-1745740729.jpg)
काठमाडौं । सिंहदरबारमा मंगलबार राति शिक्षक र सरकारबीच वार्ता भयो । वार्तामा सरकारको तर्फबाट तीन मन्त्री सहभागी थिए, शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक । यद्यपि, वार्ता पनि निष्कर्षमा पुग्न सकेन ।
अर्थमन्त्री पौडेल करिब एक घण्टा वार्तामा बसेर निस्किए । त्यसको केहीबेरमा गृहमन्त्री रमेश लेखक पनि निस्किए ।
वार्तामा सहभागी एक शिक्षकका अनुसार, शिक्षामन्त्री पन्त र गृहमन्त्री लेखक वार्तामा कडारूपमा प्रस्तुत भएका थिए । विभागीय मन्त्री नै कडारूपमा प्रस्तुत भएपछि शिक्षकहरू सशंकित बनेका छन् । मन्त्रीहरूको प्रस्तुतिबारे नेपाल शिक्षक महासंघको बुधबारको बैठकमा समीक्षा नै भएको छ ।
“हिजोको वार्तामा गृहमन्त्रीले शिक्षकलाई पानीको फोहोरा र लाठी चार्ज गरेको विषयमा बोल्नुभएको थियो । तर, विद्यार्थीहरू सडकमा आएको खण्डमा त्यो अवस्था नहुने पनि उहाँले बोल्नुभयो । त्यस्तै, शिक्षामन्त्री पन्तले पनि ऐनको विषयमा धेरै नै टीकाटिप्पणी गर्नुभयो । शिक्षकहरूका कुनै बुँदा मुद्दा हाले पनि पाउनुहुन्न भन्नुभएको थियो,” वार्तामा सहभागी एक शिक्षकले भने ।
बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले पनि ऐन जारी गर्ने विषयमा सरकार गम्भीर नदेखिएको बताएकी छन् ।
“हिजो रातिकै वार्तामा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नदेखिएको पायौँ । त्यसैले गृहमन्त्रीले नै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभयो । शिक्षामन्त्रीले पनि के हो यस्तो भन्ने हिसाबले कुरा गर्नुभयो । अझै पनि सरकार गम्भीर छैन,” पराजुलीले भनिन् ।
शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । मंगलबार रातिको वार्तामा शिक्षकले सरकारलाई नौबुँदे प्रस्ताव पेस गरेका थिए ।