
काठमाडौं । विनाशकारी गोरखा भूकम्पको १० वर्ष पूरा भएको छ । ०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युड (७.६ रेक्टर स्केल)को भूकम्प गएको थियो । त्यो भूकम्प र परकम्पका कारण संरचना भत्कँदा करिब नौ हजारजनाले ज्यान गुमाए । २२ हजारभन्दा धेरै मानिस घाइते भए । ठूलो भौतिक क्षति भयो । करिब ६ वर्ष त्यसको पुनर्निर्माणमा लाग्यो ।
यो १० वर्षका बीचमा भूकम्पबाट जोगिन अपनाउनुपर्ने सावधानीतर्फ के गरियो ? कति परिवर्तन भयो ? यतातिर धेरै ध्यान नदिइएको भूकम्पविद् बताउँछन् । जनचेतना, जोखिम कम गर्ने कार्यतर्फ खासै विचार नगरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीको बुझाइ छ ।
“हाम्रो सिस्टममा, हाम्रो प्रणालीमा के चेन्ज भयो त, ०७२ सालभन्दा अगाडि र पछाडि के फरक भयो त भन्दा खासै चेन्ज भएको देखिँदैन,” उनले भने ।
सम्भावित भूकम्पका समयमा कम क्षति हुनेतर्फ ठोस कार्य गरिनुपर्ने उनी औँल्याउँछन् । जोखिम क्षेत्र त पहिचान नै नभएको उनले जानकारी दिए । “भूकम्प जाँदाखेरि कुन ठाउँमा जोखिम कति छ भन्ने कुराको अध्ययन त हामीले गर्नै बाँकी छ,” उनले भने ।
गोरखा भूकम्पकै विषयमा विद्यावारिधि गरेका अधिकारी भवन एउटै भए पनि ठाउँअनुसार क्षति फरक हुने बताउँछन् । अति सूक्ष्म रूपमा क्षेत्रगत अध्ययन गरिनुपर्नेमा उनी जोड दिन्छन् । “जोखिम न्यूनीकरणका लागि गर्नैपर्ने कामहरू हामीले गरेनौँ,” उनले भने, “जोखिम न्यूनीकरणका लागि राज्यले गर्नुपर्ने अध्ययन बाँकी रह्यो । भूकम्पसम्बन्धी मान्छेमा जनचेतना पनि सिस्टमेटिक रूपमा गर्ने चलन भएन । त्यो बेला र अहिले खासै केही फरक भएन ।”
उनका अनुसार, गोरखा भूकम्पबाट काठमाडौं ४५ सेन्टिमिटर पश्चिमतर्फ सरेको थियो । ठाउँअनुसार कतै माथि उठेको थियो । कतै धस्सिएको थियो । “त्यही बेला काठमाडौं एक मिटर माथि उठ्यो । ४५ सेन्टिमिटर पश्चिमतर्फ सर्यो । गोरखाको गणेश हिमाल क्षेत्रचाहिँ ७० सेन्टिमिटर तल सर्यो, धस्सियो,” उनले भने, “यसरी फरक–फरक प्रक्रिया भयो त्यतिखेर ।”
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का भूकम्पविद् डा. शिव सुवेदी पनि यो १० वर्षका बीचमा सम्भावित जोखिम कम गर्न पहल नगरिएको बताउँछन् । “२०७२ सालको भूकम्प फेरि रिपिट भयो नेपालमा भने मानिसलाई जोगाउनका लागि १० वर्षमा हामीले केही गर्न सक्या छैनौँ,” उनले भने, “केही सानासाना सुरुआतचाहिँ भइसक्या छन् ।”
अधिकारीजस्तै उनले पनि सम्भावित जोखिमलगायत विषयमा पर्याप्त अध्ययन हुन नसकेको सुनाए । “हामीले करिकुलमै ल्याउन सकेका छैनौँ, युनिभर्सिटी नै छैन । हाम्रो युनिभर्सिटीमा पढाइ नै हुँदैन,” उनले भने, “विदेशबाट पढेर आएर अध्ययन गरिएको छ । नेपालको भूकम्पीय अध्ययनमा पनि हामीले धेरै काम गर्नै बाँकी छ ।”
भूकम्पमा के कारणले हुन्छ बढी क्षति ? पश्चिम नेपालमा जोखिम कति ? (भिडियो)
गोरखा भूकम्पपछि पनि भवन निर्माण संहिता पूर्ण रूपमा पालना नगरिएको, यसतर्फ ध्यान नदिइएकाले जोखिम न्यूनीकरण नभएको उनको बुझाइ छ । उनले भने, “१० वर्ष पुग्यो । खुला क्षेत्रहरू कहाँ छन्, त्यहाँ के व्यवस्था गरियो, मान्छेलाई जानकारी कसरी गराइयो ?”
भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट)का अध्यक्ष आमोदमणि दीक्षित विपद्रहित विकासमा जोड दिन्छन् । गोरखा भूकम्पको क्षति मनन गरेर अघि बढ्नुपर्नेमा त्यसो नहुनु कमजोरी भएको उनी टिप्पणी गर्छन् । “विपद्रहित विकास गर्नुपर्छ । भैँचालोबाट सुरक्षित हुने घर बनाउनुपर्छ । कसरी भत्किँदैन, कसरी जोगिन सकिन्छ भन्ने सोच्नुपर्छ,” उनले भने ।
गोरखा भूकम्प पनि अरूभन्दा खासै भिन्न नभएको भूगर्भविद् प्रा. डा. मेघराज धिताल बताउँछन् । जमिनमुनि धेरै तलको भरपर्दो सूचना भने नभएको उनले उल्लेख गरे । “जमिनमुनि हामीसँग धेरैभित्रको इन्फरमेसन छैन । तर, भूगर्भले के भन्छ भने, विस्तारै दक्षिणबाट नेपालको भाग उत्तरतिर जाने नै हो,” उनले भने, “त्यो क्रममा कतै अड्कियो भने त्यो पनि उछिट्टँदा भूकम्प आउने हो ।”
गोरखा भूकम्पका सानाठूला गरेर हालसम्म ६० हजारभन्दा बढी परकम्प मापन गरिएको छ । तीमध्ये चार म्याग्निच्युडदेखि माथिका ६०२ परकम्प मापन गरिएको छ । ६०२ मध्ये ६ म्याग्निच्युडमाथिका सात परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
गोरखा भूकम्पको परकम्प अझै मापन गरिँदै छ । परकम्प कहिलेसम्म आउँछ भन्ने अनिश्चित छ । पछिल्लो समय कम भएको छ । विश्वमा एउटै भूकम्पको परकम्प २०० वर्षसम्म पनि आइरहेको उदाहरण रहेको केन्द्रका भूकम्पविद् अधिकारीको भनाइ छ ।
भूकम्पविद्लाई प्रश्न– कहिलेसम्म आउँछ परकम्प ? ०४५, ०९० सालको पनि आउँदै छ ?
विज्ञका अनुसार, नेपाल वा हिमालय क्षेत्रमा सम्भवतः सबैभन्दा धेरै अध्ययन गरिएको भूकम्प हो, गोरखा भूकम्प । “भूकम्प नाप्ने मेसिनहरू पनि प्रयोग गरिएको, भूकम्प गइसकेपछि पनि धेरै प्रकारका अध्ययन–अनुसन्धान देशभित्र, देशबाहिरबाट भएको, विभिन्न कुराले गर्दा गोरखा भूकम्प धेरै राम्रोसँग अध्ययन गरिएको भूकम्प हो, नेपालमा गएको अथवा हिमालयमा गएको भूकम्पमध्ये,” नास्टका भूकम्पविद् सुवेदीले भने ।
पश्चिम नेपालमा निरन्तर भूकम्प : के हो संकेत ? (भिडियो)
अधिकारी र सुवेदी सम्पूर्ण नेपाल नै भूकम्पीय जोखिम क्षेत्रमा रहेको स्पष्ट पार्छन् । तर, गोरखा भूकम्पको दरार (रप्चर) क्षेत्र (गोरखादेखि दोलखासम्म)मा तत्काल आठ म्याग्निच्युड हाराहारीको भूकम्पको सम्भावना नरहेको सुवेदी बताउँछन् ।
“काठमाडौं रिजनमै, गोरखा बारपाकको रिजनमै हामीले सातको भूकम्प व्यहोर्न पर्न सक्छ, केही वर्षभित्रमा,” उनले भने, “तर, आठ वरिपरिको भूकम्प त्यहाँभन्दा पूर्वी नेपालमा वा बारपाकभन्दा पश्चिमको रिजनमा बढी सम्भावना भएको देख्छौँ ।”
नेपालको पश्चिमदेखि पूर्वसम्म जुनसुकै ठाउँमा सात म्याग्निच्युड हाराहारीको भूकम्प जान सक्ने शक्ति जमिनमुनि सञ्चय छ । गोरखादेखि दोलखासम्मको क्षेत्रमा मात्र ठूलो भूकम्पको सम्भावना कम रहेको उनी सुनाउँछन् ।
“रप्चर एरिया (गोरखादेखि दोलखासम्म)मा तत्काललाई एकदम बिग स्केलको भूकम्प ल्याउन सक्ने शक्ति नपुग्न सक्छ । कारण, आजभन्दा १० वर्षपहिला शक्ति रिलिज भयो,” उनले भने ।
भूगर्भविद् प्रा. डा. धिताल गोरखा भूकम्पमा केही फरक परिदृश्य देखिएको बताउँछन् । “यसमा अरूभन्दा फरक कस्तो देखिएको थियो भने, जहाँबाट चिप्लिन्छ, त्यो सतह बाहिर निस्किएको थिएन,” उनले भने, “कतैतिर निस्किनुपर्ने हो, चुरेतिर या तराईतिर । त्यसमा त्यो बेला धेरै छलफल भो ।”
०७२ सालको भूकम्पको असर गोरखादेखि पूर्वी भूभागमा बढी भयो । यो क्षेत्रमा धेरै क्षति भयो । गोरखादेखि पश्चिममा त्यसको खासै असर परेन । “त्यसको कारण के हो त भने त्यहाँ बीचमा केही टुक्रिएको छ कि भन्नेजस्तो कुरा आयो, जमिनमुनि,” उनले भने, “त्यसैले यताका भूकम्पका तरंगहरू त्यति द्रुत गतिमा उतापट्टि ट्रान्सफर भएनन् कि भनिन्छ । पार्टेसन, टुक्राटुक्रा छ भन्ने छ ।”
भूकम्पको असर सबै क्षेत्रमा एकै किसिमको हुँदैन भन्नेमा विज्ञ एकमत छन् । गोरखा भूकम्पमा त्यो स्पष्ट देखियो ।
तर, गोरखा भूकम्पमा कतै बढी/कम क्षति भएको विषयमा पर्याप्त अध्ययन नभएको सुवेदी बताउँछन् । “म्यानमारमा हालै गएको भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर टाढा थाइल्यान्डको बैंककमा बिल्डिङ भत्कियो । काठमाडौंमा पनि लोकल जियोलोजीले धेरै असर गर्या छ,” उनले भने ।
भूकम्पविद्लाई प्रश्न– तिब्बतमा गएको भूकम्प कस्तो हो ? नेपालको भन्दा कति फरक ?
प्रा. डा. धिताल कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न धेरै तथ्यांक आवश्यक पर्ने बताउँछन् । पर्याप्त तथ्यांक नहुनु समस्या भएको उनको भनाइ छ । “लामो समयसम्मको डेटा हुन्थ्यो त त्यसबाट हामीले केही अझ राम्रो निष्कर्ष निकाल्न सक्थ्यौँ कि ! डेटै नहुनु ठूलो समस्या हो,” उनले भने, “जति इन्फरमेसन हुन्छ, त्यति हामी राम्रोसँग भन्न सक्छौँ ।”
गोरखा भूकम्पमा काठमाडौंमा अग्ला घरहरू धेरै भत्किए । होचा घर कम भत्किए । ककनीमा सबै होचा घर पनि भत्किएको सुवेदी बताउँछन् । “किन भयो भनेर भन्दाखेरि काठमाडौंमुनिबाट अग्ला घरहरू भत्काउने इनर्जी पूर्वतिर गएको भन्ने हाम्रो विज्ञानले पत्ता लगायो,” उनले भने, “ककनीमुनिबाट होचा घरहरू – एकतले/दुईतले घरहरू पनि भत्काउन सक्ने इनर्जी पूर्वतिर गएको भन्ने हाम्रो अध्ययनहरूले पत्ता लगायौँ ।”
उनले अगाडि भने, “त्यहाँको एकदमै लोकल जियोलोजी, जमिनमुनिको माटोको स्टक्चर अथवा त्यसको स्ट्रेन्थको आधारमा क्षति धेरै/थोरै भएको भन्ने बुझ्छौँ ।”
भूकम्पमा संरचना धेरै/थोरै भत्कनुमा विभिन्न पक्ष कारक हुन्छ । काठमाडौंमा जमिनमुनि ८०० मिटर तलसम्म बालुवा प्रकारको माटो भेटिएको छ । यो भनेको भूकम्पको समयमा बढी जोखिम हुनु हो । “जति बाक्लो बालुवा प्रकारको माटो हुन्छ, त्यति धेरै रिस्क हुन्छ हामीलाई,” उनले भने, “अनि, त्यो जमिनमुनिबाट आउने भूकम्पको तरंगले त्यसलाई एम्प्लिफाई गरेर असर धेरै दिन्छ ।”
काठमाडौंमा धेरै गहिराइसम्म बालुवा प्रकारको माटो भएको स्थान नै बढी जोखिम क्षेत्र हो । “जियोलोजिस्टहरूको अध्ययन–अनुसन्धानअनुसार काठमाडौंमुनि जहाँनेर धेरै गहिरो लेभलसम्म कमजोर माटो छ, त्यो एरिया अरू एरियाभन्दा हाई रिस्कमा हो, अथवा अलिकति बढी डेन्जर एरिया हो,” सुवेदीले भने ।
त्यसो भए धेरै गहिराइसम्म बालुवा प्रकारको माटो भएको क्षेत्र कताकता हो, कुन ठाउँमा कम/बढी जोखिम छ ? केन्द्रका भूकम्पविद् अधिकारी भन्छन्, “त्यो त अध्ययन नै भएको छैन ।”
उनका अनुसार, यस्तो अध्ययन नगरिएको काठमाडौंमा मात्र होइन, अन्यत्र पनि छैन । कहाँ कति जोखिम क्षेत्र भनेर निर्क्योल गरिएको छैन । “जोखिममा छौँ भन्ने त भयो, तर कुन ठाउँ कति जोखिममा छौँ भन्ने कुराको अध्ययन हामीले गर्न सक्या छैनौँ ।”
सिन्धुपाल्चोकमा गोरखा भूकम्पपछिको पाँचौँ ठूलो धक्का, कहिलेसम्म आउँछ परकम्प ?
काठमाडौंको भवन निर्माण संहिता भूकम्पीय दृष्टिले अर्को कुनै जिल्लामा ठ्याक्कै उपयुक्त नहुन सक्ने सुवेदी स्पष्ट पार्छन् । त्यसनिम्ति स्थानीय भूगोलको अध्ययन गरिनुपर्नेमा उनी जोड दिन्छन् । “काठमाडौंमुनिको ८०० मिटर भन्नुभयो भने, पोखरामुनि के थाहा हामीलाई हजार मिटर माटो छ कि अथवा ५०० मिटर माटो छ कि अथवा २० मिटर माटो छ कि ! त्योअनुसार मापदण्ड बनाउनुपर्छ,” उनले भने ।
अध्यक्ष दीक्षित भूकम्पको क्षतिबाट जोगिन बलियो संरचना बनाउनु नै विकल्प भएको बताउँछन् । घर, पुल, भवन भूकम्पप्रतिरोधी बनाउनुपर्ने उनको सुझाव छ । “विपद् र विकास अन्तरविरोधी होइन । विकास गर्दा विपद्बाट क्षति नहुने वा कम गर्नेबारे सोच्नुपर्छ र त्यसानुसारले काम गर्नुपर्छ,” उनले भने, “यतापट्टि ध्यान दिएको जस्तो लाग्दैन ।”
भूकम्पविद्का भनाइ पढ्नोस्–
लोकविजय अधिकारी, भूकम्पविद् – राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र
मुख्य कुरा के बाँकी छ त अझै पनि गर्न भन्दाखेरि हामीले, भूकम्प जान्छ भन्ने थाहा छ, हामी जोखिममा छौँ भन्ने पनि थाहा छ, तर बाँकी रहेको कुरा भनेको जोखिमलाई कसरी कम गर्ने ?
अब योभन्दा पछि भूकम्पहरू जाँदा कमभन्दा कम क्षति हुने गरी के काम गर्नुपर्छ अथवा त्यो भूकम्प जाँदाखेरि कुन ठाउँमा जोखिम कति छ भन्ने कुराको अध्ययन त हामीले गर्नै बाँकी छ । जोखिममा छौँ भन्ने त भयो, तर जोखिममा चाहिँ हामी कुन ठाउँ कति जोखिममा छौँ भन्ने कुराको अध्ययन हामीले गर्न सक्या छैनौँ । यो अध्ययन गर्न बाँकी छ ।
भूकम्प गयो, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर हामीले गफ त गर्यौँ, तर हाम्रो सिस्टममा, हाम्रो प्रणालीमा के चेन्ज भयो त ? ०७२ सालभन्दा अगाडि र पछाडि के फरक भयो त भन्दा खासै चेन्ज भएको देखिँदैन । शिक्षाको पाटोमा भूकम्पबारे ध्यान दिनुपर्छ ।
दोस्रो पाटो, भूकम्प गइसकेपछि हाम्रो संरचनाहरूमा भूकम्पबाट सुरक्षित हुन गरिने अभ्यासहरू जुन गराउनुपर्थ्यो हामी सबैलाई – विद्यार्थीलाई, जनतालाई त्यो नियमित रूपमा छैन । पहिला पनि थिएन, अहिले पनि भएको छैन । जोखिम न्यूनीकरणका लागि गर्नैपर्ने कामहरू हामीले गरेनौँ ।
जोखिम मूल्यांकन गर्नुपर्ने गरिएन । बिल्डिङ एउटै भए पनि ठाउँअनुसार क्षति फरक हुँदो रहेछ भन्ने गोरखा भूकम्पले देखायो । त्यसले अति सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने रहेछ भन्ने देखायो ।
जोखिम न्यूनीकरणका लागि राज्यले गर्नुपर्ने अध्ययन बाँकी रह्यो । भूकम्पसम्बन्धीमा मान्छेमा जनचेतना पनि सिस्टमेटिक रूपमा गर्ने चलन भएन । त्यो बेला र अहिले खासै केही फरक भएन ।
त्यतिखेर भूकम्पले काठमाडौं ४५ सेन्टिमिटर पश्चिमतर्फ सर्यो । भूकम्प जाँदाखेरि जमिनभित्र चट्टानहरू चिप्लिने हो त्योचाहिँ । त्यो चिप्लिँदा विभिन्न ठाउँमा फरक–फरक भयो, गोरखादेखि दोलखासम्म हेर्दा । म्याक्सिमम चिप्लिएको सात मिटर हो । त्योअनुसार माथि सतहमा पनि चिप्लिने भयो । र, कुनै ठाउँमा माथि उठ्यो (सर्यो) । कुनै ठाउँमा बायाँतिर सर्यो । कुनै ठाउँमा तल धस्सियो । यसरी फरक–फरक प्रक्रिया भयो त्यतिखेर ।
त्यही बेला काठमाडौं एक मिटर माथि उठ्यो । ४५ सेन्टिमिटर पश्चिमतर्फ सर्यो । गोरखाको गणेश हिमाल क्षेत्रचाहिँ ७० सेन्टिमिटर तल सर्यो, धस्सियो ।
१० वर्ष पुग्यो । खुला क्षेत्रहरू कहाँ छन्, त्यहाँ के व्यवस्था गरियो, मान्छेलाई जानकारी कसरी गराइयो ?
बझाङ, जाजरकोट भूकम्पले भवन निर्माण संहिता लागु नभएको देखियो । बीचमा बनेका संरचनाहरू पनि भूकम्पप्रतिरोध प्रविधिलाई प्रयोग गरेर बनाएको देखिएन । स्थानीय तहले पनि ध्यान दिएको पाइएन । सहरी क्षेत्र, काठमाडौंभन्दा बाहिर गयो भने भवन निर्माण संहिताको पालना भएको देखिएन । आफूखुसी बनाएको देखियो । त्यसकारण साना भूकम्प जाँदा पनि पश्चिम नेपालमा ठूलो क्षति भयो । त्यहाँ भविष्यमा ठूला भूकम्प जान सक्ने सम्भावना छ । त्यसका लागि क्षति कम गर्न केही गरेको जस्तो देखिएन ।
डा. शिव सुवेदी, भूकम्पविद् – नास्ट
गोरखा भूकम्प हाम्रो रिसेन्ट टाइममा नेपालमा वा हिमालयमा सबैभन्दा धेरै अध्ययन गरिएको भूकम्प भनेर भन्छौँ हामीले । किनभने, भूकम्प नाप्ने मेसिनहरू पनि प्रयोग गरिएको, भूकम्प गइसकेपछि पनि धेरै प्रकारका अध्ययन–अनुसन्धान देशभित्र, देशबाहिरबाट भएको, विभिन्न कुराहरूले गर्दा गोरखा भूकम्प धेरै राम्रोसँग अध्ययन गरिएको भूकम्प हो, नेपालमा गएको अथवा हिमालयमा गएको भूकम्पमध्ये ।
हामीले धेरै कुरा पत्ता लगाएका छौँ । जस्तो, काठमाडौंमा अग्ला घरहरू धेरै भत्किए । होचा घरहरू कम भत्किए । ककनीमा सबै होचा घरहरू पनि भत्किए । किन भयो भनेर भन्दाखेरि काठमाडौंमुनिबाट अग्ला घरहरू भत्काउने इनर्जी पूर्वतिर गएको भन्ने हाम्रो विज्ञानले पत्ता लगायो । ककनीमुनिबाट होचा घरहरू – एकतले/दुईतले घरहरू पनि भत्काउन सक्ने इनर्जी पूर्वतिर गएको भन्ने हाम्रो अध्ययनहरूले पत्ता लगायौँ । यस्तैयस्तै प्रकारको धेरै अध्ययन, अनुसन्धानहरूले देखाइरहेको छ ।
एकदुइटा नयाँ कुरा हामीले २०७२ सालको भूकम्पबाट पत्ता लगाएका छौँ वा हामीले सोच्नुपर्ने कुरा के हो भने हाम्रो ७.९ को गोरखा भूकम्पको, गोरखा बारपाकमा इपिसेन्टर भएको भूकम्पपछि एक महिनाभित्र ७.३ को अर्को भूकम्प गयो । कोदारीमा गएको त्यो भूकम्प आफ्टर सक थिएन । त्यो ७.९ को भूकम्पभन्दा एक युनिट कमको थिएन, एक युनिटभन्दा बढी थियो । पछि अध्ययन गर्दा थाहा भयो, त्यो परकम्प थिएन ।
२०७२ सालको भूकम्प फेरि रिपिट भयो नेपालमा भने मानिसलाई जोगाउनका लागि १० वर्षमा हामीले केही गर्न सक्या छैनौँ । केही सानासाना सुरुआतचाहिँ भइसक्या छन् ।
जमिनमुनि सञ्चय भएको शक्तिको बेसमा कुरा गर्दाखेरिचाहिँ, नेपालको पश्चिमदेखि पूर्वसम्म जुनसुकै ठाउँमा पनि कुनै पनि बेला ७ को भूकम्प गयो भने हामी सरप्राइज हुँदैनौँ । किनकि, नेपालमा ७ को भूकम्प ल्याउन सक्ने शक्ति जुनसुकै भूभागमा पनि छ भनेर हामीले बुझ्छौँ ।
२०७२ सालको रप्चर एरिया (गोरखादेखि दोलखासम्म ०७२ को भूकम्पको असर क्षेत्र)भित्रको कुरा गर्नुभयो, ७.९ भूकम्प २०७२ सालमा गयो, अब आजको भोलि अथवा एकदुई वर्षभित्रमा त्यस्तै भूकम्प जाने सम्भावना छ कि छैन भनेर भन्दा त्यसको उत्तर मस्ट लाइकली ७.९ भूकम्प जान सक्ने सम्भावना छैन – अहिले तत्काललाई, केही वर्षलाई – पाँच वर्ष/१० वर्ष/२० वर्षलाई । किनभने, हाम्रो २०७२ सालमा भूकम्पले केही शक्ति बाहिर ल्यायो । तर, पूरै शक्ति बाहिर ल्याएको छैन ।
काठमाडौं रिजनमै, गोरखा बारपाकको रिजनमै हामीले ७ को भूकम्प व्यहोर्न पर्न सक्छ, केही वर्षभित्रमा । तर, ८ वरिपरिको भूकम्प त्यहाँभन्दा पूर्वी नेपालमा वा बारपाकभन्दा पश्चिमको रिजनमा बढी सम्भावना भएको देख्छौँ ।
रप्चर एरिया (गोरखादेखि दोलखासम्म)मा तत्काललाई एकदम बिग स्केलको भूकम्प ल्याउन सक्ने शक्ति नपुग्न सक्छ । कारण, आजभन्दा १० वर्षपहिला शक्ति रिलिज भयो । तर, रप्चर एरियाभन्दा बाहिरको पार्ट – नेपाललाई हेर्नुभयो भने जुनसुकै पार्टमा पनि, इस्टर्न पार्ट र वेस्टर्न पार्टमा पनि त्यो मात्राको भूकम्प जान सक्ने शक्ति जमिनमुनि छ ।
काठमाडौंमा कतै बढी, कतै कम क्षतिबारे पर्याप्त मात्रामा अध्ययन भएको छैन । म्यानमारमा गएको भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर टाढा थाइल्यान्डको बैंककमा बिल्डिङ भत्कियो । काठमाडौंमा पनि लोकल जियोलोजीले धेरै असर गर्या छ । लोकल भेरिएसन छ त्यहाँ ।
अनि, कसरी आयो, कुन फ्रिक्वेन्सी रेन्जको आयो त्यसले पनि क्षतिलाई डिफाइन गर्छ । भूकम्प कति गहिराइमा गयो, त्यसले पनि क्षतिलाई डिफाइन गर्छ । धेरै कुराहरू छन्, ड्यामेज कुन लेभलमा हुने भनेर डिफाइन गर्ने ।
त्योमध्यमेमा हामीले काठमाडौंको बेसिसमा, काठमाडौंभित्र ड्यामेज डिफरेन्ट हुने, एउटै ठाउँमा पनि फरक–फरक ड्यामेज हुने कुरामा त्यहाँको एकदमै लोकल जियोलोजी, जमिनमुनिको माटोको स्टक्चर अथवा त्यसको स्ट्रेन्थको आधारमा क्षति धेरै/थोरै भएको भन्ने बुझ्छौँ ।
काठमाडौंमा जियोलोजिस्टहरूले ८०० मिटर तलसम्म बालुवा प्रकारको माटो छ भनेर भन्नुभएको छ । जति बाक्लो हाम्रो बालुवा प्रकारको माटो हुन्छ, त्यति धेरै रिस्क हुन्छ हामीलाई । अनि, त्यो जमिनमुनिबाट आउने भूकम्पको तरंगले त्यसलाई एम्प्लिफाई गरेर असर धेरै दिन्छ । त्यो कारणले जियोलोजिस्टहरूको अध्ययन–अनुसन्धानअनुसार काठमाडौंमुनि जहाँनेर धेरै गहिरो लेभलसम्म कमजोर माटो छ, त्यो एरिया अरू एरियाभन्दा हाई रिस्कमा हो अथवा अलिकति बढी डेन्जर एरिया हो ।
अध्ययन गर्न धेरै कुरा छ नेपालमा । हामीले करिकुलमै ल्याउन सकेका छैनौँ, युनिभर्सिटी नै छैन । हाम्रो युनिभर्सिटीमा पढाइ नै हुँदैन । विदेशबाट पढेर आएर अध्ययन गरिएको छ । नेपालको भूकम्पीय अध्ययनमा पनि हामीले धेरै काम गर्नै बाँकी छ ।
हामीले काठमाडौंमा बनाएको बिल्डिङको पोखरामा उही ठ्याक्कै लागु गर्नु हुँदैन । त्यहाँ पोखराको लोकल जियोलोजी अध्ययन गर्नुपर्छ । ती कुरा हामीले अध्ययन गर्न सकेको अवस्था होइन । हामीले गर्नुपर्ने भूकम्प शिक्षा र भूकम्प अध्ययन धेरै कुरा छ । २०७२ सालपछि केही कुराचाहिँ भएको छ ।
नेपाल सरकारले बनाएको बिल्डिङको भूकम्प प्रविधि संरचना मापदण्ड एक्ज्याक्ली हुबहु सबै ठाउँमा लागु गर्दा त्यहाँ कम्प्लेक्स आउँछ, त्यसलाई रिभ्यु गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।
काठमाडौंमुनिको ८०० मिटर भन्नुभयो भने, पोखरामुनि के थाहा हामीलाई हजार मिटर माटो छ कि अथवा ५०० मिटर माटो छ कि अथवा २० मिटर माटो छ कि ! त्योअनुसार मापदण्ड बनाउनुपर्छ ।
हरेक ठाउँको लोकल जियोलोजीलाई हामीले ख्याल गर्नुपर्छ । त्योचाहिँ हामीले अहिलेसम्म गर्न सक्या छैन । हामीले हरेक गाउँपालिका/नगरपालिकामा अथवा बिग सिटीहरूमा त्यहाँको जमिनको स्टक्चर के छ, त्यहाँको जमिन कत्तिको बलियो छ अथवा फ्रिक्वेन्सीमा त्यहाँको भवनहरू धेरै हल्लिछ, त्यो कुरा लोकल लेभलसम्म पनि जानुपर्छ ।
प्रा. डा. मेघराज धिताल, भूगर्भविद्
गोरखा भूकम्प अरू भूकम्पजस्तै, ०९० सालको, त्योभन्दा पहिलाको, अन्यजस्तै हो । अरूभन्दा खासै फरक होइन ।
हाम्रो भौगर्भिक बनावट नै कस्तो छ भने, इन्डिया विस्तारै उत्तरतिर जाने, उता तिब्बत अथवा चाइनाको त्यो भागचाहिँ दक्षिणतिर आउने । त्यसले गर्दा बीचमा घर्षण भएर जमिनमुनिको जुन भाग छ, त्यो भागमा थिचिँदाखेरि एकाएक उछिट्टएर भुइँचालो आउने त हो !
यसमा अरूभन्दा फरक कस्तो देखिएको थियो भने, जहाँबाट चिप्लिन्छ, त्यो सतह बाहिर निस्किएको थिएन । कतैतिर निस्किनुपर्ने हो, चुरेतिर या तराईतिर । त्यसमा त्यो बेला धेरै छलफल भो ।
अर्को कुरा, जाजरकोट, दैलेख – पश्चिम भागमा धेरै वर्षमा ठूलो भूकम्प आएको छैन । जाजरकोटको त्यति ठूलो भूकम्प होइन त्यो । तर, यतापट्टि (गोरखा भूकम्प) आयो ।
जमिनमुनि हामीसँग धेरैभित्रको इन्फरमेसन छैन । तर, भूगर्भले के भन्छ भने, विस्तारै दक्षिणबाट नेपालको भाग उत्तरतिर जाने नै हो । त्यो क्रममा कतै अड्कियो भने त्यो पनि उछिट्टँदा भूकम्प आउने हो ।
पोखरामा त्यति असर भएन, २०७२ सालको भूकम्पमा । त्यसको कारण के हो त भने त्यहाँ बीचमा केही टुक्रिएको छ कि भन्नेजस्तो कुरा आयो, जमिनमुनि । एउटा चट्टान र यताको चट्टानबीचमा – जस्तो, सम्बन्ध बीचमा टुटेको छ कि भन्ने छ । त्यसैले यताका भूकम्पका तरंगहरू त्यति द्रुत गतिमा उतापट्टि ट्रान्सफर भएनन् कि भनिन्छ । भनेपछि यस्तो पार्टेसन, टुक्राटुक्रा छ भन्ने अहिले राम्रो निस्किएको छ । गोरखा भूकम्पले त्यो कुरा पनि सिकाएको छ हामीलाई ।
अर्को कुरा के भने, हामीसँग डेटा नै छैन । भर्खरै त हामीले २५/३० वर्ष/४० वर्ष भन्नेभन्दा अगाडिको हामीसँग भूकम्प मापनबाट केही पनि डेटा छैन । डेटा नहुनु नै समस्या हो । धेरै डेटा हुन्थ्यो त, लामो समयसम्मको डेटा हुन्थ्यो त त्यसबाट हामीले केही अझ राम्रो निष्कर्ष निकाल्न सक्थ्यौँ कि ! डेटै नहुनु ठूलो समस्या हो । जति इन्फरमेसन हुन्छ, त्यति हामी राम्रोसँग भन्न सक्छौँ ।
आमोदमणि दीक्षित, अध्यक्ष – भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपाल (एनसेट)
विपद्रहित विकास गर्नुपर्छ । भैँचालोबाट सुरक्षित हुने घर बनाउनुपर्छ । कसरी भत्किँदैन, कसरी जोगिन सकिन्छ भन्ने सोच्नुपर्छ ।
विपद् र विकास अन्तरविरोधी होइन । विकास गर्दा विपद्बाट क्षति नहुने वा कम गर्नेबारे सोच्नुपर्छ र त्यसानुसारले काम गर्नुपर्छ । यतापट्टि ध्यान दिएको जस्तो लाग्दैन ।