहरू हुन्जेल उनीहरूले गाए, विद्यालय र क्लबका कार्यक्रमहरूमा । दिदीहरूले एसएलसीसँगै गाउँ छोडे । त्यसपछि झुमा बनिन्, स्थानीय सांस्कृतिक कार्यक्रमको बाघ । जता पनि उनकै नाम, उनकै स्वर । 

० ० ०

झुमाको तन ताप्लेजुङमा, मन काठमाडौंमा थियो ।
किन ? 
कहिले एसएलसी दिऊँला र काठमाडौं जाऊँला भन्ने उनी व्यग्र प्रतीक्षामा थिइन् । एसएलसी नदिएसम्म घर छोड्न पाइँदैन थियो । 

गाउँमा छँदै काठमाडौंमा कहाँ संगीत पढ्न पाइन्छ भन्ने उनले आफन्तलाई बुझ्न लगाइसकेकी थिइन् । न्यूह् बज्राचार्यको डोरेमी संगीत पाठशाला छ भन्ने उनले ताप्लेजुङ हुँदै पत्तो लगाएकी थिइन् ।

०५७ को अन्तिममा एसएलसी दिइन् । घुरुक्क खुल्यो काठमाडौंको ढोका । सुरुमा धरान (सुनसरी) झरिन् । त्यहीँ ६ महिना संगीतको बेसिक कोर्स गरिन् । ०५८ मा सपनाको रंगीन सहर काठमाडौं प्रवेश गरिन् ।

Jhuma-Limbu-(4)-1745638005.jpg
काठमाडौंमा उनकै काकाका छोरा नवीन सुब्बा (चलचित्र निर्देशक) बस्थे । झुमाले नवीनलाई भनिन्, ‘संगीत सिक्नुपर्‍यो, मलाई डोरेमी लगिदिनुपर्‍यो ।’

न्ह्यू नवीनकै साथी हुन् भन्ने झुमालाई के थाहा ! एक महिना सिकेपछि झुमालाई लाग्यो– यो ठाउँ मैले सोचेजस्तो रहेनछ । त्यसमाथि उनलाई त्यहाँ संगीत सिकाउने केही गुरुको ‘मिसबिहेब’ मन परेन । झुमा डोरेमी जान छोडिन् ।

फेरि पुगिन्, नवीनकैमा । भनिन्, ‘मलाई डोरेमी चित्त बुझेन, अलि खतरा सिकाउने ठाउँ खोज्नुपर्‍यो ।’ 

नवीनले झुमालाई लिएर पवित्रा सुब्बा (गायिका)कामा पुगे । पवित्राले भनिन्, ‘मैले शास्त्रीय संगीत चन्दन श्रेष्ठ गुरुसँग सिकेको हो, त्यहीँ जाने हो त ? तर, शास्त्रीय संगीत सिक्न गाह्रो छ, गुरु स्ट्रिक पनि हुनुहुन्छ ।’

कठिनाइसँग जुध्न झुमा तयार थिइन्– सोचेजस्तो सिकाउँछन् भने ठिक छ, तयार छु । झुमा भर्ना भइन् ।

त्यहाँ सिक्दासिक्दै उनले एल्बम निकालिन् । एल्बमका निम्ति गीत रेकर्ड गराइन् । एल्बम कसको हातबाट विमोचन गराउने ? छलफल भयो ।

त्यही बेला हो उनले अमर गुरुङ (संगीतकार)को नाम सुनेको । अमर गुरुङको हातबाट विमोचन गराउने भनेपछि उनले यो मान्छे गीतकार, संगीतकार र गायक के र’छ भनेर आफ्नै गाउँका साथीभाइलाई सोधिन् । बल्ल उनले थाहा पाइन्, अमर त ‘खत्रा’ संगीतकार र गायक पो रहेछन् ! गीत सुनेको, नामचाहिँ थाहा नभएको रहेछ उनलाई ।

संसारभरको संगीत पढेको र बुझेको मान्छे रे भनेर सुनेपछि हो कि होइनन् भनेर झुमाले क्रसचेक गर्ने त नवीनसँगै थियो । ‘सबै संगीतकर्मी अमर गुरुङका बारेमा कुरा गर्छन्, कस्तो मान्छे हो उहाँ ?’ 
‘राम्रै्र मान्छेको नाम सुनिछस् ।’
‘त्यसो भए त्यो मान्छेकोमा जान पर्‍यो नि त सिक्न !’
‘सिकाउँदैनन्, उमेर बुढो भइसक्यो ।’
ढिट झुमाले भनिन्, ‘ट्राइ त गरौँ ।’
फेरि नवीनले पवित्राको घरमा लिएर गए । पवित्राले पनि नवीनकै भाषा बोलिन् । एकेडेमीमै पढाउन छोडेको वर्षौं भइसकेको र स्वास्थ्य पनि राम्रो नभएको बताइन् । 

झुमाको महत्त्वाकांक्षा पग्लिएन । उनलाई लाग्यो, सहरमा संगीत सिकाउने एक नम्बर मान्छे हुँदाहुँदै दुई नम्बरसँग किन सिक्नु ? तर, पवित्राले मानिनन् । 

पवित्राकामा दुई/तीनपटक धाइन् । ‘एकपटक त भनिहेरौँ, मान्नु भएन भने म चित्त बझाउँछु । कुरा त राखौँ,’ झुमाले भनिन् । 

ढिट झुमाले जितिन्, पवित्राले हारिन् । पवित्राले अमर गुरुङको दर्शन गराइन् ।

अमरले सरगम गराउन लगाए । अमरले सोधे, ‘कोसँग सिकेको ?’  
‘चन्दन गुरुसँग ।’
पाँच मिनेट सुनेपछि अमरले भने, ‘तिम्रो टेक्स्चर राम्रो र’छ, पर्सिबाट आऊ ।’
झुमाका लागि अमरको घरको दैलो खुल्यो । 
०६० मा झुमाको ‘ए साइँला...’ एल्बम अमरले नै विमोचन गरिदिएका थिए । तर, कतिको मात्रै सम्झिऊन् ? बिर्सिसका रहेछन् ।

अमरसँग के/कति सिकिन्, आफैँले आफ्नो मूल्यांकन गर्न कठिन । तर, अमर गुरुङको चोला छउन्जेलकी संगीतको शिष्य हुन्, झुमा । बिहान शास्त्रीय संगीतको कक्षा चण्डी काफ्लेसँग लिन्थिन्, दिउँसो अमर गुरुङकामा पुग्थिन् ।  

यही समय हो, उनले आफूलाई मन पर्ने र काम लाग्नेजति बाजा सिकेको । भोकल निखार्ने प्रयास गरेको । 

० ० ० 

झुमा गुरुहरूसँग बेलाबेलामा प्रश्न गरिरहन्थिन्– यो सैद्धान्तिक रटानचाहिँ कहाँ काम लाग्छ ? 
‘तिमी यो कुरा पछि बुझ्छौ, अहिले बुझ्दैनौँ,’ उनी जवाफ पाउँथिन् । 

यसको केही समयपछि झुमाको भेट रुसी पियानोवादक तथा गायिका भिक्टोरिया अनुफियाबासँग भयो । समय चलिरहेको थियो, वि.सं. २०६३ को । 

भिक्टोरिया परिन्, विदेशी । झुमाले त्यसअघि सिकेका गुरु थिए, नेपाली ।

उनले भोकल टेक्निक र वेस्टर्न थ्योरी सिकाउँथिन् । हो, झुमाले खोजेको त यस्तो पो हो त ।  
कस्तो यस्तो ? 
व्यावहारिक ज्ञान । उनी व्यावहारिक ज्ञानमा जोड दिन्थिन् । 
टेक्स्चर राम्रो थियो । सैद्धान्तिक ज्ञान सिकेकी थिइन् । गाउन सक्थिन् । गाउँबाट काठमाडौं आउँदा उनको चाहना पनि नेम र फ्रेम दुवैको जबरजस्त लोभ थियो । 

Jhuma-Limbu-(9)-1745638039.jpg
०६३ मा टेक्दै गर्दा उनले निर्णय गरिन्, ‘अहँ, म अब कमर्सियल सिंगर बन्दिनँ ।” 
किन ? 
“यहाँ राम्रो गला र कला मात्रै भएर हुँदैन । महिला कलाकारले त्यसबाहेक सानोतिनो मात्रै नै किन नहोस्, कार्यस्थलमा मिसबिहेब सहन पनि तयार हुनुपर्छ,” उनी भन्छिन्, “म भर्खर गाउँबाट आएको र हक्की स्वभावको केटी मलाई त्यस्तो व्यवहार मन परेन ।”

कसैको आडभरोसामा काम गर्नेभन्दा पनि जुन दिन आफैँ कम्पोज गर्न सक्छु, त्यही दिन कमर्सियल गीत गरौँला भनेर एक कदम पछि हटिन् ।

प्रतिरोध गर्न अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन । त्यसमा पनि संसारभरका महिलाले सहँदै आएको समस्याबारे कसले पो चासो दिन्थ्यो ? त्यसैले उनी सरक्क आफैँ पछि हटिन् । कसैको संगीत माग्दै हिँडिनन् । 
अर्को पनि कारण थियो ।
के ?
उनलाई लाग्थ्यो, मेरो भोकल अरूको कम्पोजका लागि होइन । अर्थात्, मेरो भोकललाई अरू कम्पोजरले चिन्न सक्दैनन् । त्यसैले उनले निर्णय लिएकी थिइन्– जुन दिन आफैँ आफ्ना लागि कम्पोज गर्न सक्छु, त्यही दिन गायिका भएर उभिन्छु । 

अर्को पनि कारण थियो, उनलाई कहिल्यै अरूको कम्पोजमा गीत गाउँदा चित्त बुझेन ।  

० ० ०

जब अमर गुरुङकामा संगीत सिक्न गइन्, झुमाले थाहा पाइन्– अहो, गीत गाउन त हतार पो गरिएछ ! जब उनले टेक्निकल कुरा सिकाए, सिङगिङ सस्टेन र नोटका कुरा बताए, अनि झुमाले महसुस गरिन्– गीत गाउने त बेलै भएको रहेनछ ।

झुमाले अमर गुरुङसँगै एल्बम गरिन् । तर, त्यो बेलासम्म उनको ज्ञानको चक्षु खुलिसकेको थियो । उनलाई आफ्नै गायनमा चित्त बुझेन । अमर गुरुङको संगीतलाई न्याय दिएँ भन्ने उनलाई लाग्दैन ।

“उहाँको संगीत सुन्दा सिम्पल छ, ठाडै गाइदिऊँजस्तो लाग्छ । तर, उहाँको स्वरमा रहेको त्यो संगीत सुन्यो भने यो संगीत मर्‍यो भन्ने लाग्छ,” झुमा भन्छिन्, “उहाँले कम्पोजिसनमा फिल गर्ने ठाउँ छोडिदिनुहुँदो रहेछ । हामी त्यो फिल गरेर गाउन नसक्ने रहेछौँ । अहिले सर हुनु हुन्न, बुझेर के गर्नु ! ढिलो बुझियो ।” उनलाई त्यति बेलै लाग्थ्यो– ढिलो भेट भयो ।

सातपटक क्लास जाँदा दुई हाराहारी मात्र उनी राम्रोसँग सिकाउन सक्थे । स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । तर, संगीत मात्र होइन, त्यसको कल्चर पनि सिकाए । 

० ० ०

सुरुसुरुमा काठमाडौं छिर्दा अक्सर सबैका दुःख उस्तै हुन्थे । पढाइ र बसाइका लागि पैसा चाहियो । जुटाउनैपर्‍यो । त्यसका लागि हड्डी घोट्नैपर्‍यो । 

दरबारियाहरूको पार्टी हुन्थ्यो । त्यहाँ गाउन अफर आयो । एउटा कार्यक्रममा गाएकै दुई हजार/२५ सय दिन्थे । त्यसबाहेक टिप्स पनि हुन्थ्यो । 

लैनचौरमा दरबारियाकै घर थियो । त्यहाँ हुने पार्टीमा गीत गाउनुपर्थ्यो । केही दिन गएपछि झुमालाई भने– नेपाल पुलिसमा भर्ती होऊ । 

सरकार–माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । गाउँगाउँमा माओवादी पुगेका थिए । झुमाले घर सम्झिएर भनिन्, ‘नाइँ ।’ 

झुमालाई पैसाको अभाव छ भन्ने उनीहरूले चाल पाएका थिए । फेरि अफर गरे, आर्मीमा जागिर खाने । पुनः उनले उसैगरी भनिन्, ‘नाइँ, मेरो घरपरिवारलाई माओवादीले मारिदिन्छ ।’

अहिले झुमाले थाहा पाइन्, त्यहाँ आउने त दरबारियासँगै आर्मी र प्रहरीका ठूलठूला अफिसर पो रहेछन् । पारस र हिमानी पनि त्यो पार्टीमा आउँथे । “हिमानी र पारस साँच्चै राम्रा थिए त्यो समय,” उनी भन्छिन् ।

झुमालाई अरुणा लामाका गीत गाउन लगाउँथे । उनका ६/७ गीत गाइदिए खुसी हुन्थे । 

‘दरबारमा बिहीबार र शुक्रबार गीत गाउन आउन त’ भने ।  

एक छिन गीत गाएकै दुई हजार/२५ सय दिन्थे । घट्टेकुलोमा बस्ने झुमाको कोठाभाडा महिनाको २५ सय थियो । म्युजिकको फी आठ/नौ सय आउँथ्यो । कविता लेख्थिन् । साहित्यिक कार्यक्रम छुटाउँदैन थिइन् । पैसा त चाहिन्थ्यो । कोरस गाएर जीवन धानिरहेकी थिइन् । त्यो अभाव सम्झिएर उनको एकमनले भन्यो– दरबारमा गीत गाउन जानुपर्छ ।

काठमाडौंमा गार्जियन भन्नु नै नवीन सुब्बा, सोध्नु त पर्‍यो । ‘दरबारमा गीत गाउन जानुपर्ने भयो, बोला’का छन्,’ नाक फुलाएर सुनाइन् । 
गर्वका साथ सुनाएकी झुमाले गाली पो भेटिन् । 
‘कसले बोलायो तँलाई ?’
‘....., .... ले ।’
‘कहाँ भेटिस्, त्यसलाई ?’
‘फोन गरेका थिए, अस्ति पार्टीमा गीत गा’को पनि तीन हजार दिएका थिए ।’
अनि सुरु गरे, नवीनले गालीको वर्षा । 
‘दरबारमा किन गीत गाउनुपर्‍यो ?’
‘पैसा राम्रो दिन्छ, त्यही भएर ।’
‘तँलाई पैसा किन चाहियो ?’
‘फी तिर्न, कोठाभाडा तिर्न, भात खान ।’
‘तेरो फी र कोठाभाडा तेरो दाइले तिरिदिन्छ । भात खाने पैसा भएन भने मेरोमा बिहानबेलुकै खान आइज । दरबारमा गीत गाउन गइस् भने तेरो हात्तखुट्टा... । यदि, गइस् भने यो घर टेक्लास् !’

Jhuma-Limbu-(7)-1745638065.jpg
नवीनलाई किन भनेर सोध्ने आँट पनि आएन झुमालाई । दाजुले नजा भनेपछि जानु भएन । गइनन् । 

“पछि कुरा बुझ्दै जाँदा त एकदम ठिक र’छ नि त,” झुमा नोस्टाल्जिक हुन्छिन् ।

० ० ०

भिक्टोरियासँग झुमाको कुरा मिल्थ्यो । कक्षा सकिएपछि अबेर रातिसम्म बसेर संगीतमा मन्थन गर्थिन् । भिक्टोरिया ‘तिम्रो आफ्नै संगीत छ ?’ भनेर प्रश्न गर्थिन् । ‘आमा पनि गाउँछिन् ?’ भनेर जिज्ञासा राख्थिन् । ‘आमाले गाएको भिडियो लेऊ न’ भन्थिन् । गीत मात्र किन, लिम्बूको त आफ्नो लिपि नै छ । 

भिक्टोरिया ‘तिम्रो आफ्नो संगीतबारे खोज, अध्ययन गर, गाऊ’ भनेर सम्झाउँथिन् । त्योभन्दा पनि महत्त्वपूर्ण त भिक्टोरिया भन्थिन्, ‘तिमीहरू जे सिकिरहेका छौ, गाइरहेका छौ यो त तिमीहरूको होइन, भारतीयहरूको हो । भाषा मात्रै हो तिमीहरूको ।’

‘तिम्रो आफ्नो संगीत र भाषा छ भने त्यसमै काम गर’ भन्थिन् । ‘पहिला तिम्रो घरमा रिसर्च गर, त्यसपछि गाउँमा रिसर्च गर, अनि मात्र बाहिर निस्क’ भन्थिन् । कलिलो दिमाग, कन्भिन्स भइन् झुमा ।

लाग्यो– हो, आफ्नै संगीत खोज्नुपर्छ । सँगै पहिचानको आल्दोलन पनि चलिरहेको थियो । यी सबै कुराको संयोग – उनी आफ्नै गाउँ फर्किइन्, रैथाने संगीत खोज्न । 

सात वर्ष लगाएर मुन्धुमको रिसर्च गरिन् । ऋण काढ्दै रिसर्चमा लगानी गर्दै गरिन् । जब मुन्धुमको अध्ययन गरिन्, उनले लिम्बूको रैथाने संगीत बुझिन् ।

स्कुल पढ्दै दुईपटक ‘मैले आजबाट नपढ्ने निर्णय गरेँ’ भनेकी उनलाई वास्तवमा पढाइले कहिल्यै छोडेन । मुन्धुम पढिसकेपछि अब हिन्दुजम पढ्नुपर्छ भन्ने सुझाव आयो, पढिन् । साउथ एसिया एथनिक म्युजिक बुझ्न बुद्धिजम पनि पढ्नुपर्छ भने । पढिन् । नमाज पनि त पढ्नुपर्‍यो भने, पढिन् । यति पढेपछि सुरु भएको थियो, मुन्धुमको बुकलेटको काम । 

० ० ०

एक दिनको कुरा, मुन्धुममा सात वर्ष लामो रिसर्च गरेकी थिइन् । यसबारे बोल्न झुमालाई खोजिनु स्वाभाविक थियो । ‘नेपाल’ हो वा ‘हिमाल’ म्यागजिन त्यो त झुमाको सम्झनाको पत्रबाट छाया परिसक्यो, तर भएको के थियो त्योचाहिँ सम्झनाको तरेलीमा ताजै छ ।

‘अमर गुरुङ र गोपाल योञ्जनको संगीतले नेपाली संगीतलाई बोक्न सक्दैन, उनीहरूको संगीत नेपाली संगीतको एउटा पाटो मात्रै हो’ भनेर बोलेकी थिइन् । त्यो छापिएको थियो । बोलेको कुरा सही भए पनि शीर्षक कडा थियो ।

अर्को दिन क्लास लिन जाँदा अमर गुरुङले झुमाले बोलेको कुरा छपिएको पेपरको पेज पल्टाएर हार्मोनियमको माथि राखेका रहेछन् । “साह्रै बाठो अमर सर ! यस्तो किन बोलेको भनेर उहाँले केही भन्नु भएन, तर उहाँलाई त्यो चित्त नबुझेपछि देखोस् भनेर त्यसो गर्नुभएको थियो,” झुमा भन्छिन्, “मलाई हाँस उठ्यो, त्यो पल्टाएर राखेँ अनि क्लास सुरु भयो ।”

झुमाको तर्क थियो– हाम्रो संगीतको शरीर भनेको लोकसंगीत हो । हामी शरीरमा भन्दा पनि हाँगाबिँगामा अल्मलिरहेका छौँ, खास जरामा प्रवेश गर्नै सकेका छैनौँ ।

० ० ० 

नेम र फ्रेमको लोभ अक्सर सबैलाई हुन्छ । युवावयमा त झन हुने नै भयो । सँगैका साथीसंगी कमर्सियल म्युजिकमा रमाइरहेका थिए । झुमा भने लोकसंगीततिर लागिन् । 

धेरैले भने– यसको दिमाग सड्कियो । कतिले भने– आधुनिक गीत गाउन नसकेर लोकतिर लागी । शास्त्रीय संगीतमा त खिल्ली उडाउने धेरै थिए, उनका आफ्नै कानले कैयौँपटक सुने– लिम्बूनी भएर शास्त्रीय संगीत सिक्ने !

खासमा झुमालाई शास्त्रीय संगीत होइन, लोकभाकाचाहिँ कठिन लाग्छ । शास्त्रीय संगीतमा सुर, नोट र सस्टेनमा बस्न सके करिबकरिब पुग्छ । तर, लोकमा दुई घण्टाको पैदल दूरीमा नबुझिने भाषा र नसुनेको लय हुन्छ ।

“शास्त्रीयमा एउटा फ्रेम हुन्छ । त्यो फ्रेममा गएपछि त्यसमा रस हुन्छ । त्यसमा झुमेर बस्ने हो,” झुमा भन्छिन्, “तर, लोकमा त्यो छुट छैन । लिम्बूको सकेर सँगै रहेको राईको घरमा पुग्दा लिम्बूको गीत चलाइएको टेक्निकले केही काम गर्दैन । अर्कै हुन्छ ।”

उनी विदेशीलाई अहिले पनि धन्यवाद भन्छिन्, जसले उनलाई संगीतको पहिचान पढाइदिए । ज्ञान खोज्न बाटो देखाइदिए ।

प्रायः नेपालको लोकलयमा पेन्टाटोनिक नोट चल्छ । तर, मगरको लोकलयमा नेपालभर कुनै भूगोल र समुदायमा नरहेको नोट चल्छ । 

उनले गरेको रिसर्चले पत्ता लगाएको यो नोटमा पनि गीत ल्याउने तयारीमा छिन् । कहिले ? झुमालाई नै थाहा छैन । 

“मेरो यो एउटा जुनीजस्ता त तीनवटा जुनी भए पनि लिम्बूकै गीत पनि ल्याउन समय पुग्दैन,” उनी अगाडि थप्छिन्, “अरू त कहिले हो, कति ल्याउने हो – कति सकिन्छ, यो एउटा जुनीले धान्दैन । घाटो, देउडा, हियारी, याक्थुङ, ठाडी भाका थुप्रैमा काम गर्नु छ ।”

० ० ०

हुम्लामा देउडा अक्सर क्षेत्री, बाहुन र दलितले गाउँछन्/खेल्छन् । देउडाको रिसर्च गर्न झुमा हुम्ला पुगेकी थिइन् । दिनरात पर्वमा नाच्ने चलन छ । त्यहाँ खससँगै लामा पनि छन् । तर, उनीहरू नाच्न लजाउँदा रहेछन् ।

टाउकोमा गोप्रो बाँधेकी थिइन् । हातमा लाइट थियो । खल्तीमा रेकर्डर थियो । अर्को छेउबाट अर्कै टोन आइरहेको सुनिन्, उनी त्यतै लागिन् । कसैले एक जग पानी जगसँगै उनको गोप्रोमा फ्याँकिदियो । गोप्रो झर्‍यो । 

“लामाहरूले ग्यालिनभरि छ्याङ ल्याएर खाँदै नाच्दै गर्दा रहेछन् । दिउँसो लाज लागेर नाच्न सक्दा रहेनछन्, त्यसैले राति छ्याङ खाएर लागेपछि देउडाको मजा लिन आउने रहेछन्,” उनी भन्छिन्, “हामीलाई खिचे पनि हुन्छ, तर लाइट बालेरचाहिँ नखिच्नु न, हाम्रो आफन्तले देख्छ भने । रातदिन आफ्नै अगाडि अरू नाचेपछि मन थाम्न नसकेपछि अँध्यारोमा नाच्दा रहेछन् ।” 

० ० ०

कमर्सियल संगीत न गर्नु थियो न गर्नु छ । मनमौजी झुमाको आफ्नै तौरतरिका छ । आफ्नै बुझाइ छ । तर, एक दिन !
के भयो ? 
सुशान्त केसीको फोन आयो । को सुशान्त केसी – झुमालाई थाहै थिएन । घरमा सोधिन्– को हो सुशान्त केसी ? 
 

लौ ! उनकै घरमा सुशान्तका फ्यान रहेछन् । युवामा त ठूलो क्रेज पो रहेछ ! त्यसै भन्यो उनको घरका तन्नेरी पुस्ताले । 
अनि के भयो ? 
फिचरिङका लागि उनले आग्रह गरेका थिए । झुमाले ‘हुन्छ’ भनिदिइन् ।
तर, सुशान्त त कमर्सियल सिंगर थिए, उनले लोकलय नै फिचरिङ गर्छु भनेका थिए । युवापुस्तामा लोकभाका पुग्छ भने राम्रै त हो– झुमालाई लाग्यो । झुमाले गाइदिइन् । 
चित्त बुझ्यो ? 
‘बुझेन ।’
अनि ? 
“एउटा कुरा, त्यो खालको म्युजिक गर्ने मान्छे पनि लोकसंगीतमा मोटिभेटेड भएछन् । दोस्रो कुरा, त्यो पुस्तामा हाम्रो आफ्नै संगीत पुग्यो भन्ने हो । तेस्रो, मेरो कर्म थाहा पाएछन्,” झुमा भन्छिन्, “उसले अलिअलि इफेक्ट चलाउँछु है भने । हुन्छ भनेको थिएँ । तर, अलि बढी नै चलाएछन् । उनीहरूले मलाई पे गरेपछि आफ्नै हिसाबले चलाए ।”

अहिलेको पुस्तामा नेपाली रैथाने संगीत पुग्नुपर्छ भन्ने उनको उद्देश्य थियो/छ । होइन भने त उनलाई कहाँ के गर्‍यो भने कति भ्युज आउँछ भन्ने हेक्का नभएको कहाँ हो र ! मात्र त्यो बाटो नरोजेको हो ।

उनी जुन गोरेटोमा छिन्, सन्तुष्ट छिन् । उनको कामबाट नेपाली स्रोता पनि सन्तुष्ट नै छन् भन्ने उनको बुझाइ छ ।

लोकलयका गीत आइरहेका छन् । कहिले सिंगल ट्रयाकमा कहिले चलचित्रमा । अलिकति रैथाने, कलिकति ‘हाइब्रिड’ ।

यसलाई कोही ‘नेपाली संगीत बिग्रियो’ भन्छन्, कोही– सप्रियो । झुमाको धारणा के हो ? “यसलाई म बिग्रिहाल्यो भन्दिनँ, किनभने बझाङमा जन्मे/हुर्केको मान्छेले त्यहाँको भाका गाउनु र काठमाडौंमा जन्मिएको बझाङका पितापुर्खा भएको व्यक्तिले गाउनुमा फरक हुन्छ,” उनी प्रस्ट पार्छिन्, “उसलाई आफ्नो पितापुर्खाको भाका मन पर्छ, त्यसैले गाउँछ, तर सक्दैन । उसले नसक्नु उसको दोष होइन । राम्रो चिताएर काम गर्दा भएको कमजोरी हो ।”

भाषा नै नबुझ्नेले गाउँदा सोचेजस्तो नहुनु स्वाभाविक भएको उनको बुझाइ छ । तर, आफ्नो भाकाप्रति सचेत भएर त्यसलाई सकेसम्म हुबहु उतार्न कोसिस गर्नुपर्नेमा उनी जोड दिन्छिन् ।

शब्दोच्चारणमा विशेष गरी ध्यान दिनुपर्ने उनको धारणा छ । नियतवश बिगार्ने चाहना नभए पनि अध्ययनको कमीले बिग्रिरहेको उनले महसुस गरेकी छन् । 

० ० ०

पछिल्लो समय चलचित्रमा बाक्लै संख्यामा लोकभाका प्रयोग भइरहेको छ । लोकसंगीतविज्ञका रूपमा झुमाको पनि यही समय चलचित्रमा प्रवेश भयो । कोहीले साँच्चै नेपाली लोकसंगीतलाई बचाऊँ भनेर यसलाई आफ्नो चलचित्रमा प्रयोग गरिरहेको त कसैले सिनेमा चल्छ कि भन्ने लोभमा राखिएको उनको मूल्यांकन छ । 

‘जारी’बाट चलचित्रमा झुमाको प्रवेश भयो । ‘जारी’मा लिम्बूको कथा छ । त्यहाँ लिम्बूको संगीतको सबै अध्ययन झुमाले गरिन् । ‘जारी’मा लिम्बू समुदायको पूरै जीवन नै समावेश गर्नु थियो । त्यो काम झुमाको काँधमा थियो । 

चलचित्र ‘जार’ आउँदै छ । बागलुङका रैथाने लाहुरमा लागेपछि लिम्बू भूमि र कल्चरमा मिसिन्छन् । फेरि चाहियो, झुमा । निर्देशकले खोजे । आफ्नो विज्ञता देखाउनैपर्ने भयो । देखाइन् । 

० ० ०

रैथाने संगीत मात्र होइन, बजामा पनि झुमालाई कमी महसुस भएको रहेछ । “बाजा जति धेरै भयो त्यति राम्रो हो नि ! तर, हामीसँग बाजा धेरै छैनन्,” उनी भन्छिन्, “हरेक समाजको आफ्नो एम्बियन्स (स्थानीय पहिचान झक्लने ध्वनि) हुन्छ । एम्बियन्सले कसैको घरमा जाने हो भने आँगनमा पुग्दा नै कुन जातको हो भनेर थाहा हुन्छ । लिम्बूको घरमा छिर्दाछिर्दै कट गनाउँछ । त्यस्तै एम्बियन्स पनि हुन्छ ।”

Jhuma-Limbu-(6)-1745638095.jpg
सबै एम्बियन्स बाजाबाटै आउने उनी सुनाउँछिन् । तर, बाजामा सीमितता रहेको उनी बताउँछिन् । लिम्बूले च्याब्रुङ, राईले ढोल, मेनस्ट्रिमले विदेशीको बाजा बजाउने गरेको उनको अनुभव छ ।

नेपाली लोकसंगीतमा काम गर्दा विदेशी बाजाबाट एम्बियन्स निकाल्न नसकिने उनको भनाइ छ । पात फुकेर आउने साउन्ड कुन बाजाबाट आउँछ बनाउनु पर्दैन ? उनको प्रश्न छ । बेस बाजा नै नरहेको उनले अनुभव गरिन् ।

“हाम्रोमा पनि त खुसियाली छाउँछ होला । रमाउनुपर्छ होला । माहोल तताउन रिदम र बेस चाहिन्छ । मान्छेमा जोस जगाउने बेसले हो । त्यही मादलमा मात्रै कति वर्ष रमाउनुपर्ने हो ?,” उनको प्रश्न छ, “धेरै बाजा नभई म्युजिकको ट्रयाक टाइट हुँदैन । ट्रयाक कसिलो नभए कोर्स पनि कम्प्लिट हुँदैन ।”

भएकै बाजामा पनि अपडेट छैन । त्यसमा पनि त काम गर्न सकिन्छ, तर भएको छैन । झुमाको अग्रसरतामा च्याब्रुङ, खैँजडी, ढोलक, डम्फु, ढ्यांग्रो, ढोललगायत दुई दर्जन बाजा बनाइन् । पुरानै बाजा भए पनि नयाँ बनाउँदा त्यसमा केही फरक पन आउँछ । थोरै मात्र भए पनि क्वालिटी बढ्छ । त्यसकै निम्ति पुरानै बेसमेन्टभित्र बसेर गर्न सक्नेजति उनले गरिन् ।

थोरै भए पनि केही नयाँ गर्न सकिन्छ कि ! भइरहेका बाजालाई मोडिफाई गर्दा के होला ? थाहा पाउन प्रयोग त गर्नुपर्‍यो । झुमा आफैँ कसिइन्, बेस मोटो बज्ने बाजा बनाउन । गोरुको छाला किनिन् । तीन हप्ता सुकाइन् । समय कोरोनाको थियो । सयम पर्याप्त थियो । भुत्ला खुर्किन परेको कठिनाइ छुट्टै छ । बालुवा हालेर पटकपटक छाला खुर्किनुपर्‍यो । छुट्टै मोटो खुकुरी बनाएर छाला खुर्किनुपर्थ्यो ।

काठको जोहो गरिन् । पिँध मोटो राखेर भित्र तलबाट माथितिर विस्तारै पातलो बनाउँदै बनाउँदै तासिन् । त्यसको मुख गोरुको छालाले मजाले कसिन् । केले कस्ने, कसरी कस्ने यसको आफ्नै तौरतरिका हुन्छ । जस्तै, च्याब्रुङ र राईको ढोल तन्काउने तरिका नै फरक हुन्छ ।

छालालाई चिप्लो र गतिलो बनाउन हरेक दिन रक्सी त कति हो कति ! जे होस्, बाजा तयार भयो, ‘ढेला’ ।

यो बाजा तपाईंले नै ‘क्वाइन’ गरेको हो ? उनी जस लिने दौडमा देखिइनन् । “यो मैले बनाएको बिलकुल नयाँ बाजा होइन । दमाहाको आइडामा फ्युजन गरेर बनाएका हौँ । दमाहामा तामा–पित्तल प्रयोग हुन्छ, तर हामीले साउन्डको डेप्थ निकाल्न काठमा बनाएका हौँ,” उनी भन्छिन्, “यो बाजा अहिले डुङडुङ बज्छ । घरभित्र बजाउँदा तला नै हल्लिएजस्तो हुन्छ । अब फेरि ढेला बजाएँ भने अझै राम्रो बनाउन सक्छु होला ।”

० ० ०

करिब पाँच वर्षअगाडि युवराज काफ्लेले एक दिन झुमालाई गीत देखाए । गीतमा ‘काफ्ले’ शब्द प्रयोग भएको छ । 
अचम्म !
के अचम्म ? 
“ठ्याक्कै त्यही थिममा म गीत बनाउँछु भनेर सोचिरहेको थिएँ । ठ्याक्कै त्यस्तै गीत पो युवराजले देखाए,” झुमा भन्छिन्, “हुँदाहुँदा ठ्याक्कै काफ्ले पनि पो मिलिराखेको !”

झुमा काफ्ले र गौतम समुदायको बीचमा हुर्किएकी । गीतका शब्दले जे भन्छ, त्यो त झुमा आफैँले देखेको घटना ।
झुमाले भनिन्– यो लिरिक्समा अलिअलि करेक्सन गर्न मिल्छ ? 
‘किन नमिल्नु,’ युवराजले भने । 
उनले भनिन्, मेरो गाउँतिरको हाकपारे र पालमको लय राखौँ कि तिम्रोतिरको जस्तो भरिदिऊँ ? 
युवराजले भने– मैले संकलन गरेपछि मेरो गाउँको जस्तो हुनुपर्‍यो नि !
हाकपारेसँगै हियारीजस्तै लाग्ने भाका शब्दमा भरिन् । र, तयार भयो गीत ‘काफ्ले ।’ 

नवीन चौहानसँग झुमाको भेट भइरहन्छ । काममा ट्युनिङ पनि मिल्छ । झुमाले एक दिन भनिन्, मसँग एउटा गीत छ, भिडियो बनाउनुपर्छ है । 

नवीनले गीत सुने । भने, ‘यो गीत त चलचित्रमा राख्नुपर्छ होला ।’ 
‘यो त मेरो टेक्स्चरको गीत हो, सिनेमामा हुन्न होला ।’
नवीनले भने, ‘तपाईंकै टेक्स्चरमा राखौँला न त ।’ 
‘काफ्ले पात्र छ, सिनेमामा त हुँदैन होला ।’
‘सिनेमामा पात्र त चाहिन्छ नै, काफ्ले चरित्र नै राखौँला ।’
‘तिमी त खत्रा हिरो राख्छौ होला, मैले सोचेको काफ्ले पात्र त विपीन कार्कीको अनुहारसँग मिल्छ ।’
‘विपीन कार्कीलाई नै राखौँला नि त !’
‘त्यसो भए ठिकै छ ।’ 
अनि राखियो, चलचित्र ‘ऊनको स्वीटर’मा ‘काफ्ले’ । त्यो झुमाको फरक टेक्स्चरका कारण यतिखेर लोकप्रिय छ ।

चलचित्रमा राख्ने भएपछि यसमा उनले केही मोडिफाई गरिन् । सिनेमा प्रदर्शन भएपछि यसको ओर्जिनल ट्रयाक उनी आफैँ ल्याउँदै छिन् ।

तस्बिर : हरिशजंग क्षेत्री । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro